-फणीन्द्र दाहाल । बीबीसी न्यूज नेपाली
काठमाडौं, १३ माघ । सरकारले खेत बारीमा आउने जङ्गली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेपछि त्यसले बाँदरलाई धपाउन, लखेट्न र पक्रन कानुनी रूपमा नै बाटो खुलेको अधिकारीहरूले बताएका छन्।
उक्त कदमले खेतबाली नष्ट गर्न आउने बाँदरलाई मार्नेसम्मको बाटो खोल्ने भन्दै त्यसले समस्याको दिगो समाधान नगर्ने सरोकारवाला पक्षहरूले बताएका छन्।
तर वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँदरलाई मार्न नयाँ सरकारी सूचनाले अनुमति नदिएको भन्दै बालीनालीमा उक्त जनावरले पुर्याइरहेको क्षति रोक्न यो नियम ल्याइएको बताउनुभयो।
लामो छलफलपछि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशैभरि लागु हुने गरी जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो।
चार वर्षअघि गरिएको एउटा अध्ययनले देशका झन्डै चार हजार वडामा बाँदरले कृषिजन्य उत्पादनमा असर गरिरहेको पाइएको थियो।
कस्ता सर्त राखिएका छन्?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ को अधिकार प्रयोग गरी सरकारले जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको जानकारी नेपाल राजपत्रमा प्रकाशित गरेको छ।
त्यसरी कृषि हानिकारक वन्यजन्तुलाई सोही सूचनामा तोकिएका सर्त र बन्देजका अधीनमा रहेर खेत, खला, बारीमा पनि बिनाअनुज्ञापत्र धपाउन, लखेट्न, पक्रन वा मार्न सकिने प्रावधान उक्त नियमावलीमा छ।
बिहीवार नेपाल राजपत्रमा प्रकाशित सूचनाले जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तुका रूपमा राखिएको निर्णयबारे सूचना निकालेको थियो।
जङ्गली रातो बाँदरका बारेमा राजपत्रमा किसानको खेतबारीमा आएर बालीनाली वा धनजनको हानिनोक्सानी पुर्याएमा किसान एक्लैले वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन सक्ने भनिएको छ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाको एउटा अंश
कुनै बाँदरलाई पक्रिएको खण्डमा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष कार्यालय वा त्यस्ता कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनुपर्ने र सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा समेत जानकारी दिनुपर्ने जनाइएको छ।
बाँदर धपाउने, लखेट्ने वा पक्रने क्रममा त्यसको मृत्यु भएमा त्यस्तो बाँदरलाई सम्बन्धित वडाका एक जना प्रतिनिधिसहितको रोहबरमा मुचुल्का खडा गरी गाड्नुपर्ने र त्यसबारे सम्बन्धित सरकारी निकायमा जानकारी गराउनुपर्ने भनिएको छ।
चौथो बुँदामा जङ्गली रातो बाँदर मारिएको अवस्थामा राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालयले प्रत्येक दुई महिनामा नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा विवरण उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा जङ्गली बाँदरलाई धपाउन, लखेट्न र पक्रन प्रतिबन्ध लगाइएको छ।
जङ्गली बँदेलसम्बन्धी खण्डमा धपाउने, लखेट्ने वा पक्रने क्रममा बँदेलको मृत्यु भएको खण्डमा त्यसलाई स्थानीय वडाका प्रतिनिधिसहितको रोहबरमा मुचुल्का बनाएर गाड्न वा तौलका आधारमा मूल्य तोकी त्यसलाई बेचेर राजस्वमा रकम दाखिला गर्न भनिएको छ।
बाँदर र बँदेलजस्ता जनावरले कृषि बालीमा क्षति पुर्याएका विवरण नौलो होइनन्। हालैका वर्षमा बाँदरले खेतमा बाँदर पसेर बाली खाइदिने, भाँच्दिने अनि बिगारिदिने क्रम बढेपछि कैयौँ जिल्लाहरूमा चिन्ता व्यक्त भएका थिए।
के सरकारले बाँदरलाई मार्न अनुमति दिएको हो?
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बँदेल र बाँदरले बालीनाली नष्ट गरेको भन्ने गुनासा देशभरका बस्तीबस्तीबाट आएपछि सरकारले पछिल्लो निर्णय लिएको बताउनुभयो।
तर राजपत्रमा प्रकाशित निर्णयले बाँदरलाई मार्ने छुट भने नदिने उहाँको भनाइ छ।
उहाँ भन्नुहुन्छ, “कानुन बनाएर उनीहरूलाई लेखट्न, धपाउन मिल्ने किसिमको एउटा व्यवस्था हामीले गरिदिएका हौँ। कृषि मन्त्रालयदेखि सबै विज्ञहरूसँग रायसुझाव लिएर यो उपयुक्त होला भन्ने हाम्रो निर्णय हो।”
उहाँले बँदेलको हकमा ुमार्न सक्नेु भनिएको भएपनि बाँदरको हकमा भने लखेट्ने, धपाउने र पक्रनेसम्म मात्रै भनिएको तर्क गर्नुभयो।
“बाँदरलाई मार्न मिल्दैन भन्ने स्पष्ट कुरा हाम्रो छ। हाम्रो त्यस्तो सोचाइ पनि छैन।”
अचेल देशभरिमा धेरै दुःख दिने प्रजातिको बाँदरको वैज्ञानिक नाम ‘मकाका मुलाटा’ हो। त्यसलाई बोलीचालीको भाषामा रातो बाँदर भनेर चिनिन्छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको राष्ट्रिय कृषि गणना २०७८ को ुसामुदायिक प्रतिवेदनुमा जङ्गली जनावरले कृषि उत्पादनमा पुर्याएको हानिनोक्सानीबारे वडा तहमा गरिएको अध्ययनको नतिजा उल्लेख छ।
सो नतिजाअनुसार देशभरिका करिब छ हजार वडामा गरिएको अध्ययनमा सबैभन्दा बढी झन्डै ४ हजार वडामा बाँदरले कृषिजन्य उत्पादनमा हानिनोक्सानी पुर्याउने गरेको उल्लेख छ।
बाँदरपछि धेरै नोक्सानी पुर्याउने जङ्गली जनावरमा दुम्सी, स्याल र बँदेल रहेका थिए। उक्त सर्वेक्षणले खाद्यान्न बालीपछि तरकारी बालीमा सबैभन्दा धेरै क्षति यस्ता जनावरहरूले पुर्याएको देखाएको थियो।
विज्ञ र किसानका कस्ता छन् प्रतिक्रिया?
बाँदरविज्ञ डा. मुकेश चालिसेले सबै बाँदरहरू उत्तिकै हानिकारक वा दुष्ट नहुने भन्दै सरकारी नीतिलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ।
उहाँ भन्नुहुन्छ, “आँकडा लिएर कुन समूहको बाँदर दुष्ट छ त्यसलाई पहिचान गर्नुपर्छ। मानव तथा वन्यजन्तुको हितमा बाँदरलाई सदुपयोग गर्नुपर्छ। बाँदर समाएर अरू देशलाई चाहिन्छ भने दिन पनि सकिन्छ र देशभित्रै प्रयोगशाला राखेर औषधिजन्य विज्ञानमा पनि प्रयोग गर्न सकिन्छ।”
उहाँले बाँदरमा नयाँ थरीका औषधिहरूको परीक्षण गर्न सकिने बताउँदै नेपालको रातो बाँदरको अन्तर्राष्ट्रिय बजारमा माग रहेको पनि उल्लेख गर्नुभयो।
त्यसबाहेक चिडियाघरलगायतमा पनि बाँदर राख्न सकिने उहाँको भनाइ छ।
वन हेर्ने सरकारी निकायकै सहयोगमा दुष्ट खालका बाँदरको आँकडा लिन सकिने बताउँदै चालिसेले एकमुष्ट बाँदरलाई मार्न सकिने खालको नीति उपयुक्त नहुने बताउनुभयो।
आफू बाँदरपीडित भएको बताउने पर्वत जिल्लाको पैयुँ गाउँपालिकाका किसान शोभाकान्त रिजालले सरकारले ल्याएको नयाँ नियमले आफूहरूका समस्या सम्बोधन गर्नेमा आशङ्का व्यक्त गर्नुभएको छ।
उहाँ भन्नुहुन्छ, “यसबाट थोरै नियन्त्रण हुन सक्छ तर निमिट्यान्न हुने सम्भावना कम देखिन्छ। जबसम्म जङ्गल व्यवस्थित गर्न सकिँदैन, अनावश्यक रुख र झाडी काट्न सकिँदैन, बाँसघारी फाँड्न सकिँदैन, गाह्रो हुन्छ।”
उहाँले बाँदरलाई धपाएर घना जङ्गल भएका ठाउँ र मानवबस्ती नभएका ठाउँमा पुर्याइनुपर्ने भन्दै अहिले पनि विकराल समस्याका रूपमा बाँदरले आफूहरूलाई पिरोलिरहेको बताउनुभयो।
नेपालमा एक किसिमको जङ्गली रातो बाँदर, पहरे बाँदर र कालो मुख सेतो रङ्ग भएको लङ्गुर बाँदर पाइने गर्छन्। रातो बाँदरको उपप्रजाति नभए पनि पहरे बाँदरका दुई उपप्रजाति र लङ्गुर बाँदरका तीन उपप्रजाति नेपालमा पाइने बाँदरविज्ञ चालिसेले जानकारी दिनुभयो।
पहरे बाँदर संरक्षित वन्यजन्तुमा पर्ने भएपनि अन्य बाँदर त्यसमा नपर्ने उहाँले बताउनुभयो ।
“रातो बाँदर सबैभन्दा धेरै छ। मान्छेको खेतबालीमा नोक्सान गर्ने पनि यो हो। यसलाई खासै संरक्षण गरेर बढाउनु नपर्ने खालको जनावरका रूपमा हेरिन्छ।”
बाँदरलाई पहिलो पटक नेपाल सरकारले कृषि हानिकारक वन्यजन्तुको सूचीमा राखेको हो। कतिपय स्थानीय निकायले बाँदर नियन्त्रणका लागि बजेट छुट्याएर नै समूहहरू परिचालन गरेका थिए।
बाँदर नियन्त्रण प्रयासका अन्य नानाथरी उपाय
- ठूलो आवाज आउने बन्दुक पड्काउने, ढ्वाङ ठटाउने – सुरु सुरुमा अनि एकै छिनका लागि काम गरे पनि स्थायी समाधान नभएको
- गन्ध आउने रसायन – ट्राइमिथाइलअमिन जस्ता कडा गन्ध आउने रसायन छर्कने। यसले पनि स्थायी समाधान नदिने
- गुलेली – गुलेली लिएर लखेट्ने। एक छिनलाई राहत
- हुल बाँधेर लखेट्ने – एकातिर लखेट्दा अर्कातिरबाट फेरि आउने डर कायमै
- कुकुर पाल्ने – कुकुरसँग पनि पछि नडराउने
- रूख काट्ने – वातावरण संरक्षणको हिसाबले अमिल्दो। सही समाधान नभएको
- एक ठाउँमा थुनेर राख्ने – पक्राउ गर्न गाह्रो हुने र पछि फेरि व्यवस्थापन गर्न जटिलता
- जनावरका पुत्ला देखाउने – बाघजस्ता जनावरका पुत्लाबाट बाँदर केही समयका लागि डराए पनि पछि अभ्यस्त हुने