-नवराज ढकाल
काठमाडौँ, १२ माघ (रासस) : जलवायु परिवर्तनबाट सिर्जित असरलाई न्यूनीकरण गर्नको लागि स्वच्छ ऊर्जा रूपान्तरण अपरिहार्य रहेको छ । स्वच्छ ऊर्जा रूपान्तरणको अवधारणालाई विश्वव्यापी रूपमा बहसमा ल्याउने कार्यको शुरूवात जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय अन्तर सरकारी संस्था (आईपीसीसी) ले गरेको पाइन्छ । पृथ्वीको तापमान वृद्धिको प्रमुख कारक तत्वको रूपमा लिइएको हरित गृह ग्यास उत्सर्जन न्यूनीकरणको लागि स्वच्छ ऊर्जाको व्यापक रूपमा प्रवद्र्धन र विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । नेपालको परिवेशमा स्वच्छ ऊर्जा रूपान्तरणलाई अघि बढाउन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा आयोजित २१ औं जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २१) को अवसरमा जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता भयो जसमा विश्वका प्रायः सबै देशहरू सामेल थिए । यो सम्झौतालाई पृथ्वीमा बसोबास गर्ने मानव जातिको हितको लागि महत्वपूर्ण सम्झौताको रूपमा लिइन्छ । जलवायु परिवर्तनबाट सिर्जित विभिन्न समस्याहरू विश्व तापमानमा वृद्धि, जलवायु संकट, जलवायुजन्य प्रकोप आदिको यही सम्झौताको आधारमा सम्बोधन गर्ने पहल भइरहेको छ । नेपालले पेरिस सम्झौता अन्तर्गत तयार गरेको राष्ट्रिय निर्धारित योगदान र सन् २०४५ सम्ममा खुद शुन्य उत्सर्जनका लागि दीर्घकालीन रणनीतमिा ऊर्जा क्षेत्रले उच्च प्राथमिकता पाएको छ । जसमा स्वच्छ ऊर्जा उत्पादनदेखि उपयोगसम्मका विभिन्न लक्ष्यहरू समेटिएका छन् ।
जलवायु परिवर्तनको असर प्राय सबै क्षेत्रहरूमा परिरहेको सन्दर्भमा यसलाई न्यूनीकरण गर्न हरेक क्षेत्रबाट रणनीति तय गर्न जरूरी देखिन्छ । स्वच्छ ऊर्जा उपयोग गर्न सकेमा नेपालले पेट्रोलियम पदार्थ आयातमा वार्षिक रूपमा खर्च हुने करीब साढे दुई खर्ब रूपैयाँ बचत गर्न सक्दछ भने परम्परागत ऊर्जा माथिको निर्भरतामा पनि कमी आउँछ । यसका लागि ऊर्जा रूपान्तरण प्रभावकारी माध्यम मानिएको छ र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता मार्फत यस दिशामा कार्य गरिरहेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रही नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी कार्य गर्ने नेपाल सरकारको प्रमुख निकाय हो । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरूको प्रवद्र्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरूसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पु¥याउँदै आएको छ । साथै, नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरूको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायको रूपमा समेत कार्य गर्दै आएको छ ।
केन्द्रले सबैमा स्वच्छ ऊर्जाको सर्वसुलभ पहुँच पु¥याउने सरकारको नीतिलाई कार्यान्वयन गर्न विद्युत् पहुँच पुग्न बाँकी रहेका भौगोलिक क्षेत्र तथा घरधुरीमा पूर्ण विद्युतीकरणका लागि एकीकृत योजना तयार गरी सोही बमोजिम विद्युत् विस्तार कार्य गरिरहेको छ भने खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको पहुँच विस्तारको लागि विद्युतीय चुलो, बायोग्यास र सुधारिएको चुलो लगायतका प्रविधिहरू प्रवद्र्धन गर्दैं आएको छ । नेपाल सरकारले सन् २०३५ सम्ममा जडित क्षकता २८,५०० मेगावाट र वार्षिक प्रतिव्यक्ति विद्युत खपत १,५०० किलोवाट घण्टा (युनिट) पु¥याउने लक्ष्य सहित हालै स्वीकृत गरेको “ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१” मा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरूमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत पु¥याउने, राष्ट्रिय ग्रिडमा आबद्ध नभएका विद्युतीय पूर्वाधारलाई ग्रिडमा आबद्ध गर्दै जाने, फोहोरबाट ऊर्जा उत्पादन गर्ने, सौर्य विद्युत खरिद बिक्रीका लागि आवश्यक व्यवस्था मिलाउने, वायु ऊर्जालाई ग्रिडमा आबद्ध गर्न सम्भाव्यता अध्ययन गर्ने, ग्रिड जडित ऊर्जा भण्डारण प्रणाली (ग्रिड कनेक्टेड इनर्जी स्टोरेज सिस्टम) का लागि विद्युत खरिद बिक्री दर निर्धारण गर्ने,ऊर्जा दक्षता अभिवृद्धिका लागि विद्युतीय उपकरणको मापदण्ड बनाई लागू गर्ने, ऊर्जा परीक्षण (इनर्जी अडिट) गर्ने, ऊर्जा रूपान्तरणका लागि विद्युतीय सवारी साधन, विद्युतीय उपकरण र ग्रीन हाइड्रोजन लगायतका प्रविधिलाई प्रोत्साहन गर्ने र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी कानूनी व्यवस्था गर्ने लगायतका नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा ऊर्जा रूपान्तरण सम्बन्धी विभिन्न लक्ष्यहरू समेटिएका छन् ।
सबैमा विद्युत पहुँच पुर्याउन तथा दिगो विकास लक्ष्यले लिएका नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता तथा जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू हासिल गर्ने सरकारको प्राथमिकतामा केन्द्रको योगदान रहँदै आएको छ । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनमार्फत आधुनिक ऊर्जाको पहुँच वृद्धि गर्ने तथा ऊर्जा सुरक्षा सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । केन्द्रले विभिन्नन घरायसी, संस्थागत र सामुदायिक नवीकरणीय ऊर्जा प्रविधिहरूको प्रवद्र्धन र विस्तार मार्फत हालसम्म समग्रमा देशका करीब ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्याएको छ । कूल विद्युत पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करीब ४ प्रतिशत रहेको छ । केन्द्रले ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा विभिन्न विकास साझेदार, सरकारी निकाय, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी संस्था, वित्तीय संस्था तथा स्थानीय समुदायसँग सहकार्य गर्दै आएको छ ।
केन्द्रले स्थापनाको २८ वर्षको अवधिमा लघु तथा साना जलविद्युत आयोजनाबाट, ४० हजार २५३ किलोवाट विद्युत् ११ हजार १०४ सुधारिएको पानीघट्ट जडान, ९ लाख ९६ हजार ६४७ घरेलु सौर्य विद्युत प्रणाली जडान भएका छन् । यसैगरी ४ हजार ३३२ संस्थागत सौर्य विद्युत प्रणाली, ३ हजार ९७ किलोवाट पिक सौर्य मिनि ग्रीड, सौर्य वायु मिनि ग्रीड जडान, १८ हजार २९३ किलोवाट पिक सौर्य रूफटप, २ हजार ४६४ सौर्य ड्रायर तथा कुकर जडान, ३ हजार ६९१ सौर्य खानेपानी तथा सिंचाइ पम्प, १ लाख ३२ हजार २११ फलामे सुधारिएको चुलो, ३३ वटा संस्थागत ग्यासिफायर, ५९ हजार ३८५ विद्युतीय चुलो, ४ लाख ५० हजार ७७० घरायसी बायोग्यास, १४ लाख २३ हजार २४२ सुधारिएको माटोको चुलो, ३६९ संस्थागत, शहरी तथा व्यावसायिक बायोग्यास, १ हजार ७६६ ऊर्जाको उत्पादनमूलक परिप्रयोग, ३३०९ सौर्य सडक वत्ती र ४ हजार ७५८ मठ, मन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा जडान÷निर्माण गर्न सफल भएको छ । विद्युत् पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि (क्लिन कुकिङ्ग) को क्षेत्रमा केन्द्रले विशेष जोड दिंदै आएको छ । नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरू क्रियाशील रहेका छन् जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४० हजार भन्दा बढी रोजगारी सिर्जना भएको छ ।
संयुक्त राष्ट्रसंघले “पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणी जगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरू सञ्चालन गर्ने” उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको रूपमा मनाउने घोषणा गरेको सन्दर्भमा यो दिवस विश्वभर विभिन्न कार्यक्रमहरू गरेर मनाउने गरिन्छ । नेपालमा पनि यस वर्ष अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको छ । केन्द्रले यही माघ १३ देखि १५ गतेसम्म विभिन्न कार्यक्रमहरू गरी मनाउने क्रममा पहिलो दिन यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौति तथा अवसरहरूको बारेमा सरोकारवालाहरूसँगको अन्तक्र्रिया गरिनेछ भने दोस्रो दिन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा जानकारी गराउने, विकास साझेदारहरूको प्राथमिकता सम्बन्धमा जानकारी हासिल गर्ने एवं आगामी सहकार्य सम्बन्धमा विकास साझेदारहरूसँग छलफल हुनेछ । तेस्रो दिन माघ १५ गते नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पु¥याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तिव्रता दिनको लागि सरोकारवालाहरूबीच अनुभव आदान प्रदान, लगानीको अवसरबारे अन्तक्र्रिया एवं आवश्यक रणनीति तर्जुमाको लागि उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन हुनेछ ।
ऊर्जा रूपान्तरणको क्षेत्रगत अवस्था, अवसर तथा चुनौती, खुद शुन्य उत्सर्जन र उत्थानशील अर्थतन्त्रको लक्ष्य हासिलको लागि ऊर्जा रूपान्तरण, ऊर्जा रूपान्तरणको लागि लगानी तथा कार्बन वित्त : आन्तरिक र बाह्य लगानीको आवश्यकता, ऊर्जा रूपान्तरणको लागि नियामक ढाँचा, सुशासन र क्षमता विकास न्यून कार्बनमा आधारित अर्थतन्त्रसहितको ऊर्जा रूपान्तरणको लागि भविश्यको मार्गचित्र लगायतका विषयवस्तुहरू सम्मेलनको छलफलको प्रमुख विषयवस्तु हुनेछन् । सम्मेलनबाट ऊर्जा रूपान्तरणको लागि क्षेत्रगत आवश्यकताको पहिचान, ऊर्जा रूपान्तरणको लागि लगानी आवश्यकता र जलवायु वित्तको लागि विभिन्न संयन्त्रहरूको पहिचान, लगानी अभिवृद्धि एवं विकास सहकार्य थप मजबुत हुने अपेक्षा रहेको छ । साथै, यस सम्मेलनबाट नेपाल सरकारबाट हालै स्वीकृत “ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१” र “विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८०” को प्रभावकारी कार्यान्वयनका लागि समेत सहयोग पुग्नेछ ।
(लेखक वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ)