भक्तपुर, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टीको १५ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुनुहुन्छ । तर उहाँले प्रधानमन्त्रीको सपना पनि सजाउदै लग्नुभएको छ ।
आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा आफूले राम्रो काम गर्ने दावी नै गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्ने कुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्न सक्छु । त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो । म जिम्मा लिन्छु भनेर गएको पनि हो । ती प्रयासबाट आएका परिणामहरूलाई पनि स्विकार्नुपर्छ । यो दशक अब फेरि खेल फाल्नु हुँदैन ।’
उहाँले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने दाबी गर्नुभयो। उहाँले अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको पनि बताउनुभयो ।
महामन्त्री थापाले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको बताउनुभयो। उहाँले नेपाल पहिलाको भन्दा धेरे विकसित भएको दाबी समेत गर्नुभयो। नेपालको अबको मुद्दा नेपालमै नागरिकलाई आत्मसम्मानका साथ जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना हुनुपर्ने बताउनुभयो ।