Prakash Adhikari January 25, 2025
काठमाडौं, १२ माघ । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो ।
सुदूरलाई फाइनलमा ९ विकेटले पराजित गर्‍यो । सुदूरले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।
एपीएफका लागि कविता जोशीले३ विकेट लिइन् । सबनम राई र इन्दु बर्माले २ ।२ विकेट लिए। करुणा भण्डारीले १ विकेट लिइन् ।
एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । शुक्रबार सम्पन्न सुपर फोरको खेलमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर एपिएफ फाइनलमा पुगेको हो ।
बागमती प्रदेशमाथि ३० रनको जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।
 बिन्दु रावलको कप्तानीमा रहेको सुदूरपश्चिम लिग चरणमा एपिएफसँगको एउटा मात्रै खेल हारेर समूह उपविजेताको रूपमा सुपर फोरमा पुगेको थियो ।
सुपर फोरमा आर्मीसँग पराजित भएको सुदूरपश्चिम बागमतीलाई हराएर नेट रनरेटका आधारमा फाइनलमा पुगेको हो ।  एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो । इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलोपटक उपाधि जितेको हो ।
यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३र२४ मा उपाधि जितेको थियो ।
Share Now