Prakash Adhikari January 26, 2025

काठमाडौं, १३ माघ । साताको पहिलो कारोबार दिन नेपालको शेयर बजार ओरालो लागेको छ । गत बिहीबार घटेर बन्द भएको धितोपत्र बजार परिसूचक यस दिन पनि बढ्न सकेन ।

आइतबार धितोपत्र बजार परिसूचक १०.४१ अंक घटेर २६४३.९३ विन्दुमा झरेको छ।

यस दिन धितोपत्र बजार परिसूचक घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय १८ स्टकको १ करोड ५७ लाख २० हजार कित्ता शेयर खरिदबिक्रीबाट ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन २ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। यस दिन बोटलर्स नेपाल (बालाजु), दोल्ती पावर र जानकी फाइनान्सको शेयर तथा एनआईसी एशियाको ऋणपत्र नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३९ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ३८ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३६ करोडको शेयर किनबेच भएको छ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई बर्गीकृत भएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

यस दिन विकास बैंक, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.७६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

Share Now