Prakash Adhikari July 4, 2018

काठमाडौं,२० असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदन र सडक दुवै मोर्चामा सक्रिय उपस्थिति देखाउन थालेको छ

बुधबार नेपाली सरकारले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ भने चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीको अनसन र निषेधाज्ञालाई मुद्दा बनाएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकको निर्णयअनुसार कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो । बैठकमा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सार्वजनिक स्थलमा प्रदर्शन गर्न रोकेर सरकार पूर्वराजा ज्ञानेन्द्र शाहकै बाटोमा लागेको आरोप लगाए ।

‘निषेधित क्षेत्र नतोडेको भए केपी ओली प्रधानमन्त्री हुनुहुन्थेन । अध्यक्ष महोदय पनि त्यो कुर्चीमा हुनुहुन्थेन’ उनले भने ‘यो सरकार किन ज्ञानेन्द्रपथतिर अघि बढ्दैछ रु बहुमतको दम्भमा जनताको आवाज कुण्ठित गर्ने कोशिस गरिएको छ ।’

डा। गोविन्द केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशन बस्न जाँदा धरपकड गरेको भन्दै आपत्ति जनाए । त्यस्तै छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गंगामाया अधिकारीको माग पनि पूरा गर्न आग्रह गरे ।

बुधबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रमुख सचेतक बालृकृष्ण खाँडले पछिल्लो परिस्थितिबारे जानकारी गराए भने मिनेन्द्र रिजालसहितका सांसदहरुले आआफ्नो धारणा राखेका थिए । लगतै सभापति शेरबहादुर देउवाले नै सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने धारणा राखेका थिए ।

कांग्रेस सभापति देउवाले आफ्नो सरकारको पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेशको स्वामित्व आफूले लिने बताएका थिए । कांंग्रेसले सो अध्यादेशको बचाउमा अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न तीन सदस्यीय संसदीय प्रतिनिधि टोली जुम्ला पठाउने बताए । टोलीमा सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमती शाही र प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठ छन् ।

यस्तै गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पार्वता डी.सी चौधरी, डा. अमरेशकुमार सिंह र देवप्रसाद तिमिल्सिना रहेको टोली खटाएको छ । टोलीले बुधबार नै वीर अस्पताल पुगेर अधिकारीलाई भेटेको छ ।

Share Now

Leave a comment.