किन्शासा(कंगो), १३ माघ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा शान्ति स्थापनाका लागि खटिएका १३ जना सैनिकहरू विद्रोही एम २३ समूहसँगको भिडन्तमा मारिएका छन्।
दक्षिण अफ्रिकाको सेनाले ज्यान गुमाउनेमा विद्रोहीहरूलाई देशको पूर्वमा अवस्थित गोमा सहरतर्फ प्रवेश गर्न रोक्ने प्रयासमा रहेका आफ्ना ९ जना सैनिक रहेको जनाएको छ। त्यसबाहेक मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिक मारिएका छन्।
नेपाली सेनाका प्रवक्ताले कङ्गोमा तैनाथ करिब १ हजार १ सय ५० नेपाली शान्ति सैनिक सुरक्षित रहेको र उनीहरू हाल युद्ध चर्किएको भनिएको स्थानभन्दा परै रहेको बीबीसीलाई बताउनुभएको छ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोले एम २३ विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ।
संयुक्त राष्ट्र सङ्घ र अन्यले पनि रुवान्डाले आफ्ना फौज र अस्त्रको प्रयोग गरेर द्वन्द्व चर्काएको आरोप लगाएका छन्।
शान्ति सैनिक मारिए
पछिल्ला केही दिनमा एम २३ सँगको भिडन्तमा १३ जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिएका छन्।
राष्ट्रसङ्घले अत्यावश्यक बाहेक सबै कर्मचारी गोमाबाट फिर्ता गर्ने भएको छ र त्यहाँको खराब अवस्थाबारे आइतवार राष्ट्रसङ्घको सुरक्षा परिषद्मा छलफल हुँदैछ। सोमवारका लागि तय भएको सो छलफल आइतवारका लागि सारिएको हो।
फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँले द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रुवान्डाका नेताहरूसँग कुराकानी गरेको बताइरहँदा लडाइँ चर्किएपछि १० लाखभन्दा धेरै जनसङ्ख्या रहेको गोमाबाट राष्ट्रसङ्घले अत्यावश्यकबाहेकका कर्मचारी फिर्ता गरिरहेको छ।
रक्तपात रोक्न गोमामा रहेका कङ्गोली फौजहरूलाई एम २३ समूहले आत्मसमर्पण गर्न भनिरहेको छ।
विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग प्रजातान्त्रिक गणतन्त्र कङ्गोले कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ ।
उक्त कदम बिहीवार युद्ध भइरहेको अग्रमोर्चामा भ्रमण गरेका कंङ्गोका एक सैनिक गभर्नरलाई एम २३ लडाकुहरूले मारिदिएपछि चालिएको थियो।
ज्यानुअरीमा उनीहरूले पूर्वमा अवस्थित मिनोभा र मासीसी नामक दुई प्रमुख नगरहरू नियन्त्रणमा लिएका थिए।
माक्रोँले दुवै देशका नेतालाई अलग अलग सम्पर्क गरी लडाइँ रोक्न आह्वान गरेको उहाँको कार्यालयले जनाएको छ।
एएफपी समाचार संस्थाका अनुसार युरोपेली सङ्घका विदेश नीति सम्बन्धी प्रमुख काजा कल्लासले एम २३ लाई थप अघि नबढ्न अनुरोध गर्दै उक्त समूहलाई रुवान्डाको समर्थनको निन्दा गरेका छन्।
रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको अफ्रिकी युनियनआबद्ध देश एङ्गोलाका राष्ट्रपतिले पनि एम२३ र उसका समर्थकहरूको गतिविधि गैरजिम्मेवारपूर्ण भन्दै निन्दा गर्नुभएको छ।
उहाँले नागरिकको जीवन रक्षाका लागि तत्कालै लडाइँ रोक्न पनि अपिल गर्नुभएको एएफपी समाचार संस्थाले जनाएको छ।
कङ्गोमा रहेका नेपाली शान्ति सैनिकको अवस्था
नेपाली सेनाका अनुसार कङ्गोमा शान्ति स्थापनाका लागि झन्डै १ हजार १ सय ५० नेपाली शान्ति सैनिक खटिएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले गोमा नजिकै नेपाली फौजहरू नरहेको भन्दै त्यहाँ रहेको मिसन हेडक्वार्टरमा खटिएका कतिपय नेपाली शान्ति सैनिकहरूलाई राष्ट्रसङ्घले स्थानान्तरण गरेर युगान्डाको एन्टाबे लगेको वा लैजाने प्रक्रियामा रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हाम्रो फौजहरू गोमा नजिकै छैनन्। सबैभन्दा धेरै नेपाली शान्ति सैनिक फताकी भन्ने ठाउँमा छन् जुन पर नै पर्छ। त्यसबाहेक अर्को फौजहरूको समूह बेनीमा छ जुन उत्तर पूर्वमा पर्छ। बाँकी नेपाली शान्ति सैनिक रहेको बुनियाँ पनि अहिले द्वन्द्व भइरहेको ठाउँबाट परै अवस्थित छ।”
नेपाली सेनाका प्रवक्ताले सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेका जानकारी आफूहरूले पाएको उल्लेख गर्नुभयो।
मोनुस्को मिसन अन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १० हजार भन्दा बढी शान्ति सैनिक र एक हजार भन्दा बढी फर्म्ड प्रहरी युनिटहरू खटिएका छन्।
उक्त मिसन अन्तर्गत सबैभन्दा बढी फौज उपलब्ध गराउने देशमा भारत, बाङ्ग्लादेश र नेपाल पर्छन्।
डीआर कङ्गोमा दक्षिण अफ्रिकाका झन्डै १ हजार १ सय ४०, मलावीका ५ सय ६० भन्दाबढी र उरुग्वेका ७ सय ५० जना भन्दाबढी शान्ति सैनिक रहेको गएको अक्टोबरको एउटा विवरणले देखाउँछ।
गोमाको अवस्था
विद्रोहीहरूले अहिलेसम्मकै बढी भूभागमा नियन्त्रण कायम गरेपछि एमद्दघ र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सेनाबीचको लडाइँ यसै वर्षको सुरुबाट चर्किएको छ।
राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण अघिल्लो वर्ष ४ लाख मानिसहरू घर छाडेर भागेका थिए।
स्थानीय नेताहरूले अघिल्लो हप्ता एम २३ ले कब्जा गरेका स्थानमा २ सय गैरसैनिक मारिएको भन्दै गोमामा अवस्थित अस्पतालले सैयौँ बिरामीको उपचार गरिरहेको जनाएका थिए।
गोमामा रहेका एक जना एङ्गलिकन पादरी मार्टिन गोर्डनले त्यहाँ लडाइँ धेरै पर पुगेको र शान्तिका लागि मानिसहरू जे पनि गर्न तयार रहेको बताउनुभयो।
पछिल्ला केही दिनमा यूके, फ्रान्स, जर्मनी र अमेरिकासहित कैयौँ देशहरूले आफ्ना नागरिकलाई गोमा छाड्न भनेका छन्।
मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले उक्त लडाइँले नागरिकहरूलाई थप खतरामा पार्नसक्ने चेतावनी दिएको छ।
कङ्गोको सेना र एम २३ विद्रोही दुवैले गम्भीर मानवअधिकार उल्लङ्घन गरेका उसको आरोप छ।
राष्ट्रसङ्घले जारी द्वन्द्वले उक्त क्षेत्रमा मानवीय सङ्कट बढाएको चेतावनी पनि दिएको छ।
एम २३ ले सन् २०२१ यता खनिज पदार्थमा धनी देशको पूर्वमा अवस्थित ठूलो भूभाग आफ्नो कब्जामा लिएको छ। त्यसको परिणाम स्वरूप लाखौँ मानिस विस्थापित भएका छन्।
प्रजातान्त्रिक गणतन्त्र कङ्गो र राष्ट्रसङ्घले एम २३ लाई रुवान्डाको समर्थन रहेको आरोप लगाउँछन्। रुवान्डाका अधिकारीले न त आरोपको खण्डन गरेका छन् न स्वीकार नै।