Prakash Adhikari January 29, 2025
काठमाडौं, १६ माघ । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहिद दिवसका अवसरमा समस्त नेपालीलाई शुभकामना दिनुभएको छ । उहाँहरुले सहिदहरुको बलिदानले देशमा सबै नेपालीलाई समेट्ने लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेको बताउँदै अब सुशासन,विकास र समृद्धि हासिल गरेर सहिदका सपना पूरा गर्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
सहिद दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको हो ।
वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सहिदको आकाङ्क्षालाई साकार बनाउन हामी सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उहाँको भनाइ छ ।
“सहिद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।
सहिद दिवस देशका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रविरूद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झनामा हरेक वर्ष माघ १६  गते यो दिवस मनाइँदै आइएको छ ।
“आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।
समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि  प्रेरणा :  उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसितमुलुक निर्माणका लागि सहिदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गर्नुभएको छ ।
सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने सहिदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले नेपालको पवित्र धर्तीमा कैयौंँ महान सपूतहरु÷वीरवीरङ्गनाहरुले जन्म लिएका र उहाँहरुले  लोकतन्त्र, समानता, पहिचान, सहअस्तित्व, सदाचार, सद्व्यवहार, समान अधिकारका लागि प्राणको आहूति दिएको बताउनुभएको छ । उहाँले सहिदहरूले हामीलाई एउटा स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभएको छ ।
वीर सहिदहरुको बलिदान, त्याग, अदम्य साहस, वीरता र हौसलालाई स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन, सम्मान र नमन गर्नका लागि हरेक वर्ष माघ १६ का दिन मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइन्छ । “सहिद दिवस हामीलाई सहिदहरूको सम्झना मात्र गराउने दिन होइन, हामीलाई उहाँहरूको मार्गदर्शन र प्रेरणाले अघि बढ्न प्रेरित गर्ने दिन पनि हो”, उहाँले भन्नुभएको छ ।
यस अवसरमा हामीले सहिदहरूको सपना पूरा गर्न, न्यायपूर्ण र समानतामूलक समाज निर्माण गर्न र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न सङ्कल्प लिन सक्नुपर्ने उहाँले बताउनुभएको छ । उहाँले देशको विकास, शान्ति, समृद्धि र अखण्डता राष्ट्रिय एकताबाटै सम्भव भएको समेत बताउनुभयो ।
सहिदहरुको सपना र आकाङ्क्षा साकार पार्न सके मात्र उहाँहरुप्रतिको सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिने उल्लेख गर्दै उहाँले मुलुकको दिगो शान्ति, सुशासन, विकास, समृद्धिको आकाङ्क्षा पूरा गर्न सम्पूर्ण राजनीतिक दल, आमनागरिक समाजलगायत सबै दृढ सङ्कल्पका साथ लाग्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले सहिद दिवसका अवसरमा सहिदको आदर्श र मूल्यलाई आत्मसात गर्दै, एकताको भावनालाई थप सुदृढ र बलियो बनाउँदै देशको प्रगति, विकास र समृद्धिको लागि दत्तचित्त तथा एकाकार भई मिलेर काम गर्न आह्वान गर्नुभएको छ ।
Share Now