Prakash Adhikari February 5, 2025

कीर्तिपुर(काठमाडौं), २३ माघ । पूजा महतोको अर्धशतकको बाबजुद नेपाल घरेलु मैदानमा भएको त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय श्रृखलाको चौथो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

आजको खेलमा नेपालले राम्रो योगफल तयार गरेको थियो । तर ब्याटिड. सुधारेको नेपालले बलिड. बिगार्यो । फलस्वरुप पाँचौ  खेलमा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।

नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा नट आउट ४८ रन जोडिन् ।

नेपालले ७ बलरको प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पूजाले ४३ बलमा पूरा गरिन् ।

तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरिन् । इन्दुले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन् ।

रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी ७ रनमा नट आउट रहिन् । पूजा यस श्रृखलामा अर्धशतक बनाउँने पहिलो नेपाली ब्याटर हुन् ।

नेदरल्याण्ड्सका लागि आरिस विलिङले २ तथा कोरोलिङ डि लाङ र हेटर सिगर्सले समान १ विकेट लिए ।

नेपाल नेदरल्याण्ड्ससँग खेलेका तीनै खेलमा पराजित भएको छ ।

५ खेलमा ६ अंकका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ । ५ खेलमा अंकबिहिन नेपाल तालिकाको पुछारमा छ ।

त्रिकोणात्मक श्रृखलामा नेपाल र नेदरल्याण्ड्सको अलावा थाइल्याण्डको पनि सहभागीता रहेको छ । सबै टोली एक आपसमा ३ खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ । अब नेपालले श्रृखलाको आफ्नो अन्तिम खेल थाइल्याण्डसंग खेल्न बाँकी छ । सो खेल ७ फेब्रुअरी (माघ २५ गते) हुने छ ।

 

Share Now