
काठमाडौं, ३ फागुन । पोखरा भ्रमण वर्ष घोषणा समारोहमा बेलुनमा सल्केको आगोले घाइते हुनुभएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ।
आज पोखरा भ्रमण वर्ष घोषणा समारोहमा पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरलाई आकाशमा उडाउन तयार पारिएको ग्यास भरिएको बेलुनमा लागेको आगोले उहाँ घाइते हुनुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्ने क्रममा डिजिटल रुपमा स्वीच थिचेर स्वतः पानसको बत्ति बालिएको थियो । सोही पानसको आगो ग्यास भरिएको बेलुनमा सल्किदा आगोको लप्काले फुटेको बेलुनका भाग उछिट्टिएर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्यको शीरमा परेको थियो । आगोले नगर प्रमुख आचार्यको टाउको र देब्रे गालामा असर गरेको छ भने अर्थमन्त्री पौडेललेको शीरमा असर गरेको छ ।
अर्थमन्त्री पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।
महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उहाँका प्रेस संयोजक भीम थापाले जानकारी दिनुभयो ।