Prakash Adhikari February 17, 2025

काठमाडौं, ५ फागुन । राष्ट्र संघीय शान्ति सेना अन्तरगत युनिफिल लेबनानमा कार्यकाल पूरा गरेर फर्किने क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते हुनुभएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल उपचारपछि डिस्चार्ज हुनुभएको छ ।

राष्ट्र संघको लेभल थ्री अस्पताल बेरुतमा उपचारपछि उहाँलाई आइतबार डिस्चार्ज गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभएको छ ।उहाँका अनुसार उपरथी ढकाल स्वदेश फर्किने क्रममा हुनुहुन्छ ।

आफ्नो दुई वर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्किन एअरपोर्ट आउदै गर्दा उहाँमध्यराति प्रदर्शनकारीको आक्रमणमा पर्नुभएको थियो । नाकुरास्थित युनिफिल फोर्स हेडक्वार्टरबाट विमानस्थलतर्फ जाने क्रममा मध्यराति प्रदर्शनकारीहरुले उहाँको गाडी रोकेर उहाँमाथि कुटपिट गरेका थिए ।

उपरथी ढकाल सवार गाडी बीचमा थियो, अगाडि र पछाडि दुवैतर्फ सुरक्षाकर्मीहरु रहेको जिपले इस्कर्ट गरिरहेको थियो । पहिलो गाडी क्रस गर्ने बित्तिकै बीचमा रहेको ढकाल सवार गाडीलाई प्रदर्शनकारीले रोके । उहाँलाई गाडीबाट निकालेर कुटपिट गरे ।

उहाँको टाउकोमा चोट लागेको थियो । उक्त गाडीमा रहेका थप चार नेपाली शान्ति सैनिक सामान्य घाइते भएका थिए । केहीबेरमा लेबनानी सेनाले उहाँसहित घाइते सबैलाई उद्दार गरेर अस्पताल पुर्‍याएको थियो ।

उपरथी ढकालमाथि आक्रमण गरेको आशंकामा सरकारी अधिकारीहरुले कम्तिमा २५ जनालाई नियन्त्रणमा लिएका छन् ।

समाचार संस्था एपीका अनुसार, इरानबाट आएको एउटा यात्रु विमानलाई बेरुत जाने अनुमति रद्द गर्ने सरकारी अधिकारीहरुको निर्णयविरुद्ध अहिले त्यहाँ विरोध प्रदर्शन चलिरहेको छ ।

लेबनानका सरकारी अधिकारीहरुले इरानले ती उडानमार्फत उग्रवादी समूह हिज्बुल्लाहलाई नगद पठाउने गरेको शंकामा यो निर्णय लिएको भनेका छन् । त्यसअघि नै इजरायली सेनाले इरानले नागरिक उडानमार्फत उग्रवादी समूह हिज्बुल्लाहका लागि नगद तस्करी गर्ने गरेको आरोप लगाएको थियो ।

पछि लेबनानको सरकारले विमानमा प्रतिबन्ध लगाएपछि प्रदर्शनकारीहरुले इजरायलको धम्कीसामु लेबनान झुकेको आरोप लगाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यसको विरोधमा विमानस्थल जाने मार्गसँगै राजधानी र अन्य सडकहरु अबरुद्ध पारिएका थिए ।

Share Now