Prakash Adhikari February 17, 2025

भरतपुर(चितवन), ५ फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वम भएको उक्त कार्यक्रम चितवनस्थित होटल सोल्टी वेस्टएण्डमा सम्पन्न भएको थियो ।

अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट हुनुभएका १०० जना एमडिआरटी अभिकर्ताहरुलाई कम्पनीले भव्य समारोहमा सम्मान गरेको हो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताउनु भयो । उहाँले अभिकर्ता संंजालको व्यवसायीकरणलाई सँधै उच्च स्थानमा राख्दै विविध मासिक र बार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनहरुमा पनि कम्पनीले यसमा यथासंभव लगानी गरिरहने जानकारी गराउनु भयो । उहाँले जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यवसायिक हुँदै गईरहेको अवस्थामा कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही बर्षदेखि उच्च बोनसदर प्रदान गर्दै आएकोले अभिकर्ताहरुलाई व्यवसायमा सहज भैरहेको बताउनु भयो । उहाँले एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाख देखि ३ करोडसम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी, ३ जनाले सिओटी र ३जनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल भएको जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सबै १०० जना अभिकर्ताहरुलाई विशेष सम्मान गर्नुकासाथै निरन्तर ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबै भन्दाबढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गर्नु भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीबाट पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागी हुनुभएका प्रदेश प्रमुख, शाखा प्रमुख लगायत मार्केटिङ कर्मचारी र अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजयकुमार झाले प्रवचन दिनुभएको थियो । उहाँको प्रवचनले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पूरा गराउने अभिप्रेरित गरेको सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा विभागीय प्रमख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न मनोरन्जानात्मक प्रस्तुति पनि समावेश गरिएको थियो । योग्य प्रशिक्षकबाट तालिम,मनोरञ्जनका साथै प्रमुख कार्यकारी अधिकृतबाट उच्चस्तरको सम्मान ग्रहण गर्न पाउँदा आफूहरुले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागिेको सम्मानित बिजनेश लिडरहरुले बताउनु भएको थियो ।

Share Now