Prakash Adhikari February 19, 2025

काठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादव र द्धितीय राष्ट्रपति विद्यादेवी भण्डारीले समस्त नेपालीहरुमा शुभकामना दिनुभएको छ ।

प्रजातन्त्र दिवस जनताको दिवस हो : प्रथम राष्ट्रपति डा यादव

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा रासससँग कुराकानी गर्दै नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन आह्वान गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “यो जनताको दिवस हो । जनताका अधिकार प्राप्तिका सन्दर्भमा कोसेढुङ्गाका रुपमा यो दिनलाई लिनुपर्छ । २००७ को परिवर्तन जुन ढङ्गबाट भयो जनताको अधिकार प्राप्तिको लडाइँबाट जनता स्वतन्त्रता भएको दिन हो, आज ।”

फागुन ७ गतेले दै लोकतान्त्रिक राजनीतिक स्थापना गर्न मार्ग निर्देश गरेको बताउँदै उहाँले मुलुकमा धेरै उतारचढाव हँुदै विसं २०४६ र २०६२÷०६३ को जनआन्दोलनमार्फत सामन्ती संस्थाको निर्मूल र नष्ट गरी अघि बढ्न सम्भव भएको धारणा राख्नुभयो ।

पूर्वराष्ट्रपति डा यादवले भन्नुभयो, “अहिले मुलुकले सभ्य समाज उपभोग गरिरहेको छ, त्यसको मूल जरो भनेको २००७ साल हो । जुन मुलुकको राजनीतिक इतिहासमा त्यति ठूलो योगदान कहिलै भएको थिएन । त्यो धेरै ठूलो परिवर्तन थियो ।” मुलुक सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षसहित लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बताउँदै उहाँले त्यो प्राप्तिको मुख्य जग भनेको नै २००७ को राजनीतिक परिवर्तन भएको टिप्पणी गर्नुभयो ।

प्राप्त उपलब्धि र विविधताको रक्षा र एकीकरण गर्दै लैजानु पर्ने आजको आवश्यकता भएको बताउँदै पूर्वराष्ट्रपति डा यादवले सबैका राजनीतिक, आर्थिक, सामाजिक र धार्मिक अधिकार तथा न्यायमा पहुँच स्थापित गरी जनताको आशालाई व्यवस्थित तुल्याउन सुझाव दिनुभयो ।
राष्ट्रको समृद्धिको लागि निरन्तर लाग्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सरोकार भएका निकायलाई आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको यो दिनमा नेपाल र नेपाली जनताको पक्षमा निरन्तर क्रियाशील रही समृद्धिका लागि एकताबद्ध हुनुपर्ने बताउनुभएको हो ।

“नेपालीको लागि एउटा कोशेढुङ्गा सावित भएको राष्ट्रिय प्रजातन्त्र दिवसको जगमा उभिएर नेपालीलाई बहुदल हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनासम्मका आन्दोलनमा सफलता हासिल भयो । सम्पूर्ण सहिदहरूको बलिदानलाई उच्च कदर गर्दै नेपालको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर सङ्घर्षरत रहन सबै राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय र हामी सबै नेपालीलाई मिल्ने छ भन्ने मैले विश्वास लिएकी छु । प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, पूर्वराष्ट्रपति भण्डारीले एक्समा लेख्नुभएको छ ।
–––

Share Now