
काठमाडौँ, ११ फागुन : संयुक्त राज्य अमेरिकाको पर्यटन मेलामा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । अमेरिकाको लस एन्जलसमा यही फेब्रुअरी २२ र २३ मा सञ्चालित ‘एड्भेन्चर ट्राभल शो’ नेपाल पर्यटन बोर्डको नेतृत्वमा चार कम्पनीले सहभागिता जनाएका हुन् ।
मेलामा नेपाल ट्रेक एड्भेन्चर एन्ड एक्स्पिडिसन प्रालि, ओझा होलिडे टुर एन्ड ट्रेक्स प्रालि, फ्रेन्ड्स एड्भेन्चर टिम प्रालि र नेपाल सेन्चुरी ट्रेक्स प्रालिले सहभागिता जनाएका हुन् । लस एन्जलसमा सञ्चालित उक्त पर्यटन मेलामा नेपालले डेढ दशकपछि सहभागिता जनाएको हो ।
नेपालको मनमोहक परिदृश्य, समृद्ध संस्कृति र रोमाञ्चकारी साहसिक कार्यका बारेमा मेलामा जानकारी गराइएको मेलामा सहभागी ट्रेक एड्भेन्चर एन्ड एक्स्पिडिसन प्रालिका सञ्चालक एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वमहासचिव विनोद सापकोटाले जानकारी दिनुभयो ।
सन् २०२४ मा नेपाल घुम्न आएका पर्यटकमध्ये १० प्रतिशत अर्थात् एक लाख १२ हजार पर्यटक अमेरिकी नागरिक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये भारतपछि अमेरिका दोस्रो नम्बरमा पर्छ ।
मेलामा नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य राजेन्द्र लामा, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, पर्यटन व्यवसायी रमेश ओझा, नवीन पोखरेल, कुन्दन मिश्रलगायतको सहभागिता रहेको छ । यस्तै, अमेरिकाको क्यालिफोर्नियाका लागि नेपालका अवैतनिक वाणिज्यदूत ऋषिप्रसाद ढकालको समेत उपस्थिति थियो ।
दुई दिनसम्म सञ्चालित उक्त मेलामा नेपालसहित ब्राजिल, जापान, इन्डोनेसिया, भियतनाम, ताइवानलगायत देशका झण्डै १०० भन्दा बढी कक्ष राखिएका छन् ।