Prakash Adhikari February 24, 2025

तनहुँ, १२ फागुन : पहाडकी रानी उपनामले परिचित पर्यटकीयस्थल बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि तीन दिने राष्ट्रिय साहित्यकार सम्मेलन हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गोरखापत्र संस्थान र पद्मा पुस्तकालयको आयोजनामा आजदेखि आरम्भ हुने छ । सम्मेलन फागुन १४ गतेसम्म चल्ने छ ।

बन्दीपुरलाई साहित्यको माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यले साहित्यिक सम्मेलन आयोजना गरिएको सम्मेलनका संयोजक एवं बन्दीपुर पद्मा पुस्तकालयका अध्यक्ष सुदर्शन प्रधानले जानकारी दिनुभयो ।

“देशैभरीका साहित्यकार बन्दीपुर आउन् र यहाँको सन्दरताको बारेमा लेखुन् भन्ने चाहना राखेर सम्मेलन गरेका हौँ”, उहाँले भन्नुभयो । प्राकृतिक, सामाजिक र सांस्कृतिक, मौलिक र विविधतायुक्त बन्दीपुरलाई आँखाले देखेर, सुनेर र अध्ययन गरेर साहित्य रचना होस् भनि कार्यक्रमको आयोजना गरिएको पद्मा पुस्ताकालयका संरक्षक नमस्तेलाल भूमी श्रेष्ठले बताउनुभयो ।

मधुपर्कले ‘आँखामा मधुपर्क र मनमा बन्दीपुर’ नाम विशेषाङ्क प्रकाशित गर्ने जनाएको छ । साहित्यकार सम्मेलनले ऐतिहासिक सिङ्गो बन्दीपुरको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारमा टेवा पुग्ने नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष तथा साहित्यकार शङ्करराज नहर्कीले बताउनुभयो ।

सम्मेलनको प्रायोजकमा बन्दीपुर गाउँपालिका र सहप्रायोजकमा कुन्ती स्मृति प्रतिष्ठान रहेका छन् । सहयोगी संस्थाहरु क्षेत्रीय होटल सङ्घ बन्दीपुर, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, रेवान तनहुँ, बन्दीपुर पर्यटन विकास समिति, प्राकृतिक पर्यावरण संरक्षण मञ्च छन् ।

Share Now