
काठमाडौँ, १३ फागुन : प्रधान सेनापति अशोकराज सिग्देलले महाशिवरात्रि तथा २६२औँ सेना दिवसको अवसरमा जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्नुभएको छ ।
उहाँले आज नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले नेपाली सेनाले निर्वाह गर्दै आईरहेका प्रकृति संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना लगायतका जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले पूरा गर्दै नेपाली सेनालाई हरेक क्षेत्रमा उत्कृष्ट र अब्बल बनाइराख्न योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो । यस अघि आजै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरूमा कर्तव्यपालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापतिले छाउनीमा रहेको वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा श्रद्धासुमन अर्पण गर्नुभएको थियो । त्यसैगरी छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा प्रधान सेनापतिले वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई सम्मान समेत गर्नुभएको थियो ।
—