
महोत्तरी, १६ फागुनः मिथिला माध्यमिकी परिक्रमाका यात्रीका लागि यहाँका रात्रि पडावस्थल (विश्रामस्थल)मा स्वागतको तयारी थालिएको छ ।
मिथिलाको महाकुम्भ भनिने १५ दिने परिक्रमा यात्रा बिहीबार सुरु भएको छ । यात्रीका लागि पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका तयारी गरिएको हो । जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौं र आठौँ दिनका रात्रि विश्रामस्थल रहँदै आएका छन् ।
धनुषाको मिथिलाविहारी–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट मिथिलाविहारीको प्रतिमा डोलामा राखी सुरु भएको यात्रा जनकपुरधाम–८ स्थित अग्निकुण्डको सुन्दर सदनबाट किशोरीजीको डोला लिँदै अघि बढेको छ । पहिलो दिन धनुषाको हनुमानगढीमा रात्रि विश्राम गरेको परिक्रमाको टोली आज दोस्रो दिन रात्रिबासका लागि भारतको मधुवनी जिल्लामा पर्ने कलना पुगेको छ ।
शनिबार मधुवनीकै फूलहर रात्रि बासपछि यात्री आइतबार मटिहानीबाट महोत्तरी प्रवेश गर्ने छन् । “हामी यात्रीको स्वागत, सत्कार र आवश्यक प्रबन्धमा जुटेका छौँ, परिक्रमा यात्रीको स्वागत हाम्रा लागि एक विशेष अवसर मानिदै आएको छ”, मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “यस कार्यमा नगरवासीले आफ्नो सामथ्र्य लुकाउँदैनन्, मन, वचन र कर्मबाट सबैले सहयोग गर्दै आएका छन् ।”
पडावस्थलमा सो दिन परिक्रमा मेलाको परम्परा रहँदै आएको छ । यात्रामा सहभागी हुन नसकेका सर्वसाधारण आफ्नो ठाउँमा आइपुगेको श्रीराम र सीताजीका प्रतिमा राखिएका डोलाको दर्शन गरेर पुण्यको कामना गर्छन् । मेलामा हजारौँ सर्वसाधारणको सहभागिता हुने हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त स्थानीय स्वयंसेवक परिचालन गर्ने गरिएको उहाँले बताउनुभयो ।
महोत्तरीमा पर्ने रात्रि विश्रामस्थलहरु मटिहानी, जलेश्वर, महोत्तरी, बलवा र भङ्गाहासहित पाँचवटै स्थानीय तहमा यात्रीको सुविधा प्रबन्धका लागि सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, व्यापारी र सर्वसाधारण समन्वय गरिरहेका छन् ।
नेपालतर्फ महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको कुल एक सय ३३ किलोमिटर वृतभित्र माध्यमिकी यात्रा गरिन्छ । जसमध्ये नेपालतर्फ एक सय सात किलोमिटर र भारततर्फ २८ किमी दूरी रहेको छ ।
यात्राको मुख्य संयोजन स्थानीय तह, धार्मिक तथा सामाजिक सङ्घसंस्था र मठमन्दिरको समन्वयमा वृहत्तर जनकपुर क्षेत्र विकास कोष (परिषद्)ले गर्दै आएको छ ।
—