Prakash Adhikari March 4, 2025

काठमाडौं, २० फागुन। नेपाल उद्योग वाणिज्य महासंघ र आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कागज उद्योगमा पनि प्रवेश गर्नुभएको छ । उहाँको लगानीमा स्थापना भएको नेपालकै सबैभन्दा ठूलो कागज उद्योग व्यापारिक उत्पादन थालिसकेको छ ।

२०७८ मा शिलान्यास भएको ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ यसै हप्ता उद्घाटनको तयारीमा रहेको छ ।

नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले कागज उद्योग स्थापना गरेको अध्यक्ष ढकालले बताउनुभएको छ ।

उत्पादन सुरु भए पनि उद्योगको औपचारिक उद्घाटन भने यसै साता हुने भएको छ । उद्योगको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने तय भएको छ ।

स्वदेशी कच्चापदार्थ र जनशक्तिको प्रयोग गरी उच्च गुणस्तरीय कागज उत्पादन गर्ने यस उद्योगले प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी दिनेछ ।

हाल उद्योगको दैनिक कागज उत्पादन क्षमता ७५ मेट्रिक टन रहेको यस उद्योगले केही समयभित्रै क्षमता दोब्बर गरी दैनिक १५० मेट्रिक टन कागज उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन कागज खपत हुने गरेको तथ्यांक छ । नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएपछि कुल मागको करिब ३० प्रतिशतभन्दा बढी कागज स्वदेशमा नै उत्पादन भई पूरा हुने छ ।

भन्सार विभागकाको तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालले ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कागज आयात गरेको थियो ।

बैंक तथा वित्तीय संस्था, बीमा, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि जस्ता सेवा क्षेत्रमा संलग्न हुँदै आउनुभएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ मार्फत उत्पादनमूलक क्षेत्रमा पनि प्रवेश गर्नुभएको छ ।

Share Now