
काठमाडौं, २९ असार । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको नियमित मर्मत सम्भार नहुँदा र पछिल्लो समय बढ्दै गएको उडान चापका कारण धावनमार्गमा प्वाल पर्ने समस्या बढेको अधिकारीहरूले बताएका छन्।
त्यसका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यो हप्ता थुप्रैपटक विमानस्थल नै बन्द गर्नु परेको जनाइएको छ।
अर्को अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसक्दासम्म यस्तो समस्या दोहोरिरहने विज्ञहरूले बताएका छन्।
वर्षा सुरु भएसँगै देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा फेरि समस्या देखिन थालेको छ।
हरेक १० वर्षमा पिच गर्नुपर्ने हुन्छ त्यो नभएकोले समस्या देखिएको हो
राजकुमार क्षेत्री, महाप्रबन्धक
समस्या
विगतमा झैँ यसपटक पनि धावनमार्गमा भ्वाङ पर्न थालेको र यसले नियमित उडानलाई प्रभावित पार्न थालेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री बताउँछन्।
उनले भने, “धेरैजसो ट्याक्सी वेमा भ्वाङ् पर्छ, धावनमार्गम पनि देखिन्छ। हामी बन्द गर्छौं अनि मर्मत गर्छौं। यो सातामा मात्र मंगलवार र बिहीवार आधा घण्टा जस्तो बन्द गर्न परेको थियो। हरेक १० वर्षमा पिच गर्नुपर्ने हुन्छ त्यो नभएकोले समस्या देखिएको हो।”
वर्षा नसकिँदासम्म प्वालपरेका धावनमार्ग टालटुल गरेरै काम चलाउनुको विकल्प नभएको क्षेत्रीले बताए।
यस्तै धावनमार्गको क्षमता भन्दा धेरै र ठूला जहाजले उडान भर्ने कारणले पनि समस्या थपिँदै गएको विज्ञहरू बताउँछन्।
लामो समय विमानस्थल बन्द गरेर मर्मत गर्न सकिँदैन त्यसैले अर्को विमानस्थल छिट्टै संचालनमा ल्याउनुको अर्को विकल्प हामीसंग छैन
विमलेशलाल कर्ण, पूर्व प्रमुख, एअर ट्राफिक सर्भिस शाखा
विकल्प
त्यस्तै मध्येका एक, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हवाई ट्राफिकसंग सरोकार राख्ने निकाय एअर ट्राफिक सर्भिस शाखाका पूर्व प्रमुख विमलेशलाल कर्णले भने, “घाम लागे पनि पिचमा समस्या आउँछ त्यस्तै वर्षा हुँदा पिचभित्र पानी पस्छ अनि ठूलो जहाज अवतरण गर्दा प्वाल पर्छ। यति धेरै र वाइड बडी जहाज उडाउने भने बनेकै हैन यो धावनमार्ग। लामो समय विमानस्थल बन्द गरेर मर्मत गर्न सकिँदैन त्यसैले अर्को विमानस्थल छिट्टै सञ्चालनमा ल्याउनुको अर्को विकल्प हामीसंग छैन।”
त्रिभुवन विमानस्थलमा हाल दैनिक ३ सय भन्दा बढी उडान हुने गरेको छ।
विदेशी पर्यटक आउने समयमा यो संख्या निक्कै बढ्ने गर्छ।
यति धेरै उडान हुने विमानस्थलको धावनमार्ग जस्तो संवेदनशिल विषयलाई अधिकारीहरुले समयमै समाधान नगर्ने परिपाटिले त्रिभुवन विमानस्थलमाथि सुरक्षाको प्रश्न खडा गर्ने संभावना बढ्दै जाने जानकारहरु बताउँछन् ।
बीबीसीबाट