Prakash Adhikari March 4, 2025
काठमाडौँ, २० फागुनः नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना गरिएको छ । आजदेखि सुरु भएको विश्वकै ठूलो पर्यटन व्यापार मेला आइटिबी बर्लिन–२०२५ मा पभेलियनमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको हो ।
नेपाल पर्यटन बोर्डले आइटिबी बर्लिनमा स्थापना गरेकोे नेपाल पभेलियनको उद्घाटन गर्दै  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालका अद्वितीय पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्दै नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रवर्द्धन गरिने बताउनुभयो ।
नेपालको पर्यटन प्रबर्द्धनका लागि आइटिबी बर्लिन–२०२५ एक बृहत् अन्तरराष्ट्रिय मञ्च भएको उल्लेख गर्दै उहाँले नेपालको दिगो पर्यटन प्रतिबद्धतालाई विश्वसामु प्रस्तुत गर्ने अवसरका रूपमा सदुपयोग गरिने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
     जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीलगायत नेपाल र विभिन्न देशका पर्यटन व्यवसायीको त्यहाँ सहभागिता रहेको छ । पर्यटन बोर्डले नेपाललाई विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन आइटिबी बर्लिन–२०२५ मा २८ प्रतिष्ठित एडभेन्चर टुरिजम, सांस्कृतिक अन्वेषण, ट्रेकिङ र प्रिमियम आतिथ्य सेवाजस्ता पर्यटन व्यवसायीको सहभागिता गराएको जनाएको छ ।
बोर्डले नेपाललाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यले देशका अद्वितीय प्राकृतिक सौन्दर्य, साहसिक पर्यटकीय क्षेत्र, समृद्ध सांस्कृतिक धरोहरलगायत क्षेत्रलाई नेपाल पभेलियनमा प्रस्तुत गरिने जनाएको छ ।
आइटिबी बर्लिनजस्तो प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कम्पनीहरूको सहभागिताले नेपालका पर्यटकीय आकर्षणहरूलाई प्रवर्द्धन गर्ने एउटा सुनौलो अवसर भएको बोर्डका सिइओ जोशीले बताउनुभयो । कार्यक्रमले नेपालका विविध पर्यटन क्षेत्रहरूलाई प्रवर्द्धन गर्नका साथै, अन्तर्राष्ट्रिय पर्यटन उद्योगसँग साझेदारी गर्ने र नयाँ बजारमा नेपालको पहिचानलाई थप सशक्त बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ ।
सन् १९९६ बाट सुरु भएको आइटिबी बर्लिन विश्वको प्रमुख यात्रा व्यापार मेला हो । आइटी बर्लिन–२०२५ मा विश्वभरका एक सय८० देशबाट १० हजारभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहनेछ । नेपालले यस मेलामा निरन्तर सहभागिता जनाउँदै आएको छ । यस मञ्चलाई नेपालका हिमालमा ट्रेकिङ, सांस्कृतिक अन्वेषण र साहसिक पर्यटनजस्ता विशिष्ट अनुभवलाई विश्वभर चिनाउनको लागि सदुपयोग गर्दै आएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
Share Now