Prakash Adhikari March 5, 2025

भैरहवा (रूपन्देही), २० फागुन : नेपाली कांग्रसले देशभरिरहेका प्रतिनिधिसभाअन्तर्गतका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखलाई भैरहवामा दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरेको छ ।

केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गरेको प्रशिक्षणमा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका एक सय ३० जना क्षेत्रीय सभापति सोही सङ्ख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी जम्मा तीन सय ३० जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्षेत्रीय कार्यसमितिको काम कर्तव्य र अधिकारसहित पार्टीका संरचननबारे सहजीकरण गर्नुभएको थियो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्गठन र समुन्नतिका लागि समय, संयम्, सम्प्रेषण र सहकार्य तथा डा जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद ः नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यासको विषयमा सहजीकरण गर्नुभएको थियो ।

दुई दिने प्रशिक्षण कार्यक्रमले भने क्षेत्रीय प्रतिनिधिमा नयाँ ऊर्जाको सञ्चार गरेको सहभागीहरूले प्रतिक्रिया दिनुभएको छ । उदयपुरका केशबहादुर मगरले प्रशिक्षण कार्यक्रमले आफूहरूलाई नेता बनाएको प्रतिक्रिया दिनुभयो । “देशको नेता बन्न पहिला आफूबाट सुध्रिनुपर्छ, आफू जुन पार्टीमा उभिएको छ सबैभन्दा पहिला त्यसको नीति र विधि मानेर आफू अनुशासित भएर हिँडियो भने मात्र अनुकरणीय हुन्छ ।” मगरले भन्नुभयो “कार्यक्रमले हाम्रो इच्छाशक्ति बढाएको छ, यसले हाम्रो जिल्ला र क्षेत्रमा गएर पार्टीका नीति र विधानअनुसार आफू संयमित भएर फेरि उठ्न सक्छौँ भन्ने विश्वास जागेको छ ।”

यस्तै नुवाकोट क्षेत्र नं १ का रामजी पौडेलले दुई दिने कार्यक्रम अत्यन्तै उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभयो । “पार्टी सञ्चालनको सम्बन्धमा हामीले गर्नुपर्ने दैनिक कामदेखि लिएर नयाँ आएको परिस्थिति, प्रविधिको प्रयोगदेखि लिएर राष्ट्रिय राजनीतिक मुद्दालाई जनस्तरमा कसरी लैजान सक्छौँ भन्ने सिकाइ भएको छ ।” उहाँले भन्नुभयो “पार्टी संयन्त्रलाई त्यसमा कसरी व्यस्थित रूपमा परिचालित गर्न सक्छौँ भन्ने कुराहरू गहन रूपमा छलफल भएको छ ।”

दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्त्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधारका काम, मुलुकको संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तसम्बन्धका विषयकोबारे प्रस्तुति रहेको थियो ।

समसामायिक विषय वस्तुसँग जोडिएका गरि विभिन्न ६ वटा विषयमा प्रस्तुतिकरणसहित छलफल गरिएको र यसलाई सातवटा समूह विभाजन गरेर सहभागीहरूले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतबारे गहन सुझाव प्रदान गरेका छन् । सहभागीहरूले सरकार सञ्चालनमा विषयमा पनि कुरा उठाउनु भएको थियो । जसलाई कांग्रेसका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले जवाफ दिनुभएको थियो ।

सहभागीहरूले उठाएको सवालमा जवाफ दिनुहुँदै परराष्ट्रमन्त्री आरजु राण देउवाले पार्टीलाई ‘आउट अफ फैशन’ नसोच्न आग्रह गर्नुभयो । उहाँले रामायण र महाभारतको उदाहरण दिँदै यी कथा पुरानो नभए जस्तै नेपाली कांग्रेसले लिएको सोच पनि पुरानो नभएको उहाँले स्पष्ट पार्नुभयो । “हामी भनेको हामी नै हौँ, हामीले नेतृत्व गर्छौँ र अगाडि बढाउँछौँ, हाम्रो पार्टीभित्रको कुरा हामीले नै सुधार गर्नुपर्छ”, राणाले भन्नुभयो ।

त्यसैगरी गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगोस शान्तिको स्थापना, विकासको गति अगाडि बढाउँदै सुशासन कायम गर्ने र आर्थिक समृद्धिका साथ अगाडि बढाउने उद्देश्यका साथ एमाले र कांग्रेसलगायत अन्य दलको गठबन्धन बनेको उहाँले बताउनुभयो ।

“यो एक विशिष्ट अवस्था भएकाले यो सरकारलाई नेपाली कांग्रेसका तर्फबाट समस्या उत्पन्न भयो र हामी ठीक ठाउँमा पुग्न सकेनौँ भने यसको दोष नेपाली कांग्रेसले लिनुपर्छ”, लेखकले भन्नुभयो “मुलुकमा अस्थिरता हुने दोष नेपाली कांग्रेसले बोक्नुपर्ने हुनाले ईमान्दारीपूर्वक गठबन्धनलाई साथ लिन जरूरी छ ।” उहाँले व्यावसायिक वातावरण निर्वाह गर्न र दैनिक नागरिकका सेवालाई सरल ढङ्गले सुचारू गर्नको लागि केही अध्यादेश ल्याएको सहभागीलाई जानकारी गराउनुभयो ।

“मेरो प्राथमिकता भनेको अहिलेलाई सबैभन्दा पहिला कानुनी जटिलताको सुधार, मुलुकको आन्तरिक सुरक्षा र शान्तिको स्थितिलाई सुनिश्चित गर्नु हो”, गृहमन्त्रीले भन्नुभयो, “त्यस अर्थमा यता केही महिनामा नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी ऐन, नागरिकतासम्बन्धी विधेयक पेस भएको छ । यी विधेयकलाई तत्काल संसद्मा लैजाने हाम्रो प्रयास छ ।”

नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्नुभएको उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस मात्रको सरकार नभएको कारण सबै हुनैपर्छ भन्ने मासिकता नराख्न सहभागीलाई आग्रह गर्नुभयो । “कहीँ कांग्रेसले मान्नुपर्छ कहीँ एमालले मान्नुपर्छ, मिलाएर लैजानुपर्छ,” सिंहले भन्नुभयो, “फोनमा काम भनेर हँुदैन भन्ने कुरामा म स्पष्ट छु, केही विकास निर्माणको काम भए सिधा मलाई या मेरो सचिवालयमा भेटेर राख्न सकिन्छ ।”

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमलाई कांग्रेस रूपन्देही निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरेको थियो ।

Share Now