
काठमाडौँ, २२ फागुनः विपद् विज्ञहरुले पहिरोको पूर्वानुमान गर्न सकिने विश्वसनीय विधि विकास गर्न सकिने निष्कर्ष निकालेका छन् ।
विगतमा सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरो गएको विषयमा वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो । सो अध्ययनमा सहभागी विज्ञ टोलीले उक्त निष्कर्ष निकालेको हो ।
अध्ययनको नेतृत्व गर्नुभएका त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा रञ्जनकुमार दाहालले अध्ययनको उद्देश्य, अनुसन्धान विधिलगायतबारे जानकारी गराउँदै तथ्याङ्कका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधि विकास गर्न सकिने बताउनुभयो । डा दाहालले यस्तो विधिको विकास गरी जोखिम सञ्चार रणनीति र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उक्त निष्कर्षसहतिको प्रतिवेदन हालै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमासमेत बुझाइएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले प्राधिकरणले विभिन्न विपद्हरुको पूर्वसूचना प्रणाली विकासमा काम गरिरहेकाले सिन्धुपाल्चोकका दुई पालिकामा भएको अध्ययनले महत्त्वपूर्ण आधारका रुपमा काम गर्ने बताउनुभयो ।
अध्ययनले हेलम्बुमा २४ घन्टामा १२४ मिलिमिटर पानी परेमा र पाँचपोखरी थाङपालमा सोही अवधिमा ११८ मिलिमिटर पानी परेमा पहिरो जान सुरु हुने देखिएको छ । मनसुनमा सबैभन्दा धेरै पहिरो जाने जिल्लामध्ये सिन्धुपाल्चोक पनि हो । नेपालका लागि हालसम्म गरिएका अध्ययनका अनुसार प्रति दिन एक सय १५ मिलिमिटरदेखि एक सय ६० मिलिमिटर पानी पर्दा पहिरो निम्तिने गरेको छ ।
उक्त अध्ययनले कति वर्षाले पहिरो जाने कुराको तथ्याङ्कका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधि विकास गर्न सकिने औँल्याएको छ ।
अध्ययनमा वर्षाको मात्राले पहिरो जाने सीमा निर्धारण गर्न सकेमा पहिरोको पूर्व चेतावनी प्रणाली र विपद् जोखिम व्यवस्थापनको रणनीति विकास गर्न सजिलो हुने सुझाव दिइएको छ ।