Prakash Adhikari March 6, 2025

सौतिक बिस्वास । बीबीसी संवाददाता

नयाँदिल्ली(भारत), २२ फागुन । आफ्नो हवाई सेनाको आधुनिकीकरणका क्रममा भारतका सामु महत्त्वपूर्ण छनोटको समय आएको छ – तर के अत्याधुनिक अमेरिकी लडाकु विमान त्यसको जबाफ होरु

गत महिना वाशिङ्गटनको भ्रमणका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेटे। त्यहाँ अमेरिकाले भारतलाई एफ-३५ विमान बेच्ने गरी तारतम्य मिलाउँदै गरिएको ट्रम्पले बताए। उक्त लडाकु विमान अमेरिकाले उसका निकट साझेदारहरूलाई मात्र बेच्ने गर्छ।

एफ-३५ ‘पाँचौँ पुस्ता’को लडाकु विमान हो जसमा पछिल्ला सेन्सरहरू, एआई-निर्देशित कम्ब्याट प्रणाली अनि सहज डेटा शेरिङ्को क्षमता जडित छन्। रेडारलाई छल्न सक्ने गरी बनाइएको यो विमान अहिलेसम्मकै परिष्कृत हो – तर एउटा विमानको मूल्य आठ करोड डलर पर्ने हुँदा सबैभन्दा महँगो पनि हो। दुस्मनले भेउ नपाउने गरी उड्न सक्नु ‘पाँचौँ पुस्ता’का ‘स्टेल्थ’ लडाकु विमानहरूको एउटा प्रमुख विशेषता हो।

छनोटको चुनौती

आफ्नो लडाकु विमानहरूको भण्डार खुम्चँदै गर्दा अनि चीनको सेना चाहिँ विस्तार हुँदै गर्दा भारतका सामु अति महत्त्वपूर्ण छनोट गर्नुपर्ने अवस्था छस् या त अत्याधुनिक तर अति महँगो अमेरिकी एफ-३५ मा लगानी गर्ने या त रुससँगको स्थापित रक्षा सम्बन्ध सुदृढ पार्दै उसको अत्याधुनिक लडाकु विमान सुखोइ एसयू(५७को स्थानीय उत्पादन गर्ने।

गत महिना भारतको दक्षिणी सहर बङ्गलुरुमा भएको एशियाको सबैभन्दा ठूलो हवाई प्रदर्शनमा दुवै थरी जेट देखिएपछि भारतीय आकाशमा अमेरिकी-रुसी लडाकु विमानको सङ्घर्षबारे सञ्चारमाध्यमहरूले बढाइचढाइ गरे ( तर वास्तविकता त्यति सहज नभएको विज्ञहरू बताउँछन्।

ट्रम्पले राखेको एफ-३५को प्रस्ताव व्यावहारिकभन्दा प्रतीकात्मक बढ्ता भएको कार्नजी इन्डावमेन्ट फर इन्टरन्याश्नल पिसका वरिष्ठ अनुसन्धानकर्ता एस्ले जे टेलीसले बताउनुभयो। उहाँका अनुसार अमेरिकी हतियार बेच्ने ट्रम्पको चाहनाले उक्त प्रस्ताव आएको हो।

‘पाँचौँ पुस्ता’का विमानलाई भारतीय वायुसेनामा सम्मेलन गर्ने योजना – हाल जसको केन्द्रमा घरेलु एड्भान्स्ड मिडियम कम्ब्याट एअरक्राफ्ट (एएमसीए) र थप रफाल विमानहरू छन् – लाई यस (अमेरिकी विमान लिने कार्य)ले चुनौती पेस गर्ने छ किनकि यसमा सह-उत्पादनका अधिकार हुने छैनन्। भारतको डिफेन्स रिसर्च एन्ड डिभलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ)ले विकास गर्दै आएको एएमसीए भारतको घरेलु स्टेल्थ फाइटर जेट हो।

“एफ-३५को हकमा सह-उत्पादनका सुविधा हुने सम्भावना कम छ। यसको सोझो विक्री मात्र हुने छ। तर मोदीको मेक इन इन्डिया नारासँग यो मेल नखान सक्छ। साथै एफ-३५को उपयोगमा हुने अनुगमनलाई पनि भारतले नरुचाउन सक्छ”, टेलीसले भन्नुभयो।

चर्को मूल्य, मर्मतसम्भार तथा सञ्चालनका जटिल विषय एफ-३५ किन्ने मार्गका चुनौती हुन्। सुरक्षाविद् स्टिभन ब्रायन भन्नुहुन्छ, “प्रश्न के हो भने के भारत एफ-३५मा अर्बौँ रुपैयाँ लगानी गर्न इच्छुक होला जब उसलाई थाहा छ रुसी जेट किन्दा राम्रो होला भनेर।”

कतिपयले चाहिँ एसयू(५७ अमेरिकी विमानको प्रतिस्पर्धी नहुन सक्ने ठान्छन्। किनभने रुससँगको दशकौँ पुरानो सह-उत्पादन कार्यक्रमबाट सन् २०१८ मै भारत बाहिरिसकेको छ – प्रविधि हस्तान्तरण, लागत बाँडफाँट तथा मापदण्डहरूमा उत्पन्न विवादका कारण।

तुलनात्मक अवस्था
निश्चय नै भारतको वायु सेनाको समयानुकुल विकास भइरहेको छैन र ऊसँग लडाकू विमानको अभाव छ। उसले ३१ वटा लडाकु विमान तथा कम्ब्याट स्क्वाड्रन सञ्चालन गर्छ – मुख्यतस् रुसी तथा सोभियतकालका विमान जुन तोकिएको ४२ भन्दा निकै कम हो। एउटा प्रमुख चुनौती भनेको भारतीय वायुसेना धेरै भर पर्दै आएको रुसी सुखोइ-३० को दीर्घकालीन विकल्प छान्नु हो।

अल्बानी विश्वविद्यालयका राजनीतिशास्त्री क्रिस्टोफर क्लेरीले आईएसएस मिलिटरी ब्यालेन्स फर इन्डियाको एउटा आश्चर्यजनक आँकडा हालै औँल्याएस् सन् २०१४ र २०२४ को बीचमा चीनले ४३५ लडाकु विमान तथा ग्राउन्ड अट्याक विमान थप्यो, पाकिस्तानले ३१ वटा थप्यो। तर भारतको चाहिँ १५१ वटा सङ्ख्या घट्यो।

भारतको लडाकु विमान विस्तारको योजना विशेष गरी स्वदेशमै निर्भर छ। मुख्यतस् लाइट कम्ब्याट एअरक्राफ्टसहित ५०० विमान हासिल गर्ने उसको योजना छ।

त्रियासीवटा तेजास मार्क १ए को खरिद आदेश पुष्टि भइसकेको छ भने थप ९७ वटाका निम्ति आदेश चाँडै हुने अपेक्षा छ।

थप आधुनिक मार्क २ चाहिँ अहिले विकासकै क्रममा छ। स्वदेशी स्टेल्थ विमान कम्तीमा एक दशक टाढा छ।

भारतीय वायुसेनाको २० अर्ब डलर बराबरको मल्टीरोल फाइटर एअरक्राफ्ट (एमआरएफए)कार्यक्रम छ जसअन्तर्गत ११४ वटा विदेशी लडाकू विमान किन्ने योजना छ। तर यसका लागि तिनको उत्पादन भारतमै गरिनु पर्छ र त्योसँगै प्रविधि हस्तान्तरण पनि हुनुपर्छ। यी शर्त यस योजना कार्यान्वयनका निम्ति सबैभन्दा ठूला तगारा देखिएका छन्।

सरकार-सरकारबीच गरिएको सहमतिबमोजिम ३६ वटा (फ्रेन्च लडाकु विमान) रफालको खरिदमा उत्पन्न विवादपश्चात् भारतीय सरकारले पारदर्शी र अविवादित खरिद प्रक्रिया खोजिरहेको छ।

सन् २०१९ देखि रोकिएको सो प्रक्रियामा अहिले पाँच थरी जेट प्रतिस्पर्धामा छन्, र भारतीय वायुसेनामा अहिले नै सञ्चालनमा भएका कारण रफाल त्यसमा अग्रणी देखिन्छ।

तीन तगारा

विज्ञहरूले भारतीय वायु सेनाको आधुनिकीकरणको दिशामा तीन मुख्य तगारा रहेका बताउँछन्स् स्रोत अभाव, ढिलाइ र विदेशी जेटमा निर्भरता।

भारतको रक्षा खर्च यथार्थमा घट्दो छ। विदेशी लडाकु विमान कार्यक्रम लम्बिने जोखिम छ। घरेलु उत्पादनलाई प्राथमिकता दिइए तापनि डीआरडीओको ढिलाइका कारण तत्कालका आवश्यकता पूर्ति गर्न विदेशी जेट किन्नुपर्ने बाध्यता छ र यो क्रम चलिरहेको छ। यो क्रमभङ्ग गर्न क्षमतायुक्त स्वदेशी जेटको समयमा आपूर्ति हुन जरुरी छ।

जेनरल इलेक्ट्रिकको एफ-४०४ जेट इन्जिनको आपूर्ति रोकिँदा पनि यो ढिलाइ भइरहेको हो।

रक्षामन्त्रालयको दुरदृष्टि र भारतीय वायुसेनाको आवश्यकताबीच देखिएको भिन्नता नै मुख्य चुनौती रहेको युरेसिया ग्रुप नामक भूराजनीतिक जोखिम परामर्शदातृ संस्थाका विश्लेषक राहुल भाटियाले बताउनुभयो ।

तेजास मार्क १ बारे वायुसेनाले दिएको सुरुवाती शङ्कामिश्रित टिप्पणीपश्चात् त्यसलाई परिष्कृत गरेर मार्क १ए र मार्क २ बनाइँदै छन्। “तर दशकौँ लामो विकास चक्रले सेनालाई दिक्क बनाएको छ। उनीहरूको आवश्यकता बदलिँदो छ र नयाँ प्रविधिहरू आउन थालेका छन्। त्यसले ढिलाइ झन् लामो हुन थालेको छ”, भाटियाले भन्नुभयो।

भारतीय वायुसेनाका प्रमुख एपी सिँहले ढिलाइप्रति उनको दिक्दारी सार्वजनिक गरेका छन्।

“म बाहिरको केही पनि किन्दिनँ र भारतमै जे विकसित हुन्छ त्यही लिन्छु भनेर वाचा गर्न त सक्छु। तर समयमा नआउँदा त्यो सम्भव नहुन सक्छ”, एअर मार्शल सिँहले हालैको एउटा सम्मेलनमा भन्नुभयो, “सङ्ख्या (लडाकु विमान)को हिसाबमा अहिले हामी खराब स्थितिमा रहेको सबैलाई थाहा छ। हामीलाई भनिएका विमान निकै बिस्तारै हामीकहाँ आइरहेका छन्। त्यसैलै खाली ठाउँ चाँडो भर्ने गरी अन्यत्र हेर्नुपर्ने आवश्यकता हुने छ ।”

उहाँले तेजास मार्क १ए को आपूर्तिमा भइरहेको ढिलाइप्रति इङ्गित गर्दै भन्नुभयो, “गत वर्षकै फेब्रुअरीमा आपूर्ति हुनुपर्ने ती विमानको अझै आपूर्ति हुन सकेको छैन।”

 

भारतको प्राथमिकता भनेको स्वदेशमै निर्मित स्टेल्थ विमान हो। तिनको विकासका निम्ति एक अर्ब डलरको प्रतिबद्धता भइसकेको छ। “भारतको तत्काल जोखिम अवधारणामा परिवर्तन आएको खण्डमा मात्र विदेशी स्टेल्थ जेट खरिदबारे सोचविचार हुन सक्ने छ”, भाटियाले भन्नुभयो। चीनसँग दुई थरी स्टेल्थ लडाकु विमानहरू रहेका छन् – जे-२० र जे-३५ – तर अमेरिकी विमानको तुलनामा तिनको गुणस्तरै कमै हुन सक्छ।

अधिकांश विज्ञहरू भारतले न अमेरिकी न रुसी लडाकु विमान रोज्ने ठान्छन्। “अल्पकालमा तत्काल खरिद गरेर खाली ठाउँ भरिएला। मध्यमकालमा सह(उत्पादनमा ध्यान दिइएला तर दीर्घकालमा चाहिँ प्रस्ट छ – स्वदेशी उत्पादन”, भाटियाले भन्नुभयो।

भारतका निम्ति हवाई शक्तिको भविष्य केवल जेट किन्नुसँग मात्र सम्बन्धित छैन – तिनको निर्माण, अझ कुनै बलियो पश्चिमा साझेदारसँग मिलेर हुने निर्माण महत्त्वपूर्ण हुने छ। तर उक्त दूरदृष्टिको सफलताका निम्ति पहिले त स्वदेशमा निर्मित लडाकु विमानहरूको विकास र आपूर्ति समयमै हुनु जरुरी छ।

Share Now