Prakash Adhikari March 9, 2025

 

काठमाडौं, २५ फागुन । आजदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगतका पहिलो दिनको खेलमा लुम्बिनी, सशस्त्र र कर्णाली प्रदेश विजयी भएका छन् ।

अजय चम्किदा लुम्बिनी विजयी

अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे ।

ओपनर चिराग साह ३१, सुवान गहतराज २९, साकिब हक २७ तथा कप्तान अंकित सुवेदी १८ रनमा आउट भए ।

लुम्बिनीका लागि अजय चौहानले ८.४ ओभरमा ३२ रन खर्चिएर ५ विकेट लिए । रमेश कुर्मीले ३, देव खनाल र कृष्ण कार्कीले समान १ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २ सय ८ रनमा समेटियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ६६ रन जोडे । उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरे । नर सार्की ४५ तथा मिन्राल गुरुङ ४३ रनमा आउट भए ।

कोशीका लागि प्रकाश कार्की र दिपेश कंडेलले समान ३, फिर्दोस अन्सारीले २ विकेट लिए ।

दीपेन्द्रको सात विकेटले कर्णाली बन्यो विजयी

दीपेन्द्र रावतको ७ विकेटको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कर्णालीले आइतवार सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराएको छ । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ रन जोडे । किरण ठगुन्ना १३ रनमा आउट हुँदा शेर मल्ल १३ रनमा नट आउट रहे ।

कर्णालीका लागि दीपेन्द्रले ९ ओभरमा ३३ रन खर्चिएर ७ विकेट लिए । कप्तान दिवान पुनले २ विकेट लिए ।

त्यसअघि दाङको लमहीमा टस जितेर ब्याटिङ रोजेको कर्णाली ४०.४ ओभरमा १ सय ५५ रनमा समेटियो ।

कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ७१ रन जोडे । उनले ९४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । दिनेश अधिकारी १७ तथा कप्तान दिवान १२ रनमा आउट भए ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले ४, नारायण जोशीले २ तथा शेर मल्ल, भोजराज भट्ट र मिलन बोहोराले समान १ विकेट लिए ।

एपीएफको विजयी सुरुवात, कमलले लिए ४ विकेट

तीव्रगतिका बलर कमलसिंह ऐरीले ४ विकेट लिए पछि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।

रुपेन्देहीको एस्ट्राटेक ओभलमा आइतवार एपीएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गर्यो। १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा समेटियो ।

बागमतीका लागि शुभ कसांकार बाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शुभले सर्वाधिक १६ रन जोडे । एपीएफका लागि कमलले ८.२ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । कप्तान रोहितकुमार पौडेल र अमरसिंह राउटेलाले समान २ तथा अभिनाष बोहोराले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४४ ओभरमा १ सय ७४ रनमा समेटिएको थियो । एपीएफका लागि सन्दीप जोराले ६२ बलको सामना गर्दै २ चौकाको सहयोगमा सर्वाधिक ३७ रन जोडे ।

दिपक बोहोरा २५ तथा कमलसिंह १५ रनमा आउट हुँदा अमरसिंह २६ रनमा नट आउट रहे । बागमतीका लागि रिजन ढकालले ८ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । नन्दन यादवले ३ र सुर्य तामाङले २ विकेट लिए ।

एपीएफले बिहीवार एस्ट्राटेकमा मधेश प्रदेशसँग खेल्नेछ । बागमतीले सोमवार सिद्धार्थ मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

 

Share Now