
जेसिका मर्फी / बीबीसी न्यूज
ओटावा(क्यानडा), २७ फागुन । क्यानडाको आगामी प्रधानमन्त्री बन्ने दौडमा जस्टिन ट्रुडोलाई विस्थापित गर्न सफल मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध व्यापार युद्ध जित्ने विश्वास व्यक्त गर्नुभएको छ।
क्यानडा तथा यूकेका केन्द्रीय ब्याङ्कहरूका पूर्व गभर्नर रहिसक्नुभएका कार्नीले लिबरल पार्टीको नेतृत्वको दौडमा अन्य तीन प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछाडि पार्नु भयो।
ट्रम्पविरुद्ध कार्नी
जितपछि गरेको सम्बोधनमा ५९ वर्षीय कार्नीले ट्रम्पको आलोचना गर्नुभयो। ट्रम्पले क्यानडामाथि आयात शुल्क वा ट्यारिफ लगाइदिनुभएको छ अनि क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाइदिने घोषणा गर्नुभएको छ ।
“अमेरिकीहरूलाई हेक्का रहोस्, हक्कीमा जस्तै व्यापारमा पनि क्यानडाले जित्नेछ”, कोर्नीले भन्नुभयो।
आगामी केही दिनमा कार्नीले नयाँ प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने अपेक्षा गरिएको छ। उहाँकै नेतृत्वमा लिबरल पार्टी अर्को आम चुनावमा सामेल हुने छ। चुनावको मिति केही सातामै तोकिने ठानिएको छ।
कार्नीले यसअघि निर्वाचित पद धारण गर्नुभएको छैन।
झन्डै एक दशकसम्म सत्ताको नेतृत्व गर्नुभएका जस्टिन ट्रुडोले गत ज्यानुअरीमा राजीनामा गरेपछि उहाँको दलमा नयाँ नेतृत्वको दौड सुरु भएको थियो।
आवास सङ्कट तथा बढ्दो महँगीका कारण अलोकप्रिय बन्दै जानुभएका ट्रुडोलाई पद त्याग्न आन्तरिक दबाव परेको थियो।
नयाँ आम चुनावको तयारी
आइतवार साँझ भएको लिबरल पार्टीको आन्तरिक चुनावको पहिलो चरणको मतदानमा कार्नीले ८५.९ प्रतिशत मत प्राप्त गरेर उहाँको निकटतम प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई पराजित गर्नुभएको थियो।
उक्त मतदानमा डेढ लाख मतदाताले भाग लिएको उक्त पार्टीले बताएको छ।
अब कार्नीले अल्पमतको सरकारको नेतृत्व गर्नुहुनेछ। उहाँले या त आम चुनावको घोषणा आफैँ गर्नुहुनेछ या विपक्षी दलहरूले उहाँ विरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याएर नयाँ चुनाव घोषणा गर्न बाध्य पार्ने छन्।
यो वर्षको सुरुमा लिबरल पार्टीलाई प्येर पोलिभको नेतृत्वको कन्जरभेटिभ पार्टीले २० अङ्कको फराकिलो अन्तरले जितिरहेको मत सर्वेक्षणहरूले देखाएका थिए।
तर केही साता यता ट्रम्पले व्यापार युद्ध थालेपछि दुई दलबीचको अन्तर घटेर झन्डै बराबरीमा आइपुगेको कतिपय सर्वेक्षणहरूले देखाएका छन्।
कार्नीको भनाई
कार्नीको सम्बोधनको अधिकांश हिस्सा क्यानडाको सबभन्दा ठूलो व्यापार साझेदार अमेरिकाले थोपरेको अनुचित ट्यारिफको विरोधमा केन्द्रित थियो।
“ट्रम्पले क्यानडाका श्रमिक, परिवार तथा व्यापारमाथि धावा बोलेका छन्। हामी उनलाई सफल हुन दिने छैनौँ “, कार्नीले भन्नुभयो।
‘अमेरिकीहरूले हामीप्रति सम्मान नदेखाएसम्म’ अमेरिकी आयातहरूमा पनि क्यानडाले ट्यारिफ लगाइरहने उहाँले चेतावनी दिनुभयो, :मलाई थाहा छ यी अँध्यारा दिनहरू हुन्। यी अँध्यारा दिन अब हामीले विश्वास गर्न नसक्ने देशले निम्त्याएको हो।हामी स्तब्ध त छौँ तर यसको पाठ नभुलौँ । हाम्रो हेरचाह हामी आफैँले गर्नुपर्छ। आगामी कठिन दिनहरूसँग जुझ्न एकताबद्ध हुनुपर्छ।”
अस्तित्व धान्ने चुनौती
कार्नीले देशको सिमाना सुरक्षित पार्ने वाचा पनि गर्नुभयो। ट्रम्पले सिमाना सुरक्षालाई जोड दिने गर्नुभएको छ।
उहाँले विपक्षी कन्जरभेटिभ दलका नेता पोलिभको पनि आलोचना गर्नुभयो।
“पोलिभका योजनाले हामीलाई विभाजित पार्छ र अरूलाई जित्ने मौका दिन्छ। किनभने जसले डोनल्ड ट्रम्पलाई पुज्छ उसले ट्रम्पको अगाडि घुँडा टेक्छ”, उहाँले भन्नुभयो।
कार्नीको सम्बोधनअगाडि जस्टिन ट्रुडोले भावपूर्ण सम्बोधन गर्नुभयो। ट्रुडोले ट्रम्पका कारण क्यानडाले अस्तित्व धान्ने चुनौती बेहोरेको बताउनुभयो।
कन्जरभेटिभ दलहरूले चाहिँ कार्नीलाई जस्टिन जस्तै भनेर आलोचना गर्दै आएका छन्।
पोलिभको दलले कार्नीले लगानी कम्पनी ब्रुकफिल्ड एसेट म्यानेजमेन्टको मुख्यालय टोरन्टोबाट न्यूयोर्क सार्ने काममा उहाँको भूमिकाबारे झुठो बोलेको आरोप लगाउँदै आएको छ। कार्नीले चाहिँ उक्त निर्णय आफूले सो कम्पनीको बोर्ड त्यागिसकेपछि लिइएको भन्नुभएको थियो ।
केन्द्रीय ब्याङ्कका पूर्व गभर्नर कार्नीले खासगरी मध्यमार्गी एजेन्डा बोक्नुभएको छ।
कार्नीले पाइपलाइन निर्माणजस्ता वृहत् ऊर्जा योजना अघि बढाउने, आवास तथा स्वच्छ ऊर्जामा लगानी बढाउने अनि क्यानडाभित्रै (प्रान्तहरू माझ) व्यापार उदारीकरण तीव्र पार्ने भन्नुभएको छ। क्यानडाको व्यापारलाई विविधीकरण गर्ने पनि उहाँले बताउनुभएको छ।