Prakash Adhikari March 13, 2025

काठमाडौं, २९ फागुन । फागु पर्वका अवसरमा संघीय संसदको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँहरुले आफ्नो शुभकामना सन्देशमा यस पर्वले राष्ट्रिय एकता र आपसी सद्भाव अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सभामुखद्वारा मर्यादित र सभ्य तरिकाले होली पर्व मनाउन अपिल
 सभामुख देवराज घिमिरेले फागुपूर्णिमा (होली) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्दै सबैमा प्रेम, शान्ति र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
“फागु पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ । धार्मिक रूपमा भक्त प्रह्लादको कथासँग जोडिएको यो पर्वले जीवनमा सकारात्मक सोच राख्न प्रेरणा दिन्छ । यो विभिन्न जातजाति, धर्म, क्षेत्रका मानिसहरूबीच मेलमिलाप र एकता बढाउने, नेपाली समाजको पहिचान झल्काउने पर्व हो, रङ, रमाइलो र उत्सवमय वातावरणले यस पर्वलाई अझ उल्लासमय बनाउँछ”, सभामुख घिमिरेले भन्नुभएको छ ।
उहाँले पछिल्लो समय फागु पूर्णिमा मनाउने तरिकामा केही विकृतिहरू देखिन थालेको उल्लेख गर्दै  जबर्जस्ती रङ दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थको दुरुपयोग गर्ने जस्ता प्रवृत्तिले चाडको वास्तविक भावना धमिल्याइरहेको उल्लेख गर्नुभएको छ । “नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभौगोलिक विशेषता भएको देश हो । नेपालमा अनेक जाति, भाषा, संस्कृति छन्, आ–आफ्नै मौलिक संस्कृति र चाडपर्व छन् । विविध चाडपर्व र संस्कृतिभित्र नेपाली एकता प्रतिविम्बित छ । नेपालका सबै चाडपर्वका विशेषता भनेको आपसी एकता, सद्भाव, सहकार्य कायम राख्नु रहेको छ”, सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ ।
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
 राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले होली पर्वका अवसरमा हुने  विकृतिलाई निरुत्साहित गर्दै सभ्य रूपमा होली मनाउन सबैमा आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जथाभाबी लोला हान्ने, फोहर पानीको प्रयोग गर्ने, हूलहुज्जत गर्नेजस्ता विकृति पनि देखिन थालेकाले यसो नगर्न आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “सद्भाव,  भ्रातृत्व र विविध रङहरूको पर्व फागु पूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवं विविध रङहरूको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु ।”
नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पर्व एक विशिष्ट पर्व हो । पहाडमा पहिलो दिन र तराई–मधेसमा त्यसको भोलिपल्ट मनाइने यस पर्वलाई मधेस प्रदेश र विशेषगरी मिथिला क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिन्छ । परिवार, आफन्तजन, साथीभाइ जम्मा भई एकअर्कालाई विविध रङ दलेर, टीका लगाएर सांस्कृतिक सद्भाव र सामाजिक सम्बन्ध गाढा बनाउने महत्वपूर्ण पर्वका रूपमा यसलाई मनाउने गरिन्छ । नेपालका अधिकांश जातजाति, भाषाभाषी र समुदायले हर्षोल्लासपूर्वक मनाउने यस पर्वले मनोरञ्जनका साथै भावनात्मक एकता कायम गर्न पनि विशेष भूमिका खेल्दै अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ ।
“पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वहरूका दृष्टिले हामी धेरै सम्पन्न छौँ, विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ । यसको जगेर्ना गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो”, उहाँले भन्नुभएको छ ।
–––
–––
Share Now