
ललितपुर, ३२ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको भावना अनुसार आएको अध्यादेश अनुरुप हुनुपर्ने माग राख्दै जुम्लामा अनसनरत डा. गोविन्द के.सी.का माग सम्बोधन गरि उहाँको जीवन रक्षा गर्न आग्रह गर्नुभएको छ ।
सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेसका सभापति देउवाले डा. गोविन्द केसीको स्वास्थ्य स्थिती थप विग्रदै गएको खबरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘यस्तो स्थिति उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु ।’
उहाँले चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसंग वार्ता गरि माग सम्बोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण गराउनु भएको छ ।
उहाले आफ्नो नेतृत्वको सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको उल्लेख गर्दै सो अध्यादेश डा. केसीसंगको वार्ता, सरोकारवालाहरुसंगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर ल्याइएको बताउनु भएको छ ।
उहाले भन्नुभएको छ, त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेकसम्मत हल हुने मेरो दृढ निश्कर्ष छ ।
शासन संचालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउने प्रसंग उल्लेख गर्दै कांग्रेस सभापति देउवाले डा. केसीको जीवनमा तलमाथि हुनसक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको त छैन भन्ने गम्भिर आशंका उठाउनु भएको छ।
उहाँले चेतावनी दिदै भन्नुभएको छ , ‘अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भिर घात हुने चेतावनी समेत दिन चाहन्छु ।’