
काठमाडौँ, ५ चैतः हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’ को तेह्रौँ संस्करण नेपालमा सोमबारदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभागलगायत संस्थाको सहकार्यमा कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवा छनोट गर्नुपर्ने धारणा राख्नुभयो । “बैङ्क तथा वित्तीय संस्थाका आ–आफ्नै ‘प्रडक्ट’ हुन्छन् । बचत र कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन् । आपूmलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
पछिल्लो समय डिजिटल वित्तीय कारोबार विस्तारसँगै चुनौतीसमेत थपिएको उल्लेख गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गर्नुभयो । कार्यक्रममा डेपुटी गभर्नरद्वय डा नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैङ्कका कार्यकारी निर्देशक, निर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैङ्करको उपस्थिति रहेको थियो । कार्यक्रममा काठमाडौँस्थित विभिन्न विद्यालयका कक्षा ७ देखि ९ सम्म अध्ययनरत करिब छ सय विद्यार्थीको सहभागिता थियो ।
यही चैत १० गतेसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत राष्ट्र बैङ्कको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन हुने जनाइएको छ । बीमा प्राधिकरण, धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैङ्किङ इन्स्टिच्युट लिमिटेडबाट अलग–अलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैङ्क तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ‘ग्लोबल मनी विक’ लक्षित कार्यक्रम सञ्चालन गर्नेछन् । यसैगरी, विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाका क्रियाकलाप अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उक्त अभियानबाट विद्यार्थीमा वित्तीय साक्षरताको प्रवरद्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
‘ग्लोबल मनी विक’ मूलतः किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा यो अभियान थालिएको हो । अर्गनाइजेसन फर इकोनोमिक कोअप्रेसन एन्ड डेभलपमेन्ट (ओइसिडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैङ्कको संयोजनमा सन् २०१३ देखि नेपालमा पनि यो अभियान सञ्चालन गरिँदै आइएको छ ।
यस अभियानबाट हालसम्म विश्वका एक सय ७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओइसिडीले जनाएको छ । अभियानको स्थायी नारा ‘सिक, बचाउ, कमाउ’ (लर्न, सेभ, अर्न) रहेको छ ।