Prakash Adhikari March 20, 2025
लुम्बिनी, ७ चैतः लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ । बिहीबार बिहान ८ बजेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हँुदैछ । यस वर्ष प्रदेशभर ९४ हजार नौ सय ८ परीक्षार्थी सहभागी हुनेछन् ।
परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न तीन सय ४८ परीक्षा केन्द्र तोकिएको छ भने आठ हजार छ सय कर्मचारी परिचालन गरिने छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी पूरा भएको छ । “परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “अब विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।”
यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार छ सय २३ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङमा १४ हजार दुई सय ५४, कपिलवस्तुमा नौ हजार चार सय ६१, बाँकेमा १० हजार दुई सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा चार हजार नौ सय १०, गुल्मीमा चार हजार आठ सय ५७, अर्घाखाँचीमा तीन हजार चार सय ६५, रोल्पामा चार हजार सात सय ६५, प्यूठानमा चार हजार नौ सय ४०, बर्दियामा सात हजार सात सय ६२, नवलपरासी पश्चिममा छ हजार तीन सय ९७, रुकुमपूर्वमा एक हजार दुई सय परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ७४ हजार पाँच सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार तीन सय १० परीक्षार्थीले परीक्षा दिनेछन् ।
यसैगरी, प्राविधिक धारतर्फ तीन हजार एक सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् । परीक्षा निष्पक्ष र मर्यादित बनाउन आठ हजार छ सय कर्मचारी परिचालन हुँदैछन् । केन्द्राध्यक्ष ३४८ जना, सहायक केन्द्राध्यक्ष ६३४, निरीक्षक चार हजार ७५८, सहायक ९५८ र कार्यालय सहयोगी एक हजार ९०२ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ ।
मुख्यमन्त्रीको आग्रह : ढुक्क भएर परीक्षा दिनुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसइई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन आग्रह गर्नुभएको छ ।
उहाँले परीक्षा जीवनको एउटा महत्त्वपूर्ण चरण भए पनि यसको दबाब नलिइ आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गर्नुभएको हो । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् ।

उक्त परीक्षामा साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिकतर्फ एक सय छ, नियमिततर्फ तीन हजार चार सय ४४ र ग्रेड वृद्धितर्फ दुई सय २४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत लोकप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा नौ हजार हजार पाँच सय १३ र सबैभन्दा कम परीक्षार्थी डोल्पामा सात सय ७७ जनाले परीक्षा दिँदैछन् ।

यस्तै, दैलेखबाट छ हजार एक सय ९६, जाजरकोटबाट चार हजार छ सय ६८, सल्यानबाट चार हजार दुई सय ६९, कालिकोटबाट चार हजार ८९, रुकुमपश्चिमबाट तीन हजार छ सय ६८, जुम्लाबाट दुई हजार छ सय ८१, हुम्लाबाट एक हजार एक सय चार र मुगुबाट नौ सय सय ४६ परीक्षार्थी परीक्षा दिने सूचना अधिकारी पौडेलले बताउनुभयो ।

यसैगरी, १० जिल्लामा एक सय ८० केन्द्र रहेकामा सुर्खेतमा सबैभन्दा धेरै ३३ र डोल्पामा सबैभन्दा कम चारवटा परीक्षा केन्द्र रहेका छन् । केन्द्राध्यक्ष एक सय ८०, सहायक केन्द्राध्यक्ष दुई सय ५२, निरीक्षक एक हजार आठ सय ९५, परीक्षा सहायक तीन सय ८०, कार्यालय सहयोगी सात सय ५८ र सुरक्षाकर्मी दुई हजार सात सय गरी जम्मा छ हजार एक सय ६५ जनशक्ति परिचालन हुने निर्देशनालयले जनाएको छ ।

सूचना अधिकारी पौडेलले कर्णाली प्रदेशका १० वटै जिल्लामा आवश्यक उत्तरपुस्तिका पुगिसकेको र जिल्लाका इकाई प्रमुखहरूसँग परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धमा दुईदिने अभिमुखीकरण कार्यक्रम पनि गरिसकेको बताउनुभयो । यस्तै, परीक्षा सञ्चालन र व्यवस्थापनतर्फको खर्च रकम पनि सबै जिल्लामा पठाइसकिएको उहाँको भनाइ छ । शिक्षा विकास निर्देशनालय सुर्खेतले परीक्षा व्यवस्थापन गर्न परीक्षा केन्द्रका लागि रु एक करोड २४ लाख ९५ हजार सात सय ५०, इकाईका लागि रु १४ लाख ३४ हजार सात सय ५० गरी जिल्लामा जाने कुल बजेट रु एक करोड ३९ लाख ३० हजार पाँच सय छुट्याएको जनाएको छ ।

Share Now