Prakash Adhikari March 28, 2025

काठमाडौं, १५ चैत्र । नेपालमा राजसंस्था र हिन्दु राज्य कायम गराउने घोषित लक्ष्य लिएर शान्तिपूर्ण आन्दोलन गर्न अग्रसर भएका राजावादीहरुको आन्दोलन अनियन्त्रित बनेर हिंसात्मक स्वरुप लिएको छ । आन्दोलनकारीहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेका छन् । अन्नपूर्ण दैनिकको कार्यालयमा तोडफोड गरेका छन् । माओवादीको कार्यालय रहेको पेरिस डाँडामा मोटरमा आगजनी गरेका छन् ।कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेका छन् ।

आन्दोलन नियन्त्रण गर्ने क्रममा प्रहरीबाट पनि अश्रग्यास प्रहार भएको छ । तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा त्यहाँ आगजनी, तोडफोड र लुटपाट भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थिति नियन्त्रणमा लिनका लागि उक्त निर्णय गरेको हो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले स्थिति नियन्त्रणमा लिनका लागि तीनकुने, सिनामङ्गल, कोटेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको जानकारी दिनुभएको छ ।

सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यमहरूमा उक्त क्षेत्रमा प्रहरीले कर्फ्यू समय सुरु हुन लागेको भन्दै सर्वसाधारणलाई सुरक्षित रूपमा घर फर्कन आग्रह गरेको भिडिओहरू पनि आएका छन्।

तीनकुनेमा तोडफोड, आगजनी र लुटपाट

नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले तीनकुने क्षेत्रको अवस्था अझै तनावग्रस्त रहेको बताउनुभएको छ।

उहाँले राजसंस्था पक्षधर प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरेको बताउनुभयो ।

“केही घाइते भएका छन्। आगजनी, तोडफोड, र लुटपाट भएको छ,” आचार्यले भन्नुभयो।

“स्थिति अझैसम्म तनावग्रस्त छ।”

राजावादीहरूको प्रदर्शन तथा सभास्थल रहेको काठमाडौंको तीनकुनेस्थित एउटा निजी भवनमा आगलागी भएको छ।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएकै बेला त्यहाँ आगलागी भएको हो।

प्रदर्शनकारीहरूले उक्त घरमा आगो लगाइदिएको दाबीसहितको विवरण पनि आएको छ तर त्यसको आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन।

‘त्यहाँ आगलागी भएको छ, तर प्रदर्शनकारीले दमकललाई जानका लागि रोकेकाले त्यसलाई नियन्त्रण गर्न कठिनाइ भइरहेको छ”, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोकुमार भण्डारीले भन्नुभयो।

“सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर आगो निभाउने प्रयास गरिरहेका छन्।”

उक्त क्षेत्रमा स्थिति केही तनावपूर्ण बनेको र अझै पनि झन्डै ५० प्रदर्शनकारीहरूले प्रहरीलाई ढुङ्गा हानिरहेको उहाँले बताउनुभयो।

तीनकुनेमा झडप

राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीहरूबीच काठमाडौंको तीनकुनेमा झडप भएको विवरणहरू आएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरू र टेलिभिजनमा प्रसारित दृश्यमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार र पानीको फोहरा प्रहार गरेको देखिएको छ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको दाबी गरिएको छ।

 

Share Now