Prakash Adhikari April 3, 2025

 

बेंगलुरु(कर्नाटक, भारत), २१ चैत्र(एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत बुधबार राति भएको खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ८ विकेटले पराजित गरेको छ ।

एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा बेंगलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको लगातार दोस्रो जितमा जोस बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन जोडे । उनले ३९ बलको सामना गरेर ५ चौका र ६ छक्का प्रहार गरे ।

तेस्रो विकटका लागि बटलरले शरफन रदरफोर्डसँग ६३ रनको विजयी साझेदारी गरे । रादरफोर्ड १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३० रनमा नट आउट रहे ।

दोस्रो विकेटका लागि बटलरले साई सुदर्शनसँग ७५ रनको साझेदारी गरे । ओपनर सुदर्शन ३६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४९ रनमा आउट भए ।

कप्तान समेत रहेका अर्का ओपनर शुभमन गिल १४ बलमा १४ रन जोडे ।

गुजरातलाई रोक्ने क्रममा बेंगलुरुका लागि जोस हेजलवुड र भुवनेश्वर कुमारको नाममा समान १ । १ विकेट रह्यो ।

त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

बेंगलुरुका लागि लियम लिभिङ्स्टोनले ४० बलमा १ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५४ रन जोडेका थिए । जितेश शर्मा २१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३३ रनमा आउट भएका थिए ।

टिम डेबिड १८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रनमा आउट भएका थिए । ओपनर फिल साल्ट १३ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाएका थिए ।

कप्तान रजत पाटीदार १२ बलमा १२, कुर्नाल पाण्ड्या ५ बलमा ५ तथा विराट कोहली ६ बलमा ७ रन जोड्दै आउट भएका थिए ।

बंगलुरुलाई रौक्ने क्रममा गुजरातका लागि मोहम्मद सिराजले ३, साई किशोरले २ तथा प्रसिद्ध कृष्णा, अर्शद खान र इशान्त शर्माले समान १ । १ विकेट लिए ।

गुजरातले खेलेको ३ खेल मध्ये २ मा जित र १ मा हारका साथ अंक तालिकाको चौथो स्थानमा यथावत छ । गुजरात पहिलो खेलमा पञ्जाब किंग्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा भने मुम्बई इण्डियन्सलाई हराएको थियो ।

तेस्रो खेलमा पहिलो हार बेहारेको बेंगलुरु ४ अंकका साथ तेस्रो स्थानमा छ । बेंगलुरुले पहिलो खेलमा कोलकातालाई पराजित गरेको थियो । बेंगलुरुले दोस्रो खेलमा चेन्नईलाई १७ वर्ष पछि उसको घरेलु मैदान चेपकमा हराएको थियो ।

 

Share Now