Prakash Adhikari April 15, 2025

काठमाडौँ, २ वैशाख । विक्रम संवत् २०८२ साल पहिलो दिन वैशाख १ गते सम्पूर्ण नेपालीहरुले हर्षोल्लासपूर्वक मनाएका छन् । धार्मिक प्रवृत्तिका नेपालीहरुले मन्दिरहरुमा पूजा आराधाना गरेर नयाँ बर्ष मनाएका छन् भने घुमफिर गर्ने प्रवृत्तिका नेपालीहरु नयाँ वर्षको अवसर पारेर देशका पयटकीय सुन्दर स्थानहरुको भ्रमणमा निस्केका छन् । देशभर कतिपय स्थानमा महोत्सव आयोजना गरिए भने कतिपय पालिकाले भ्रमणवर्षको शुभारम्भ गरे । नयाँ बर्षको अवसरमा लाग्ने जात्रा र पर्वहरुले नयाँ वर्ष २०८२ को पहिलो दिन मुलुकभर हर्षोल्लासमय वातावरण सिर्जना भयो । नयाँ वर्षमा एकआपसमा शुभकामना आदानप्रदान गर्नु नेपालीहरुको संस्कृति नै बनिसकेको छ ।

वर्षको पहिलो दिनमा धेरैजसोले मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाउने प्राचीन कालदेखिको परम्परा छ । यस दिनलाई विषु संक्रान्ति पनि भनिन्छ । बर्षभरि आफूलाई ग्रहदशा नलागोस् नवग्रह शान्त रहून भनेर स्वस्ति,शान्ती,रुद्री, जप,पाठ र भगवान शिवजीको विशेष पूजाआराधना गर्ने परम्परा पनि रहिआएको छ ।

हरेक व्यक्तिले यस दिन गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरे । बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ ।

विश्वका कुनाकुनामा पुगेका नेपालीहरुले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाएका छन् । साथीभाई एवं इष्टमित्रसँग भेटघाट गर्ने, मठ मन्दिर, उद्यान, स्मारक जस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य सोमवार दिनभरि सामाजिक सञ्जालमा तस्विर र भिडियोमार्फत शेयर गरिएको थियो ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउनुहुन्छ । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाई छ । सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको छ । कलि युग सुरु भएको ३ हजार ४६ वर्षपछि विक्रम संवत् आरम्भ भएको हो ।

राष्ट्रपति पौडेलद्वारा आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८२ को पहिलो दिन हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ गर्नुभयो ।

काठमाडौँस्थित नागार्जुन नगरपालिका–३ हल्चोकस्थति हल्चोक आकाश भैरव मन्दिर पुगेर उहाँले जात्राको शुभारम्भ गर्नुभएको हो ।

त्यस अवसरमा प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति पौडेलले आकाश भैरव तथा देवगणकों पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको थियोे ।

पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको चाप

विक्रम संवत्अनुसारको नयाँ वर्षको पहिलो दिन राजधानीमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको थियो ।

नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाखौँ भक्तजनको लाम लाग्ने भएकाले बिहान ३ः३० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो ।

नयाँ वर्षको पहिलो दिन सोमबार पनि परेकाले धेरै भक्तजन पशुपति क्षेत्रमा जम्मा भएका थिए । नयाँ बर्षको पहिलो दिन पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा भक्तजनको लाम लाग्ने गर्छ । पशुपति क्षेत्रमा सोमवार भारतीय दर्शनार्थीको पनि घुइँचो लागेको थियो । प्रत्येक वर्ष चैत र वैशाख महिनामा भारतीय दर्शनार्थी पशुपतिनाथ र गुह्येश्वरीको दर्शनका लागि धेरै आउने गरेको कोषले जनाएको छ ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरी, जयबागेश्वरी, वत्सलेश्वरी, चन्द्रविनायक, पशुपति क्षेत्र बाहिरका गोकर्णेश्वर, चामुण्डामाई, सुन्दरीमाई, नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शोभाभगवती, श्वेतकाली, रक्तकाली, बिजेश्वरीलगायत मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।

नयाँ वर्षको सूर्योदयसँगै नित्य कर्म सकी मठमन्दिरमा पूजा, आराधना र दर्शन गर्न जाने बढी हुने भएकाले काठमाडौँ उपत्यकाका मठमन्दिरमा भक्तजनको घुइँचो देखिएको हो ।

वाग्द्वार स्नान मेलामा हजारौँको घुइँचो

नयाँ वर्षको सूर्योदयसँगै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक क्षेत्रमा मानिसको भीड बढ्दै गयो ।

यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ । मेला भर्न सोमवार बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो । कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगेका थिए । आइतबार बेलुकी नै पुगेका भक्तजन बिहानै स्नान गरी फर्केका थिए । वाग्द्वार आउने जाने भक्तजनले सुन्दरीजल क्षेत्र मेलामय बनेको थियो । बूढानीलकण्ठ क्षेत्रमा पनि यस्तै दृश्य देखिएको जनाइएको छ ।

पाँच वर्ष अघि वाग्द्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वाग्द्वारको प्रचारप्रसार गर्न गोकर्णेश्वर नगरपालिकाले महोत्सवको आयोजना गरेको थियो ।

यसैगरी बूढानीलकण्ठ नगरपालिकाले पनि बेला बेलामा यस्ता कार्यक्रम आयोजना गर्ने गरेको छ । जसबाट वाग्मती नदीको शिरो भाग वाग्द्वार क्षेत्रको प्रचारप्रसार हुने गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र काठमाडौँ र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नववर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ ।

आज यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन वाग्मतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वास समेत छ ।

वैशाख महिना र वाग्मतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारदेखि वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा गर्ने विधान छ । विसं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ । २०७५ र २०७६ गरी दुई वर्ष गरिएको वाग्मती तीर्थयात्रा त्यसपछिका केही वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको थियो । कोरोना महामारी कम भएपछि पनि तीर्थयात्रा गराउने आगमघरका पुजारीको स्वास्थ्यका कारण तीर्थयात्रा हुन सकेको छैन ।

टोखाको सपनतीर्थमा मेला

काठमाडौँको उत्तरी क्षेत्र टोखामा पनि नयाँ वर्षको अवसरमा सपनतीर्थ मेला लागेको थियो । टोखा नगरपालिका–२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज बिहानदेखि घुइँचो लागेको थियो ।

प्रत्येक वर्षको वैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका दर्शनार्थीको भीड लागेको छ । एक दिन मात्र लाग्ने मेलामा बिहानदेखि हजारौँ भक्तजनले मेला भरेको टोखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मेला भर्न आएका भक्तजनले मन्दिरमा पूजा गर्ने, स्नान गर्ने, भाकल गर्नेसमेत गरेका छन् ।

सपनतीर्थ मन्दिरमा पूजापाठ गर्ने तथा स्नान गर्नाले सन्तान प्राप्त हुने र सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सपनामा चिताएको हरेक कुरा पूरा हुने भएकाले सो मन्दिरमा दर्शन तथा स्नान गर्ने गरिन्छ । सपनतीर्थ मेला टोखामा आज एक दिन मात्र लाग्ने भए पनि वैशाख २ देखि ४ गतेसम्म तीन दिन खट जात्रा (सिन्दूर जात्रा) हुनेछ । टोखाको विशेष पर्व उत्सवका रूपमा यो जात्रालाई लिने गरिन्छ ।

बाजागाजाको मौलिक धुनमा भ्रातृत्व र सद्भाव र शिष्टताका साथ धुमधामसँग यो पर्व मनाइन्छ । टोखावासीको एकताको प्रतीकका रूपमा यस जात्रालाई लिने गरिन्छ ।

साँखुमा बज्रयोगिनी माई जात्रा

नेपाल शिरोमणिसमेत भनिने बज्रयोगिनी माईको जात्रा साँखुमा सुरु भएको छ । चैत्र शुक्ल अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । औपचारिक जात्रा भने चैत्र शुक्ल पूर्णिमादेखि नै सुरु हुन्छ ।

नेवारी परम्पराअनुसार चैत्र शुकल अष्टमी अर्थात् गत चैत २३ गतेदेखि नै साँखु बजारमा छालाको जुत्ता निषेध गरिएको छ । यो जात्रा चलेका बेला पानी पर्दासमेत साँखुमा छाता ओढ्न नपाइने नियम छ । यसैगरी घोडा हात्ती चढ्न नपाइने, घर भत्काउन र नयाँ बनाउन नपाइने, छतमा चढेर काम गर्न नपाइने जस्ता नियम लागू भएको छ ।

साथै झै–झगडा गर्न नपाइने, साहुले ऋणीलाई समात्न नपाइने, यी र यस्ता नियमहरु उर्दी लाउने परम्परा छ । पूर्णिमाका दिन चैत ३० गते बज्रयोगिनी माता, सिंहिणी, व्याघ्रिनीलगायत देवीदेवता रथमा सवार गराइ बज्रयोगिनीबाट साँखु बजार ल्याइएको छ । यो जात्रा साँखुका आठ वटै टोलमा प्रत्येक वर्ष पालैपालो राख्ने परम्परा रहेको स्थानीयवासी बताउँछन् ।

यो जात्रालाई साँखुको मात्रै हैन उपत्यकाकै विशेष जात्राको रुपमा लिइन्छ । यहाँको रथ ठूला ठूला हुने र देवी देवता पनि खुला रुपमा राखिने हुँदा अन्य सहरहरुमा हुने जात्राको तुलनामा देवीदेवताको मूर्ति भव्य देखिने गर्छ ।

पूर्णिमादेखि सुरु हुने जात्रामा प्रतिपदाको दिनलाई शून्यका भनिन्छ । द्वितीयाको दिनलाई नखः र तृतीयाको दिन साँखु बजारमा बज्रयोगिनी माईलाई सिंहिणी, व्याघ्रिनीलगायत बसुन्धरा माताको समेत नगर परिक्रमा गराइन्छ ।

चतुर्थीको दिनलाई मू–भुज्या भनिन्छ भने पञ्चमीको दिनलाई धुँभूज्या र षष्ठीको दिनलाई बौविज्या भनिन्छ । सप्तमीको दिनलाई थहाँ विज्याः भनिन्छ । यस दिन बज्रयोगिनी माईलाई बज्रयोगिनी फर्काउन विशेष होम गरी साँखुमा पूजा आजा सकिएपछि मात्रै देवी देवताहरु रथमा सवार गराउने परम्परा रहेको यहाँको संस्कृतिका बारेमा खोज अनुसन्धान गरिरहनुभएका प्रकाशमान श्रेष्ठ सक्वले राससलाई जानकारी दिुनुभयो ।

राति रथमा राखिने भएकाले एक आधा घण्टा जात्रा गरी सकिन्छ । भोलिपल्ट अष्टमीको दिन भने साँखुबाट देवी देवताहरुको रथ बज्रयोगिनी पु¥याई जात्रा समापन गरिन्छ । यस क्रममा साँखुको कोलागाल कटेपछि घुमारचोकका स्थानीय तामाङ समुदायले माईलाई माईती फर्काउने भन्दै जात्रामा सहभागी हुनुका साथै उनीहरुले सो दिन विशेष पूजा आजाका साथ भोज भतेर गर्दछन् । यो जात्रामा नेवार र तामाङ समुदायको मिलन हुने गर्छ ।

नेवार समुदायले दशमी र एकादशीको दिन राजा रानीको तर्फबाट विचाः पूजा भनी बज्रयोगिनी माईलगायत सम्पूर्ण देवीदेवताको पूजा आजा गरी वनभोज खान जाने चलन छ । यसरी पूजा गर्न जाने कामलाई नेवार समुदायले विचाःपूजा भन्दछन् । यसको अर्थ देवी देवताको हालखबर बुझ्न जानु हो भन्ने बुझिन्छ ।

बज्रयोगिनी जात्राका लागि मल्लकालमा राजा आफँै आउने व्यवस्था थियो । अन्तिम मल्ल राजा जयप्रकाश मल्ल युद्धमा रहँदा उनले खड्गलाई नै आफ्नो प्रतिनिधित्व मान्नु भनेर पठाएपछि हालसम्म राज खड्ग ल्याउने परम्परा कायमै रहेको विश्वास गरिन्छ ।

बज्रयोगिनी जात्रामा साँखु वरपरका बासिन्दा मात्र नभई उपत्यका बाहिरका श्रद्धालु दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

नगरकोट भ्रमण वर्षको रौनक

नयाँ बर्षको अवसर पारेर नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ गरियो । भ्रमण वर्षको राष्ट्रपति रामचन्द्र पौडेलले शुभारम्भ गर्नुभएको थियो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायणका साथै मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा भ्रमण वर्ष आयोजना गरिएको हो । पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्याली प्रदर्शन गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न हजारौँ पर्यटक आइतवार नै नगरकोट पुगेका थिए ।

“नगरकोटमा लाखौँ पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ”, नगर प्रमुख खत्रीले भन्नुभयो । घरेलु उत्पादनका ६० कक्ष यहाँ राखिएका छन् । भ्रमण वर्षले नगरकोटको मात्रै नभई देशकै आर्थिक विकासमा मद्दत पुग्ने उहाँको भनाइ छ । भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाको नगरकोट केन्द्रित संयुक्त कार्यक्रम सञ्चालन हुने तथा वडास्तरबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिने छन् ।

भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभे्रपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौँको शङ्खरापुर नगरपालिकाका होटल तथा यहाँका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ । नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौँ–नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको छ ।

ढालियो ५५ हात लामो योसिद्यः

भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचौ दिन बैशाख १ गते सोमवार भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको योसिंद्यःलाई तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ६ बजेर ३२ मिनेटमा ढालिएको हो ।

भैरवनाथको प्रतीक मानिने योसिंद्यःमा बाडिएको अष्टमात्रिकाको प्रतीक आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी ढाल्ने परम्परा छ । योसिद्यःको जात्रा सम्पन्न भइसकेपछि तलेजुमा दुमाजुको विषेश पूजाआजा गरी यसीँख्योमा रहेको भैलखः र भद्रकालीको रथलाई गःहिटि पुर्‍याइ रथ जुधाउने जात्रा गर्ने परम्परा छ ।

यो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रुहरु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

बाराही देवीको तिप्वा जात्रा सम्पन्न

नौ दिन आठ रात मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्राअन्तर्गत भक्तपुर बाराही देवीको तिप्वा जात्रा आज सम्पन्न भएको छ ।

बिस्का जात्राको चौथो दिनअर्थात् चैतको मसान्तको साँझ भेलुखेलस्थित यसीँख्यमा ५५ हात लामो यसिद्यःउठाएपछि अष्टमात्रिकाका शक्तिशाली देवी बाराहीको तिंप्वा जात्रा गर्ने परम्परा छ । चैत मसान्तको दिनमा यसिंद्यः नउठेपछि वैशाख १ मा उठाइसकेपछि जात्रा गरी सम्पन्न गरेको हो ।

भक्तपुर नगरपालिका–३, तेखाचो टोलमा रहेको बाराहीको मूर्तिलाई खटमा राखी तिंप्वा जात्रा गरिन्छ । प्यागोडाशैलीमा निर्मित बाराहीको खटलाई सिँगार पटार गरी तयार गरी बाराहीलाई विराजमान गराइन्छ ।

जात्रामा सातसय टोलका स–साना बालबालिकादेखि वृद्धवृद्धा चिलाख बालेरजात्रामा सहभागी हुने गर्दछ । जात्रामा हजारौँ भक्तालु धुप, बत्ती, सुकुन्दा बाली सहभागी हुने गर्दछन् । बाराही पीठ नजिक रहेको हनुमन्ते खोला तर्दा खोलाको पानी छ्यापी बाराहीलाई पीठ पु¥याइन्छ ।

पीठमा पुगेपछि आचाजुहरुद्वारा बाराहीको तान्त्रिक पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि स्थानीय सातसय टोलको बलि पूजा थापेर आज यसिंद्य ढालिसके पछि बाराहीलाई पुज्ने सातसय टोलमा परिक्रमा गरी पूजा गरिन्छ । पूजामा बाराहीलाई प्रसादको रुपमा चतामरी छरिदिने परम्परा छ । सबै टोलको परिक्रमा पछि देवगृहमा लगिन्छ ।

त्यसैगरी यसिंद्यः उठाइसकेपछि मनाइने अष्टमात्रिका अर्को शक्तिशाली देवी इन्द्रायणीको त्वारिवा जात्रा पनि आज दिउँसो सम्पन्न गरेको छ । इन्द्रायणी देवीको द्योः छेमा रहेको मूर्तिलाई खटमा विराजमान गराई आफ्नो इलाकामा जात्रा मनाउने परम्परा छ । जात्रा गर्दा इन्द्रायणी देवीको इलाकाका बासिन्दाले आ–आफ्नो घरबाट त्वारिवा ल्याई देवबत्ती बालेर जात्रामा सहभागी हुने गर्दछ । स्थानीय दाफा, भजनखलको भजन र बाजाहरुको गुञ्जायमान जात्रालाई थप रौनक बनाउँदछ ।

चान्हेसिया जात्रा सम्पन्न

भक्तपुरकै मध्यपुरथिमीका बासिन्दाले नयाँ वर्षको पहिलो दिन चान्हेसिया जात्रा मनाएका छन् । बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो । चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ ।

जात्रामा थिमीको अधिंकाश घरबाट निस्केको हजारौं चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेंस्थित दक्षिणबाराही मन्दिर परिक्रमा गराइएको थियो । त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पुर्याएर पाँचपटक परिक्रमा गराएपछि सोही स्थानमा आ–आफ्नो आसनमा खटलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । आइतबार राति सुरु भएको जात्रा सोमवार बिहान सम्पन्न भएको थियो ।

त्यसैगरी, सूर्यविनायक नगरपालिका–१ दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बैशाख १ बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको थियो । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वास रहेको संस्कृतिविद् रत्न सायमीले बताउनुभयो ।

किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ । यहाँको कुण्डमा स्नान गर्न संक्रान्तिको बिहानैदेखि घुइँचो लागेको थियो । मन्दिरमा सोमवार बिहानदेखि तीनवटा खटसहितको खट जात्रा यहाँका विभिन्न क्षेत्रमा परिक्रमा गराई मनाइएको छ ।

त्यसैगरी, दधिकोटको चित्रपुरस्थित पूर्ण विनायक गणेश र सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा गणेश जात्राको खट यात्रा गरी सिन्दूर खेल्दै टोलटोलमा देवता विराजमान गराइएको खट लगेर जात्रा मनाइएको छ । सिरुटारका बासिन्दाले खटलाई बोकेर सिरुटार, बालकोट परिक्रमा गराई जात्रा मनाएको सिरुटारका प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । यहाँका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् ।

सिरहा फूलबारी मेलामा भक्तजनको घुइँचो

नयाँवर्षका दिन मात्र फूल्ने माला आकारका सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न सिरहाको लहानस्थित पर्यटकीय क्षेत्र सलहेश फूलबारीमा आज मेला लागेको छ ।

नयाँ वर्षको अवसर पारेर प्रत्यक वर्ष वैशाख १ गते लाग्ने मेलामा यसवर्ष पनि बिहानैदेखि हजाराँै भक्तजनको घुइँचो लागेको छ । लहान नगरपालिका–१२ र २२ मा पर्ने यस फूलबारी परिसरको सलहेशको मन्दिरअगाडि रहेको हारमको रुखमा यसवर्ष पनि सुनाखरी फूल फुलेको मेला समितिका अध्यक्ष जयकान्त चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब नौ बिघा क्षेत्रफलमा फैलिएको यस फूलबारीमा मेला भर्न नेपाल तथा भारतका विभिन्न राज्यबाट हजारौँ श्रद्धालूहरू पूजापाठ गर्न आउँछन् ।

भक्तजनको भीड व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्थापन चुस्त गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“मेलालाई व्यवस्थित बनाउन स्वयंसेवक खटाउने, व्यापारिक ‘स्टल’ बनाउने र सहज रुपमा श्रद्धालुलाई पूजास्थलसम्म पुग्ने प्रबन्ध गरिएको छ । मेलालाई व्यवस्थित गर्न सयजना स्वयंसेवक खटाइएको छ, भने भीडलाई व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरिएको छ ।”

सलेहश गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ । आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसको भीड लाग्ने गरेको मन्दिरका पुजारी जीतेन्द्रसिंह धामीले जानकारी दिनुभयो । उनै १४औँ शताब्दीका राजा सलहेसको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ ।

राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र चौधौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वाससमेत रहेको छ ।

जानकी मन्दिरमा भक्तजनको भीड

नयाँ वर्ष २०८२ का अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड लागेको थियो । वर्षको पहिलो दिन जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू वर्षभर राम्रो होस् भन्ने हेतुले पूजापाठका लागि जम्मा भएका हुन् ।

नयाँ वर्षको पहिलो दिन धनुषाका विश्वप्रसिद्ध जानकी मन्दिरसहित राम मन्दिर, जनक मन्दिर, भूतनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको थियो । नयाँ वर्षमा मन्दिरहरूमा पूजापाठ गर्नाले विशेष फल प्राप्त हुने र वर्षभरि राम्रोसँग बित्ने धार्मिक जनविश्वाससहित मन्दिर दर्शन गर्न आएको धनुषा ट्राफिक प्रमुख हरिबहादुर वलीले बताउनुभयो ।

त्यसैगरी, पर्यटकहरूको सवारीसाधनको व्यवस्थापन गर्न बिहानदेखि नै ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । वर्षको पहिलो दिन पूजापाठ र दर्शन गर्न तथा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुुइँचो लाग्ने गर्दछ । जानकी मन्दिरमा बिहानदेखि दर्शनार्थी भीडभाड थियो ।

मन्दिरमा प्रसाद चढाउने भक्तजनको पनि दिनभर घुइँचो तथा भीड लागेको छभने जानकी मन्दिर परिसरमै रहेको म्युजियम हेर्नसमेत दर्शनार्थीहरुको लामो लाइन लागेको देखियो ।

घलेगाउँमा पर्यटन रजत जयन्ती , इशानेश्वरमा विषु शान्ति

लमजुड.मा धार्मिक प्रवत्तिका नागरिकहरुले करापुटारमा रहेको यहाँको प्रसिद्ध इशानेश्वर महादेव मन्दिरमा पूजाआराधना गरेर नयाँ बर्ष मनाए भने घुमफिरमा रमाउनेहरुले प्रख्यात पर्यटकीय गन्तव्य घलेगाउँमा आयोजित ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ कार्यक्रमको मज्जा लिए । ं

घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु भएको यो कार्यक्रमले घलेगाउँको २५ वर्षे पर्यटन यात्रालाई स्मरण गर्दै गाउँ पर्यटनको महत्त्व र योगदानलाई उजागर गर्ने उद्देश्य राखेको छ ।

सो कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुड.ले गर्नुभएको थियो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले घलेगाउँको यात्रा दुःख, विकटता र अभावबाट सुरू भएर अहिलेको स्मार्ट भिलेजसम्म आइपुगेको बताउनुभयो । उहाँले परिवर्तनको मूल रहस्य समुदायको एकता, अगुवाहरूको अठोट र जनसहभागिता भएको उल्लेख गर्नुभयो ।

घलेगाउँलाई विश्वले चिनेको ठाउँको रूपमा प्रस्तुत गर्दै यसको उदाहरण देशभर फैलाउन सकिने उहाँको विश्वास छ । मन्त्री गुरुङले भन्नुभयो, “घलेगाउँ नेपालको उत्कृष्ट होमस्टे गन्तव्य हो । यहाँबाट सुरू भएको होमस्टे अभ्यास अहिले देशका विभिन्न जिल्लाहरूमा फैलिएको छ । लमजुङ जिल्ला आज ७७ वटै जिल्लामा गाउँ पर्यटन फैलाउने नेतृत्त्दायी जिल्लाका रूपमा चिनिएको छ ।”

गण्डकी अञ्चलमा मात्रै ३०६ वटा होमस्टे दर्ता भएको उल्लेख गर्दै मन्त्री गुरुङले तीमध्ये धेरैजसो सफलतापूर्वक सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले ग्रामीण पर्यटनलाई मजबुत बनाउने हो भने नेपाललाई पर्यटनको केन्द्रविन्दु बनाउने सम्भावना रहेको बताउनुभयो ।

बन्दीपुरमा भ्रमण बर्षको रौनक

यहाँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक कौरा नृत्यमा छमछमी नाचेका छन् । बन्दीपुरमा जारी १३औँ सांस्कृतिक तथा सडक खाना महोत्सवका अवसरमा आज विदेशी पर्यटक कौरा नाचेका हुन् ।

मगर समुदायको प्रख्यात उक्त नाच महोत्सवमा प्रस्तुत गरिएको थियो । मगर समुदायका युवायुवतीसँगै विदेशी पर्यटकले उक्त नाचमा सहभागिता जनाएका थिए । नेपाली समुदायको कला, संस्कृति र रितीरिवाज देखेर विदेशी पर्यटक मोहित भएको बन्दीपुर भ्रमण वर्ष २०२५ का सचिवालय संयोजक वैशबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “महोत्सवमा विभिन्न जातजातिका कला, संस्कृति, नृत्य प्रवर्द्धन गरेका छौँ । बन्दीपुरभित्रका मगर, गुरुङ, नेवार जातजातिका नाचलाई समावेश गरेका छौँ ।”

बन्दीपुर भ्रमण वर्ष भर विविध कार्यक्रम गरिने गुरुङको भनाइ छ । महोत्सवमा विभिन्न रैथाने समुदायले बनाउने परिकारको स्वाद लिन पाइने जनाइएको छ । महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटकको अलवा बन्दीपुरमा विदेशी पर्यटकको उत्तिकै भीड हुन्छ । यहाँ विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर घुम्न आउने विदेशी पर्यटक यहाँको संस्कृति देखेर मोहित हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको संस्कृति देखेर विदेशीहरु रमाउँछन् । अन्य बेलामा यहाँको कला संस्कृतिबारे विदेशीलाई जानकारी गराउने गरेका छौँ ।”

यसैगरी बन्दीपुरमा आज बिस्केटजात्रा प्रदर्शन गरिएको छ । नेवार समुदायको जात्रा ंसंरक्षण गर्ने उद्धेश्यसहित बिस्केटजात्रा प्रदर्शन गरिएको हो । बन्दीपुरका नेवारहरुले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । बन्दीपुर नेवा पुचःका अध्यक्ष किसान प्रधानले पुर्खाहरुले मनाउँदै आएका पर्व र संस्कृति बिर्सने नभइ प्रत्येक वर्ष त्यसलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

 

पर्यटन राजधानी पोखरामा नयाँ वर्षको स्वागत

देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ को स्वागत गरियो ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट संक्रान्तिको दिन स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षको स्वागत गरेका हुन् । नयाँ वर्षको आगमनसँगै पोखराका प्रमुख पर्यटकीयस्थलमा पर्यटक भरिभराउ छन् । फेवाताल, बेगनाससहित विभिन्न मन्दिर र गुफाहरुमा पर्यटकको घुइँचो रहेको छ ।

नयाँ वर्षको स्वागतका लागि लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको थियो । होटल सङ्घ पोखराको आयोजनामा भइरहेको फेवा नव वर्ष महोत्सवका कारणले समेत यहाँका पर्यटकीयस्थलमा पर्यटक आगमन बढाएको छ ।

आतशबाजीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सडकबाटै नयाँ वर्षलाई हर्सोल्लासका साथ स्वागत गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । नेपाली नयाँ वर्षलाई धुमधामका साथ मनाउने उद्देश्यले आयोजित महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएको उहाँले बताउनुभयो ।

नेपाली नयाँ वर्ष मनाउनका लागि लेकसाइडको साढे तीन किमी सडकमा नव वर्ष महोत्सव आयोजना गरिएको र महोत्सवमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष सुवेदीले लेकसाइडका होटलमा यतिबेला अकुपेन्सी ८० प्रतिशत पुगेको बताउनुभयो ।

अध्यक्ष सुवेदीले भन्नुभयो, “देशको पर्यटकीय राजधानी सहर पोखरामा भव्यरुपमा नेपाली नयाँ वर्षको स्वागत गरेका छौँ । हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षको खुसी साट्नुभएको छ । नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य पोखरा हो भन्ने कुरा स्थापित भएको छ ।”

नयाँ वर्ष तथा विभिन्न बिदाका कारण पनि पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको र भारतीय पर्यटकको आगमन पनि बढेकाले नयाँ वर्षमा पर्यटन व्यवसायमा चहलपहल बढेको अध्यक्ष सुवेदीले बताउनुभयो । नयाँ वर्षको स्वागतका लागि राति अबेरसम्म पर्यटक लेकसाइडमा भरिभराउ थिए ।

लेकसाइडका सबै जसो प्रमुख चोकहरुमा पञ्चेबाजा, भजन, रत्यौली, कन्सर्ट तथा गीत सङ्गीत प्रस्तुत गरिएको थियो । नयाँ वर्ष मनाउनका लागि पोखरामा केही दिनदेखिनै पर्यटकको बाक्लो चहलपहल बढेको होटल सङ्घले जनाएको छ ।

यही चैत ३० गतेदेखी सुरु नव वर्ष महोत्सव सोमवार नै सकियो । नेपाली नयाँ वर्षलाई उत्लासमय बनाउँदै पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव गरिएको हो ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्गय प्रहसन र पर्यटक दौडलगायत रहेका थिए ।

नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढेको छ । पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायतका धार्मिकस्थलमा बिहानदेखिनै भक्तजनको घुइँचो लागेको छ । विन्ध्यवासिनी मन्दिरमा पूजाआजाका लागि बिहान ४ बजेदेखिनै भक्तजनको बाक्लो लाइन लागेको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

पञ्चकोट र मुक्तिनाथमा भक्तजन

हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा नयाँ वर्षको अवसरमा सोमबार पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो लागेको थियो । यस्तै बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटमा पनि धार्मिक र दृश्यावलोकन रुचाउनेहरुको भीड लागेको थियो । यो क्षेत्र धार्मिकसाथै प्राकृतिक दृश्यावलोकनका लागि समेत चर्चित छ ।

 

वनवाटिकामा पर्यटकको घुइँचो

रुपन्देहीमा यहाँको तिलोत्तमा–२ स्थित शङ्करनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको थियो ।

नयाँ वर्ष २०८२ को दिन वनवाटिकामा दर्शकको घुइँचो बढेको हो । नेपालका एक सय पर्यटकीय गन्तव्यमध्येमा परेको यस वनवाटिकामा पछिल्लो समय थपिँदै गएका पर्यटकीय संरचनाका कारण पर्यटकको आकर्षण बढेको छ । यहाँ गत चैतबाट ‘द थ्रिल एडभेन्चरको स्काई साइक्लिङ’, ‘जीपलाइन’, ‘जाइन्ट स्वीङ’, बाल उद्यान, ‘फाउण्टेन’, शान्त मनोरम दृश्य, प्राकृतिक हरियाली, ‘पिकनिक स्पट’का साथमा खुला क्षेत्र भएकाले वाटिकाको आकर्षण बढेको वाटिकाका अध्यक्ष खिमलाल पाण्डेले बताउनुभयो । नयाँ वर्षको दिन यहाँ १९ हजार बढी आन्तरिक पर्यटक आएको अध्यक्ष पाण्डेको भनाइ छ ।

आज ३० भन्दा बढी पिकनिक स्टल बुकिङ भएका थिए । वाटिकामा रु ५० टिकट शुल्क तोकिएको छ । १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाका लागि निःशुल्क गरिएको वाटिकाका कोषाध्यक्ष मनिराम भट्टराईले बताउनुभयो ।

सुदूरपश्चिममा बिसु पर्वको रौनक

नेपालको सुदूरपश्चिममा देवर भाउजूबीचको स्नेह दर्शाउदै बिसु पर्व मनाएर नयाँ वर्षको स्वागत गरियो।

देवर भाउजूबीच सिस्नुपानी छ्यापेर ख्यालठट्टा गर्दै यस पर्वका अवसरमा रमाइलो गरिन्छ । बिहानै नुहाइधुवाइ गरी इष्टदेवको पूजाआराधना गरी पर्व मनाइने गरिएको हेमराज पाण्डेयले बताउनुभयो ।

“बिसु पर्वमा नयाँ लुगा लगाउने, मीठो मसिनो परिवारसँगै बसेर खाने चलन छ”, उहाँले भन्नुभयो, “देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुबीच एकअर्काले सिस्नोपानी छ्यापेर यस पर्वमा रमाइलो गरिँदै आएको छ, पछिल्लो समय यो चलन भने विस्तारै हराउँदै गएको छ ।”

उहाँका अनुसार एकले अर्कालाई सिस्नो लगाउँदा वर्षभरिमा शरीरमा चर्म रोग नलाग्ने जनविश्वास रहिआएको उहाँले बताउनुभयो । बिसुका अवसरमा देउडा खेलिन्छ । सुदूरपश्चिमको विशेष परिकार भातसँगै गतानी डुब्का खाने गरिन्छ । बिसुका अवसरमा गतानी डुब्कासँगै रोट, माणा, सेलपुरी, मासुलगायतका परिकार बनाएर खाने चलन छ ।

यस अवसरमा बूढापाका गङ्गास्नानका लागि भारतको हरिद्वारलगायतका प्रसिद्ध धार्मिक क्षेत्रमा स्नानका लागि जाने चलन पनि पुरानै रहेको पाण्डेयले बताउनुभयो । भारतलगायत अन्य क्षेत्रमा काम विशेष र रोजगारीका लागि गएका घर फर्कने भएकाले परिवारमा रौनकता छाउने गर्दछ ।

अछाम, बाजुरालगायतका क्षेत्रमा बिसु पर्वका अवसरमा महिलाहरुले पुतला खेल (नाच) देखाउने गर्दछन् । बिसुमा पुतला नाच देखाउने कार्य पुस्तौँदेखि चल्दै आएको अमरबहादुर साउदले बताउनुभयो । पुस्तौँदेखि चल्दै आएको पुतला नाच भने विस्तारै लोप हुँदै जान थालेकाले यसलाई जोगाउनका लागि युवापिँढीलाई अग्रसर गराउनुपर्ने उहाँको भनाइ रहेको छ । यसै पर्वका अवसरमा शक्तिपीठमा पशु बलि दिने चलन पनि रहेको छ ।

सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम जिल्लामा मुख्यतः यो पर्व मनाइने गरिन्छ । बसाई सारेर कैलाली कञ्चनपुरलगायतका तराईका जिल्लामा झरेका पहाडी समुदायले बिसु पर्व मनाउने गर्दछन् । भारतको कुमाउँ गढवाल क्षेत्रमा पनि बिसु पर्व मनाइने गरिन्छ ।

बागेश्वरी मन्दिरमा भक्तजनको भीड

बाँकेमा नयाँ बर्षको अवसरमा नेपालगञ्जस्थित प्रसिद्ध शक्ति पीठ बागेश्वरी मन्दिरमा भक्तजनहरुले पूजाआराधना गरेका थिए । सोमवार पनि परेकोले मन्दिरमा आयोजित सन्ध्याकालिन आरतीमा भक्तजनहरुको भीड लागेको थियो ।

चियाबगानमा पर्यटक

नेपालको आन्तरिक पर्यटनको गतिलो गन्तव्य बनेको इलामका चिया वगानमा नयाँ वर्षमा घुम्न आउनेहरु प्रशस्त थिए । यसपटक नेपालमा कार्यरत विदेशी कुटनीतिज्ञहरुलाई नेपाल पर्यटन बोर्ड र परराष्ट्र मन्त्रालयले इलाम घुमाउन ल्याएकोले छुट्टै रौनक थपिएको थियो ।

धार्मिक र पर्यटकीय स्थलमा भीड

नयाँ वर्षको दिन नेपालीहरुको बढी चासो धर्मकर्म र घुमफिरमा नै देखियो । राजधानी बाहेक तराईका प्रसिद्ध धार्मिक स्थलमा पनि भक्तजनहरुको उत्तिकै ठूलो भीड देखिन्थ्यो । जनकपुरधामको जानकी मन्दिर होस् कि लुम्बिनीको मायादेवी मन्दिर, गडवामाईको मन्दिरहोस् कि वागेश्वरी भक्तजनको कतै पनि कमी देखिएन ।
नयाँ वर्ष २०८२को अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधामको जानकी मन्दिरमा सोमबार पूजाअर्चना गर्न भक्तजनहरु लामबद्ध थिए ।
नयाँ वर्ष २०८२को अवसरमा सोमबार वीरगञ्जको गहवामाई मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनहरुमो भीड लागेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि कर्फ्यु हटाएसँगै यहाँको जनजीवन सामान्य बनेको थियो ।

नयाँ वर्षको अवसरमा शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र अवलोकन गर्न सोमबार आन्तरिक पर्यटकको भीड थामिनसक्नु भएको थियो ।

 

दाङको घोराही उपमहानगरपालिका १८ स्थित अम्बिकेश्वरी मन्दिरमा पनि सोमबार नयाँ वर्षका दिन पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको थियो ।

तराईको आकर्षणको केन्द्र रहेको कृतिम भरत तालमा नौकाविहार गरेर मज्जा लिन नयाँ वर्षको दिन हजारौ आन्तरिक पर्यटकहरु पुगेका थिए ।

घुमफिरमा रमाउने सुदूरपश्चिम र बाँके बर्दियाका युवायुवतिहरुले कर्णालीको पुलमा फोटो खिचाउदै टिकटक र रिल बनाएर नयाँ बर्षको मज्जा लिए ।

नयाँ वर्षको अवसरमा राजधानीमा बालबालिका,युवायुवती र मनोरञ्जनप्रेमीहरुले सोमबार काठमाडौँको भृकुटीमण्डपमा रहेको फनपार्कमा घुमफिर तथा मनोरञ्जन लिए ।

 

Share Now