Prakash Adhikari July 25, 2018

 

काठमाडौं, ९ साउन । एसिया कप क्रिकेट प्रतियोगिता २०१८ को खेल तालिका सार्वजनिक भएको छ ।

भदौ ३० गतेदेखि असोज १२ सम्म युएईमा हुने प्रतियोगितामा एसियाका टेष्ट मान्यता प्राप्त पाँच देश र छनौट भएर जाने एक गरी ६ देशले प्रतिस्पर्धा गर्ने छन् ।

एसियाका टेस्ट राष्ट्रमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । यो खेलमा छनौट हुने टीमले यी राष्ट्रसँगै एसिया कप खेल्न पाउने छ ।

नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबीच छनौट प्रतिस्पर्धा हुनेछ ।

यो प्रतिस्पर्धाको विजेता समूह ए मा खेल्न पाउने छ । भारत र पाकिस्तान समूह ए मा छन् ।

यसको अर्थ नेपालले छनोट प्रतिस्पर्धा जितेमा भारत र पाकिस्तानसँगको समूहबाट खेल्नु पर्नेछ ।

यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् ।

समूह चरणका खेल सेप्टेम्बर १५ देखि २० तथा सुपर ४ का खेलहरु सेप्टेम्बर २१ देखि २६ सम्म हुनेछ ।

फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ । सन् २०१६ मा ट्वेन्टी–ट्वेन्टी फरम्याटमा भएको एसिया कप यसपटक एक दिवसीय फरम्याट हुँदैछ ।

एसिया कपको साबिक विजेता भारत हो ।

पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले एसिया कपका लागि ६ टिम सम्मिलित छनौट प्रतियोगिता खेल्दैछ ।
जसमा एक दिवसीय मान्यता प्राप्त देश युएईसँगै हङकङ, ओमान, सिंगापुर र मलेसिया रहेका छन् र नेपालले यिनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

गएको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनौटमा एसोसिएटतर्फ शीर्ष तीनमा परेर एक दिवसीय मान्यता पाएको नेपालको राष्टिय टीम अहिले बेलायत र नेदरल्याण्ड्स भ्रमणमा छ ।

नेपालले जुलाई २९ मा लर्डसमा हुने ट्राई सिरिज र अगष्ट पहिलो हप्ता नेदरल्याण्ड्ससँग उसैको मैदानमा एक दिवसीय शृंखला खेल्दैछ ।

Share Now

Leave a comment.