काठमाडौं ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक योग्यताको प्रमाणपत्र पीडा हैन गौरव बन्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौ सभालाई बुधबार उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
उहाँले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको भन्नुभयो,’कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ सो अनुसार शिक्षण संस्था खोल्नु पर्छ । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पिडाको बन्ने गरेको अवस्था विद्यमान छ ।’
“चाहिएको छ कृषि विज्ञ, प्रमाण पत्र छ अरु नै बिषयको”,प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ । अनि प्रमाण पत्र पाउँदाको उत्साह केही दिन मै पिडामा बदलिन्छ । ”
सरकारले सबै क्षेत्रको अध्ययन गरेर जनशक्ति आवश्यकता हेरेर सोही अनुसार शिक्षण संस्था खोल्नका लागि सिफारिस गर्ने पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाललाई लामो समय गरिब बनाएर खाना लाउन बाहेक अन्यत्र ध्यान दिन नसक्ने अवस्थामा पु¥याएको बताउदै भन्नुभयो “तर अब त्यो अवस्था बाँकी रहदैन , अब नेपालीहरु खान र लाउनबाटमाथि उठेर अन्य आवश्यकताको गुणस्तरीय परिपूर्तीमा लाग्न सक्ने अवस्थामा पुगेका छन् ।”