Prakash Adhikari May 14, 2025

काठमाडौंं, ३१ वैशाख । गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुले परराष्ट्र मन्त्री डा.आरजू राणा देउवालाई भेट्नु भएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा  मंगलवार भएको भेटमा गैरआवासीय नेपाली संघलाई विदेशमा रहेका सबै नेपालीहरुको भरपर्दो प्रतिष्ठित संस्था बनाउदै लैजाने विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री राणाले कानूनको सर्वोच्चतालाई कायम गर्दै अभियानमा छुटेका साथीहरुलाई समाहित गर्दै संघलाई अगाडि बढाउन संघका अध्यक्ष महेशकुमार श्रेष्ठलाई निर्देशन दिनुभएको थियो ।

सो अवसरमा नवनिर्वाचित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपालीहरुले विदेशी भूमिमा भोगिरहेका समस्या र विदेशमा आर्जन गरेको सीप,अनुभव र पूँजीलाई स्वदेशमा लगाउन देखिएका कठिनाईहरुलाई सुल्झाउनका साथै नेपाली नागरिकता लगायतका विभिन्न बिषयमा लिपिबद्ध गरेर तयार पारिएको पत्र परराष्ट्र मन्त्रीलाई हस्तान्तरण गरिएको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिनुभएको छ ।

उक्त अवसरमा प्ररराष्ट्र सचिव अमृतबहादुर राई लगायत मन्त्रालयका सहसचिव, कानुन शाखाका उपसचिवहरूको उपस्थिति रहेको थियो।

सायद १० जना मानिसहरू को फोटो हुनसक्छ

Share Now