Prakash Adhikari June 2, 2025

-पल एडम्स
कूटनीति संवाददाता

किएभ (युक्रेन),१९ जेठ । रुसी हवाई फौजविरुद्ध युक्रेनले गरेको व्यापक प्रहारको ‘दुस्साहस’ वा ‘रणकौशल’लाई बढाइचढाइ गर्न कठिन छ।

आफूले गरेका हमलाका कारण रुसलाई ७ अर्ब डलरको क्षति पुगेको युक्रेनको दाबीलाई हामीले पुष्टि गर्न त सक्दैनौँ तर ‘अपरेशन स्पाइडर वेब’ नाम दिइएको उक्त आक्रमण कम्तीमा युक्रेनको पक्षमा एक बलियो ‘प्रोपागान्डा’ हुने स्पष्ट छ।

युक्रेनीहरूले यो आक्रमणलाई युद्ध सुरु भएयता उनीहरूले रणमैदानमा हासिल गरेका अरू ‘सफल’ कारबाहीहरूसँग दाँज्न थालिसके – सन् २०२२ मा रुसी ब्ल्याक सी फ्लिट मस्कभालाई डुबाइदिएको, सोही साल कर्च पुल बमले ध्वस्त बनाइदिएको अनि अर्को वर्ष सेभास्तपोल बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण गरेको लगायत।

हालसम्मकै गजबको उपलब्धि?

युक्रेनको सैन्य गुप्तचर निकाय एसबीयूले सञ्चारमाध्यमहरूलाई चुहाएका विवरणहरू केलाउँदा यो आक्रमण अहिलेसम्मकै विस्तृत योजनाबद्ध भएको देखिन्छ।

यो कारबाही गर्न १८ महिनाको तयारी भएको र यसका लागि कैयन् साना ड्रोनहरूलाई रुसभित्र तस्करी गरेर पुर्‍याइएको देखिन्छ। तिनलाई मालसामान ढुवानी गर्ने ट्रकहरूमा विशेष ठाउँ बनाइ लुकाएर एक आपसबाट हजारौँ माइल पर रहेका रुसका चार भिन्न स्थानहरूमा पुर्‍याइएको अनि तिनलाई नजिकैका हवाई अखाडामा प्रहार गर्न ‘रिमोट्ली’ वा टाढैबाट सञ्चालन गरिएको बताइएको छ।

“विश्वमा कुनै पनि जासुसी कारबाहीमा यसअघि यस्तो काम भएको थिएन,” रक्षा विश्लेषक सेर्ही कुजानले युक्रेनी टीभीलाई बताउनुभयो।

“ती रणनीतिक बमवर्षकहरू हामीविरुद्ध लामो दूरीका प्रहार गर्न सक्षम थिए,” उहाँले भन्नुभयो,  “त्यस्ता बमवर्षक जम्मा १२० वटा छन् र हामीले ४० वटामा प्रहार गर्‍यौँ। त्यो गजबको सङ्ख्या हो।”

रुसलाई पुगेको क्षतिको वास्तविक आकलन गर्न कठिन छ। तर युक्रेनी सैन्य ब्लगर ओलेक्सान्डर कोभालेन्कोका अनुसार ती बमवर्षक तथा तिनको कमान्ड र कन्ट्रोल ध्वस्त नभएको भए पनि यो आक्रमणको प्रभाव अत्यन्त ठूलो छ।

“क्षति यति धेरै भएको छ कि विद्यमान अवस्थामा रुसी सैन्य-औद्योगिक सञ्जालले तिनको पुनर्स्थापना निकट भविष्यमा गर्न सक्ने छैनन्,” आफ्नो टेलिग्राम च्यानलमा उनी लेख्छन्।

क्षेप्यास्त्र जडित ती रणनीतिक बमवर्षकहरूमध्ये टीयू -९५, टीयू-२२, र टीयू-१६० हाल उत्पादनमै छैनन्। अर्थात् तिनलाई मर्मत गर्न कठिन हुनेछ भने विस्थापन गर्न असम्भव।

सुपरसोनिक टीयू-१६० गुमाउनुको प्रभाव अझ विशेष हुने उहाँले बताउनुभयो ।

“आज रुसी एरोस्पेस फौजले तिनका दुई दुर्लभ विमान गुमाएका छन्,” उहाँले  लेख्नुभएको छ । ।

आक्रमणको सन्देश झन् महत्त्वपूर्ण?

विश्लेषकहरूले भने जस्तो रुसलाई भौतिक क्षति भएको होला या नहोला तर त्यो भन्दा पर अपरेशन स्पाइडर वेबले न केवल रुसलाई बरु पूरै पश्चिमा जगत्‌लाई महत्त्वपूर्ण सन्देश दिएको छ।

बीबीसी युक्रेनी सेवाका निम्ति लेख्दै स्भायातोस्लाभ खोमेन्कोले हालै किएभमा उहाँले एक युक्रेनी सरकारी अधिकारीसँग भएको भेटलाई उल्लेख गर्नुभएको छ।

ती अधिकारी निराश थिए।

“सबभन्दा ठूलो समस्या,” ती अधिकारीले स्भायातोस्लाभलाई भने, “हामी युद्धमा पराजित भइसकेको अमेरिकी बुझाइ हो। त्यही अनुमानका आधारमा अन्य नीति बन्दै छन्।”

युक्रेनी रक्षा पत्रकार इलिया पोनोमारेन्को सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डोनल्ड ट्रम्पबीच केही महिना अगाडि ओभल अफिसमा भएको कुख्यात भेटको चर्चा गर्नुहुन्छ ।

“युक्रेनसँग जम्मा ६ महिना बाँकी छ, तिमीसँग कुनै कार्ड छैन वा रुसले हार्न सक्दैन शान्तिका निम्ति तिमी आत्मसमर्पण गर भन्नेजस्ता टिप्पणीलाई युद्धरत एक गौरवशाली देशले बेवास्ता गर्दा हुने यही हो।”

अझ सटिक त बिजिनेस युक्रेन चौमासिक जर्नलले गरेको ट्वीट थियो जसमा उसले भनेको छ: “आखिरमा युक्रेनसँग पनि केही कार्ड रहेछ। आज जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले।”

यिनै सन्देश बोकेर युक्रेनी प्रतिनिधिहरू इस्तानबुलमा हुन लागेको ताजा युद्धविराम वार्तामा क्रेम्लीनका प्रतिनिधिहरू सामु उपस्थित हुँदै छन्: युक्रेन अझै लड्ने छ।

स्भायातोस्लाभसँग कुरा गरेका युक्रेनी अधिकारीले अमेरिकीहरू ‘उनीहरूले गर्ने भनेको हाम्रो आत्मसमर्पणको सबभन्दा नरम शर्तका लागि सहजीकरण गरिदिने ठान्छन्।’

“अनि हामीले धन्यवाद भनेनौँ भनेर ती रिसाउँछन्। तर हामी पराजित भइसक्यौँ भन्ने हामीलाई विश्वास छैन।”

डोन्बासको रण मैदानमा रुसको बिस्तारै तर निरन्तर भइरहेको सफलताबीच युक्रेनले रुस र ट्रम्प प्रशासनलाई भनिरहेको छ – हाम्रा सम्भावनालाई यति सजिलै बेवास्ता नगर।

 

Share Now