
काठमाडौं १२ साउन। प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो नेतृत्वको संयुक्त सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डीकेट अन्त्यका लागि प्रतिवद्ध भएर लागेको बताउनुभएको छ ।
तत्कालिन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा उहाँले आर्थिक अनियमितता, भ्रष्टाचार र ढिलासुस्ती हुने क्षेत्रको पहिचान भैसकेकोले आगामी दिनमा राज्य सञ्चालनमा प्रभावकारिता ल्याइने दावी पनि गर्नुभयो ।
लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भमिका भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ । ”
मजदूरहरुको भेलामा प्रधानमन्त्री ओलीले नेपालीहरुले गौरवपूर्ण इतिहासलाई कायम राख्दै अगाडि बढ्नु पर्ने पनि बताउनुभएको छ। “तोपसँग खुकुरीले लडेर पूर्खाहरुले बचाइदिएको देशलाई हामीले स्वाभिमानपूर्वक बचाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सार्वभौमसत्तालाई कायम राख्दै छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर देशलाई अघि बढाउन सरकार लागि परेको छ ।”
कार्यक्रममा उहाँले काँग्रेसको आकार घट्दै गएर माइतीघर मण्डलाभन्दा बाहिर आमसभा गर्ने नसुहाउने अवस्थामा पुगेको टिप्पणी पनि गर्नुभयो ।