मुस्ताङ, २७ जेठः मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ । राणा शासनको समय कालखण्डमा तत्कालीन राजा रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले मुक्तिनाथ दर्शन गर्ने क्रममा त्यहाँ धर्मशाला निर्माण गर्नुभएको थियो ।
रानी सुवर्णप्रभाले परिवारको सुख, शान्तिको कामना गर्दै मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थी भक्तजनलाई खान र बस्नको असुविधा नहोस् भन्ने उद्देश्यले धर्मशाला स्थापना गर्नुभएको थियो । रानीद्वारा धर्मशाला निर्माण गरिएकाले उक्त धर्मशालालाई रानीपौवा धर्मशाला नामकरण गरिएको मुक्तिनाथ रानीपौवा धर्मशाला रेखदेख तथा व्यवस्थापनमा खटिनुभएका स्वामी भरत कोइरालाले बताउनुभयो ।
उहाँका अनुसार प्राचीन शैलीमा ढुङ्गा र माटोले निर्माण गरिएको दुईतले रानीपौवा धर्मशालामा २१ वटा भक्तजन बासबस्ने कोठा छन् । “धर्मशाला पुरानो र जीर्ण हुँदै गएपछि यहाँ बास बस्ने भक्तजन, साधुसन्त र पुजारीलाई समस्या पर्दै आइरहेको थियो । भक्तजनको समस्यालाई मध्यनजर गर्दै जगद्गुरु स्वामी कमलनयनाचार्यको पहलमा धर्मशालाका मर्मत सुरु गरिएको हो”, उहाँले भन्नुभयो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र पुरातत्व विभागको लागत साझेदारीमा रु ७४ लाख बजेटमार्फत मुक्तिनाथ धर्मशाला मर्मत सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि रमेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार धर्मशालाको साविक सौन्दर्यता नबिग्रिने गरी स्तरोन्नति भइरहेको छ ।
धर्मशालाको लिपपोत, रङरोगन, शौचालय र बाथरुम, झ्यालढोका मर्मत गर्नुका साथै धर्मशालाको छतमाथि काठको फलेक बिछ्याएर अलकत्रा राखी वातावरणमैत्री प्लास्टिकसहित सख्खर माटो बिछ्याउने काम भइरहेको गुरुङले उल्लेख गर्नुभयो ।
“धार्मिक पुण्यकार्यको ठेक्का लिएको हुँ, नाफाभन्दा पनि बजेट अनुसारको गुणस्तर कायम गर्ने पक्षमा छौँ”, उहाँले भन्नुभयो, “सम्झौताअनुसार सतप्रतिशत हुनेगरी काम गरिरहेका छौँ । यो मुक्तिनाथको दर्शनार्थीका लागि भएकाले सेवा गर्ने मौका पनि हो ।”
व्यवस्थापनमा खटिनुभएका स्वामी कोइरालाले रानीपौवा धर्मशाला पुरानो र जीर्ण हुँदा तीर्थयात्रा, साधुसन्त र पुजारीलाई खान र बस्न समस्या भएपछि स्तरोन्नतिको पहल थालिएको बताउनुभयो ।
“धर्मशालाको छत माथिबाट पानी चुहिने गथ्र्यो, शौचालय र बाथरुमसमेत जीर्ण थिए”, उहाँले भन्नुभयो, “सम्झौताअनुसार ठेकेदारले रङरोगन र मर्मतको काम तीव्र गतिमा गरिरहेका छन् । मर्मतपछि यहाँ आउनेलाई भक्तजनलाई बास बस्न सहज हुनेछ ।”
धर्मशाला मर्मतको काम दुई सातादेखि भइरहेको स्वामी कोइरालाले जानकारी दिनुभयो । “असार मसान्तसम्म सम्पन्न काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । अहिले रङरोगन, भित्ता लिपपोत र छतलाई स्तरोन्नति गरिरहेको छ”, उहाँले भन्नुभयो ।
रानीपौवा धर्मशाला रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले निर्माण गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुुवेदीले जानकारी दिनुभयो । “मुक्तिनाथ क्षेत्रको छ रोपनी १२ आना क्षेत्रफलमा रानीले प्राचीन शैलीमा भक्तजनको आवास र भोजनको प्रबन्ध मिलाउन धर्मशाला स्थापना गर्नुभएको हो”, उहाँले भन्नुभयो ।
यहाँ बाह्य धार्मिक पर्यटकका साथै म्याग्दी, पर्वत, स्याङ्जालगायत जिल्लाबाट भक्तजन आउने पुजारी सुवेदीले उल्लेख गर्नुभयो । मुक्तिनाथ र धर्मशालाका लागि खाद्यान्नलगायत अन्नबाली उत्पादन गर्न रानी सुवर्णप्रभाकै पालामा सदावर्त गुठी स्थापना भएको उहाँले जनाउनुभयो । यसरी गुठीको जग्गा सदावर्त गुठीले रानीपौवा धर्मशालामा चढाउने गरेको उहाँले बताउनुभयो ।
“मुक्तिनाथ मन्दिर र धर्मशालाका नाममा म्याग्दी, पर्वत र स्याङ्जामा रहेका गुठी जग्गामध्ये कतिपय रैथानेमा परिणत भइसकेको छ भने कतिपय सदावर्त गुठीको नाममा छ”, पुजारी सुवेदीले भन्नुभयो । उहाँका अनुसार सदावर्त गुठीको नाममा रहेको जग्गा कमाउने व्यक्तिले दुई दशकदेखि अधियाको भागबण्डा बुझाउन छोडिसकेका छन् ।
विसं २०४६ सम्म म्याग्दीमा उत्पादन भएको सदावर्तको अन्नबाली बुझाउने गरिएको भन्दै त्यसपछि क्रमशः जग्गा कमाउने व्यक्तिले अन्नबाली बुझाउन छोडिसकेका उहाँले जानकारी दिनुभयो ।
विष्णु नेपाल र वासुदेव पौडेल/रासस गण्डकी, २० जेठः विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको […]
काठमाडौँ, १५ जेठः सरकार आगामी आर्थिक वर्षको लागि श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री […]
भोजपुर, २२ जेठः टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ । परम्परागत अन्नबालीभन्दा कम मिहिनेतमा राम्रो आम्दानी लिन सकिने, एकपटक बगान विस्तार गरेपछि वर्षौँसम्म निरन्तर उत्पादन दिने […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]