प्रदीप बस्याल
बीबीसी न्यूज नेपाली
काठमाडौं, ३१ जेठ । इजरायली सहर मोदीइनमा बस्ने पोखराका गणेश गिरी गतरात तीन बजे अचानक बजेको साइरन र मोबाइल फोनमा आएको एसएमएस सन्देश सँगै बिउँझिए।
त्यो इजरायलले इरानका परमाणु केन्द्रमा हमला गरिरहेको समय थियो। र त्यस्तो जनाउसँगै चनाखो हुन इजरायल सरकारले सतर्क गराएको गिरीले टेलिफोनमार्फत बीबीसीलाई बताउनुभयो।
“१७ वर्षदेखि यहाँ बसिरहेकाले इजरायलको सुरक्षा क्षमताबारे जाने । भोगिएको छ। तर पनि साइरन बजेर बिउँझिएपछि बिहानसम्मै केकसो हुने हो भन्ने डरले सुत्न सकिएन”, केअर गिभरका रूपमा त्यहाँ कार्यरत उहाँले भन्नुभयो ।
‘यतिखेर यहाँ शान्त छ। तर प्रहरी र सेनाका अफिसबाहेक स्कुल, कलेज, मल सबै बन्द छन्। बङ्करमा जान परेको छैन। तर उस्तै काम नपरिकन बाहिर निस्किइएको पनि छैन।’
उज्यालो भइसक्दा पनि एकफेर इरानबाट जबाफी ड्रोनहरू आइरहेको भनेर सचेत गराइए पनि पछि त्यो निस्तेज पारिएका खबर आएको उहाँले बताउनुभयो।
‘सेनाले समाचारमा धेरै दिन घरभित्र बस्नुनपर्ने भने पनि सबैतिर अनिश्चितता छ। कसैले केही ठोकुवा गरेर भन्न सक्ने अवस्था छैन। बाहिर सबैतिर सुनसान अवस्था छ।’
इजरायलले गतरात इरानको परमाणु कार्यक्रम स्थलहरूमा हमला गर्दा त्यहाँका वरिष्ठ सैन्य अधिकारीहरू र परमाणु वैज्ञानिकहरू मारिएपछि तेहरानले त्यसको बदला लिने बताइरहँदा त्यसको सम्भावित असरलाई लिएर ती दुई देशबाहेक पूरै मध्यपूर्वमा चिन्ता बढेको पाइन्छ।
तेलमा देखिएको तत्काल असर
गतरात इजरायलले इरानका परमाणु केन्द्रहरूमा हमला गरेको खबर फैलने बित्तिकै विश्वव्यापी रूपमा कच्चा तेलको मूल्य बढ्यो।
शुक्रवार तेल कारोबारका बेन्चमार्कहरू ब्रेन्ट क्रूड र निमेक्स लाइट स्वीट तत्कालै १० प्रतिशतभन्दा धेरैले बढ्नुलाई एकजना अर्थविद् नरबहादुर थापा निकै अस्वाभाविक मान्नुहुन्छ।
ूअहिल्यै दोहोरो अङ्क देखिनु भनेको द्वन्द्व लम्बिँदै जाँदा यो दर अझै बढ्ने सङ्केत हो,ू नेपाल राष्ट्र ब्याङ्कका पूर्वकार्यकारी निर्देशक रहिसकेका थापाले बीबीसीसँग भन्नुभएको छ।
रुस-युक्रेन युद्ध सुरु भएसँगै निकै महँगिएको पेट्रोलियम पदार्थको भाउ पछिल्ला केही वर्षमा कम हुँदा ‘नेपालीलाई भएको राहत गुम्न सक्ने’थापाको अनुमान छ।
लाखौँको सङ्ख्यामा नेपाली कामदारहरू रहेको क्षेत्र
एउटा मुख्य कुरा इजरायल र इरानबीचको द्वन्द्व झन चर्केर गएको अवस्थामा त्यसको प्रभाव समग्र मध्यपूर्व क्षेत्रमा फैलिने सम्भावना र त्यसबारेको चिन्ता रहेको छ। तनाव चुलिएको अवस्थामा त्यहाँ काम गरिरहेका लाखौँ नेपाली श्रमिकहरूको सुरक्षाको व्यवस्था र रोजगारीमा नकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।
नेपाली अधिकारी एवं गैरआवासीय नेपाली सङ्गठनका आँकडा अनुसार अनुसार हाल इजरेलमा नयाँ-पुराना गरेर ४,५०० देखि ५,००० का बीचमा नेपालीहरू विभिन्न पेशा तथा व्यवसायमा संलग्न छन्।
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको हमलामा परेर ुलर्न एन्ड अर्नु कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो। त्यस घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अज्ञात छ।
त्यसयता सयौँको सङ्ख्यामा श्रमिकहरू स्वदेश फर्किएको र द्विपक्षीय श्रम समझदारी अन्तर्गत नै केअर गिभरका रूपमा १ हजारभन्दा धेरै जाने तय भए तापनि त्यहाँको अस्थिर अवस्थाका कारण हालसम्म आधाभन्दा कम मात्र जान सकेको नेपाली अधिकारीहरू बताउँछन्।
इजरायलमा खासगरी घरेलु कामदार र कृषि क्षेत्रमा नेपालीहरू जाने गर्छन्। इरानमा भने अन्यत्रको तुलनामा नगन्य नेपालीहरू (करिब दुई दर्जन मात्र) रहेको अधिकारीहरू बताउँछन्।
“इजरायलकै हकमा जीटुजी सम्झौता अन्तर्गत जाने भएकाले श्रमिकहरूको बसोबास र कामको अवस्था व्यवस्थित भए पनि ती आसपासका देशमा अवैध बाटोबाट गएर अनौपचारिक रूपमै काम गर्नेहरू उत्तिकै धेरै हुँदा उनीहरू मर्कामा पर्न सक्ने जोखिम छ”, श्रमविज्ञ मीना पौडेल भन्नुहुन्छ।
“इरान र इजरायल द्वन्द्वमा संलग्न हुने बित्तिकै उनीहरूसँग स्थल, जल र हवाई बाटोबाट जोडिने पूरै खाडी नै प्रभावित हुन्छन्। राजनीतिक रूपमा नेपालीहरूलाई मार नपरे पनि भौतिक र मनोवैज्ञानिक रूपमा ठूलो असर पर्न थाल्छ।”
खाडीमा नेपालीहरूको वास्तविक सङ्ख्या प्रस्ट नभए तापनि खाडी क्षेत्रका छ देशहरू ( युएई, साउदी अरब, कतार, ओमान, कुवेत, बहराइन) मा नेपालीहरू सबैभन्दा धेरै रहेको बताइन्छ।
नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२२ का अनुसार ती मुख्य छ खाडी देश र मलेसियामा कुल नेपाली श्रमिकमध्ये ८५ प्रतिशत पुग्छन्। जसमध्ये इरानसँग पर्सिअन खाडीमार्फत जोडिने साउदी अरब, कतार र यूएईमा लाखौँका सख्यामा नेपालीहरू छन्।
त्यसबाहेक यस द्वन्द्वमा जोडिएका इराक, लेबननमा समेत हजारौँको सङ्ख्यामा नेपाली श्रमिकहरू छन्।
पर्यटन, वैदेशिक सहायता र महङ्गी
खाडी क्षेत्र अस्थिर हुँदा त्यहीँकै पर्यटन र नेपालको पर्यटनमा नकारात्मक असर देखिने अर्थविद् नरबहादुर थापा औँल्याउनुहुन्छ।
कुनै समय निर्माण क्षेत्रमा धेरै नेपाली श्रमिकहरू जाने खाडीमा पछिल्लो समय त्यहाँको पर्यटन क्षेत्रमा नेपालीहरूको संलग्नता बढ्न थालेको छ। द्वन्द्वले व्यापक रूप लिने अवस्था आए त्यस्ता सेवामुलक क्षेत्रबाटै रोजगारीमा गुम्न थाल्ने जोखिम बढ्ने थापा बताउनुहुन्छ।
श्रमविज्ञ मीना पौडेल ‘अहिले नै धेरै उडानहरू रद्द, री-रुट हुन थालेको अवस्थामा’ तनाव लम्बिँदै गए त्यसको असर अकल्पनीय हुने र नेपालकै पर्यटन जगतमा प्रत्यक्ष प्रभाव देखा पर्ने ठान्नुहुन्छ ।
उहाँको भनाइ छ: “इरान र इजरेल भिड्नेबित्तिकै मनोवैज्ञानिक त्रास र वास्तविकता दुवैको असर पूरै मध्यपूर्व र नेपालसम्मै देखिन्छ।
अवस्था धेरै नचर्कन पनि सक्छ
तर अर्थविद् नरबहादुर थापा ‘अहिले नै खाडी क्षेत्रभर द्वन्द्वको असर व्यापक भइहाल्छ भनेर सोच्न हतार हुने’ बताउनुहुन्छ।
“इजरायल र हमासबीच युद्ध जारी रहँदा त्यहाँ केअर गिभर र विद्यार्थीका रूपमा कमाउँदै पढ्नेहरू जाने क्रममा सुस्तता आयो। तर अन्य खाडी देशमा नेपालीहरू दिनदिनै हजारौँ सङ्ख्यामा गइरहेकै छन्”, उहाँ भन्नुहुन्छ।
“हाल धेरै खाडी मुलुकहरू अमेरिकी प्रभावमा छन्। उनीहरू द्वन्द्व भन्दा समृद्धिमा बढ्ता केन्द्रित हुन थालेका देखिन्छन्। खासगरी साउदी अरब, यूएई, कतारजस्ता देशहरू आफ्ना आर्थिक गतिविधिमा युद्धको असर नपरोस् भनेर चनाखो भइरहेको देखिएकाले यसले धेरै व्यापक स्वरूप लेला भन्ने लाग्दैन।”
गैरआवासीय नेपाली सङ्घ, इजरायलका पूर्वअध्यक्ष समेत रहेका गणेश गिरीले पछिल्ला वर्षमा मध्यपूर्वका ूधेरै इस्लामिक देशहरू समेत इजरायल भन्दैमा भिडिहाल्ने अवस्था नदेखिएकालेू त्यसले व्यापक रूप लिइहाल्ला भन्ने ठान्नुहुन्न।
“तर पनि हमला भइसक्दा मन स्थिर हुन सक्दैन र पूर्वसावधानीका रूपमा घरभित्रै बस्नुपर्ने अवस्था रहन्छ”, उहाँ भन्नुहुन्छ।
श्रमविज्ञ मीना पौडेल चाहिँ परमाणु केन्द्रहरूमा हमला भएको यस पटकको परिस्थिति भिन्न भएकाले खाडीमा सबैतिर उच्च ‘मनोवैज्ञानिक त्रास’ रहेको ठान्नुहुन्छ।
“त्यसले श्रमिकहरूको काम गर्ने क्षमता कमजोर बन्ने त्रास हुन्छ। सामान्यतः त्यस्तोमा मनोपरामर्शको सुविधा उनीहरूसँग छैन”, पौडेल भन्नुहुन्छ,”त्यसमाथि हाम्रा दूतावासको सहायता दिन सक्ने संयन्त्र छैन।”


















