Prakash Adhikari June 22, 2025

अशोक दाहाल। बीबीसी न्यूज नेपाली

काठमाडौं, ८ आषाढ । नेपाल विद्युत् प्राधिकरणले भारत र बाङ्ग्लादेशलाई बिजुली बेचेर एकै दिन १० करोड रुपैयाँसम्म आम्दानी गरिरहेको पाइएको छ।

विद्युत् प्राधिकरणले बिहीवार २४ घण्टामा भारत र बाङ्ग्लादेशलाई गरेर १६ हजार १ सय ६० मेगावाट आवर बिजुली निर्यात गरेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिनुभयो। प्राधिकरणले बाङ्ग्लादेशलाई ६.४ अमेरिकी सेन्टमा ४० मेगावाट विद्युत् बिक्री गर्दै आएको छ।

भारतलाई बिक्री गरिने विद्युत्‌को भने माग र आपूर्तिका आधारमा मूल्य तय हुने गरेको छ।

“बिहीवार १६ हजार १ सय ५० मेगावाट आवर विद्युत् निर्यात भएको रहेछ। त्यसको औसत मूल्य नेपाली ६ रुपैयाँ ६२ पैसा रह्यो। त्यस हिसाबले त्यस दिन मात्रै १० करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात भएको हाम्रो प्रणालीमा देखिन्छ”, प्राधिकरणका प्रवक्ता ढकालले भन्नुभयो, “बिक्री हुने विद्युत्‌को परिमाण र मूल्य दुवै तलमाथि भइरहने भएका कारण हरेक दिन यति नै परिमाण र मूल्यको निर्यात हुन्छ भन्ने निश्चित हुँदैन।”

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट माग र आपूर्तिको प्रत्यक्ष निगरानी गरेर नेपाललाई बढी भएको विद्युत् बिक्री गर्ने गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार गत वर्ष असार २८ गते नेपालले एकै दिन सबैभन्दा ठूलो परिमाणमा विद्युत् निर्यात गरेको थियो। प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार असार २८ गते निर्यात भएको बिजुली १७ हजार ९ सय २० मेगावाट आवर थियो।

दैनिक ६०० मेगावाटसम्म बिजुली निर्यात क्षमता

गत वर्ष भएको सम्झौताअनुसार यो असार १ गतेबाट विद्युत् प्राधिकरणले बाङ्ग्लादेशमा पनि नियमित विद्युत् निर्यात सुरु गरेको छ। नेपालले नोभेम्बरको अन्त्यसम्म बाङ्ग्लादेशलाई भारतको प्रसारण लाइन प्रयोग गरेर बिजुली बिक्री गर्छ।

वर्षायाम सुरु भएपछिका छ महिना विद्युत् निर्यात गर्ने लक्ष्य राखेको प्राधिकरणले हिउँदमा भने भारतसँग बिजुली किन्ने गरेको छ।

अहिले पनि द्विपक्षीय सन्धि अनुसार टनकपुरबाट नेपाललाई प्राप्त हुने बिजुली भारतबाट आयात भइरहेको प्राधिकरणका प्रवक्ता ढकालले जानकारी दिनुभयो। “त्यस बाहेक थप बिजुली किन्नुपर्ने अवस्था अहिले हामीलाई छैन”, उहाँले भन्नुभयो ।

प्राधिकरणका अनुसार अहिले नेपालमा प्रयोग भएर बढी भएको करिब दैनिक ६०० मेगावाटसम्म बिजुली निर्यात गर्न सक्ने क्षमता छ।

“राति १ बजेको आसपास ६५० मेगावाटसम्म पुग्छ। हाम्रोमा पीक आवरमा अलि कम निर्यात हुन्छ”, प्रवक्ता ढकाल भन्नुहुन्छ।

नेपाल–भारतबीच १,५०० मेगावाट विद्युत् प्रसारण हुन सक्ने द्विदेशीय लाइनहरू उपलब्ध छन्।

तर चालु वर्षका निम्ति भारतले नेपाललाई निर्यातका निम्ति दिएको अनुमति भने ९ सय ४० मेगावाटको मात्रै छ।

प्राधिकरणको पछिल्लो त्रैमासिक प्रतिवेदनअनुसार अहिले नेपालमा कुल ३ हजार ५ सय १२ मेगावाट विद्युत् उत्पादन भएको छ। थप ८ हजार ४ सय ६७ मेगावाट जडित क्षमताका २ सय ८० विद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।

२३ अर्ब रुपैयाँको बिजुली बेच्ने लक्ष्य

नेपालले यो आर्थिक वर्ष २० अर्ब रुपैयाँको बिजुली बिक्री गर्ने लक्ष्य लिएको भए पनि गत असोजको बाढीका कारण नेपालकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासहित कैयौँ आयोजनामा क्षति पुगेपछि उक्त लक्ष्य पूरा नहुने देखिएको अधिकारीहरूले बताएका छन्।

प्राधिकरणका प्रवक्ता ढकाल यो वर्ष करिब १८ देखि १९ अर्ब रुपैयाँको विद्युत् बिक्री हुने सम्भावना रहेको बताउनुहुन्छ।

“अर्को वर्षबाट हामी २३ अर्ब रुपैयाँसम्म बिक्री गर्न सक्छौँ जस्तो लाग्छ”, ढकाल भन्नुहुन्छ।

दुई वर्षअघि नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसमा आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने प्रतिबद्धता जनाएको छ।

नेपालले पछिल्लो दशकमा विद्युत् बिक्रीका लागि उच्च क्षमताका प्रसारणलाइनको निर्माण र स्तरोन्नति गरिरहेको छ।

विद्युत् प्राधिकरणको एक प्रतिवेदनअनुसार सन् २०३५सम्म २० हजार मेगावाट विद्युत् निर्यात क्षमताको प्रसारण लाइन बनाउने लक्ष्य लिइएको छ।

अमेरिकी अनुदान सहयोग एमसीसी परियोजनाबाट पनि नेपालले अन्तर्देशीय प्रसारण लाइनमा काम गरिरहेको छ।

बढ्दो निर्यात

सन् २०२३ । २४ (आर्थिक वर्ष २०८।८१) मा नेपालले भारतमा १ हजार ९ सय ४६ गिगावाट आवर विद्युत् निर्यात गरेको थियो। त्यसको अघिल्लो वर्ष १ हजार ३ सय ४६ गिगावाट आवर मात्रै निर्यात गरेको प्राधिकरणले पछिल्लो वर्ष ४४ प्रतिशतले निर्यात बढाएको थियो।

नेपालले त्यस वर्ष १ हजार८ सय ९५ गिगावाट आवर विद्युत् आयात गरेको र आयात भन्दा ५१ गिगावाट आवर बढी विद्युत् निर्यात गरेको प्राधिकरणले आफ्नो पछिल्लो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

त्यस वर्ष नेपालले १७ अर्ब ६ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो।

नेपालले भारतमा बिहार र हरियाणा क्षेत्रमा विद्युत् बिक्री गर्दै आएको छ।

प्राधिकरणले हरियाणा डिस्कम र बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग विद्युत् बिक्रीको सम्झौता गरेको छ। दैनिक रूपमा अघिल्लो दिनको मागअनुसार मूल्य फरक हुने गरे पनि भारतलाई बिक्री गरिने विद्युत्‌को औसत मूल्य ५.२५ देखि ५.४५ भारतीय रुपैयाँ प्रतियूनिट छ।

प्राधिकरणले पछिल्ला वर्षहरूमा नेपालले निर्यात गर्ने विद्युत्‌को परिणाम बढ्दो क्रममा रहेको जनाएको छ।

निरन्तर नाफामा

नेपाल विद्युत् प्राधिकरणले गत वर्षको आफ्नो वार्षिक प्रतिवेदनमा पछिल्ला आठ वर्षदेखि निरन्तर नाफामा रहेको जनाएको थियो। प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले यसको श्रेय दाबी गर्दै आउनुभएको छ।

“चुस्त सञ्चालन र व्यवस्थापन, प्रणालीगत चुहावटको कमी र बढी भएको ऊर्जा निर्यातका कारण नाफा आर्जन भएको हो”, प्राधिकरणको प्रतिवेदनमा भनिएको हो।

प्राधिकरणको आर्थिक वर्ष २०८० । ८१ माको एक तथ्याङ्कअनुसार नेपालमा आन्तरिक खपत १० हजार २ सय ४३ गिगावाट आवर रहेको छ। नेपालमा करिब ९९ प्रतिशत विद्युतीकरण भएको प्राधिकरणले दाबी गर्दै आएको छ।

गएको चैत्रसम्म प्राधिकरणले ६० लाख ९५ हजार ८ सय ४१ ग्राहकहरूलाई विद्युत् सेवा प्रवाह गर्दै आइरहेको छ। त्यसै गरी साउनदेखि चैत्रसम्म प्राधिकरणले ८ अर्ब ७ करोड ३५ लाख १८ हजार यूनिट विद्युत् विक्री गरेर ७६ अर्ब ०६ करोड २९ लाख ७३ हजार रुपैयाँ महसुल सङ्कलन गरेको छ।

Share Now