Prakash Adhikari July 30, 2025

हेटौंडा(मकवानपुर),१४ साउन । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

बुधबार हेटौंडामा भएको निर्वाचनमा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उहाँका प्रतिस्पर्धी बहादुरसिंह लामाले १४ मत प्राप्त गर्नुभएको छ। एक मत भने बदर भएको छ ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत अर्थात् २२ मत हासिल गरेकोले बानियाँ दलको नेता चुनिनुभएको हो ।

यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्ताव संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो ।

रिक्त संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन गरिएको हो ।

संसदीय दलको नेतामा बानियाँ र लामा यही कार्यकालमा दोस्रो पटक आपसमा भिडेका हुन् ।

२०७९ मा बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित हुनुभएको थियो।

संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुनुहुन्छ ।

संसदीय दलको नेतामा पराजित भएपनि बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट भने तत्काल राजिनामा नदिने बताउनुभएको छ । उहाँले संसदीय दलको नेता नभएपनि मुख्यमन्त्री बन्न संविधानले नरोकेकोले आगामी कदम संविधान अनुरुप नै हुने तर्क गर्दै आउनुभएको छ ।

 

Share Now