काठमाडौं, १५ साउन । शेयर बजारमा अल्पकालीन नाफाखोर लगानीकर्ता हावी हुँदा बिहिबार शेयर बजार ओरालो लागेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेर बन्द भएको शेयर बजार यस दिन बढ्ने आशा थियो । तर नेप्सेल यस दिन पनि गिरावटलाई नै निरन्तरता दियो।
बिहीबार नेप्से परिसूचक ३१.५० अंक घटेर २९२२.६३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार १६ अर्ब ४४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय १८ स्टकको ३ करोड ६८ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्रीबाट १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन दुई कम्प्नीको शेयरमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ट्रेड टावर र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ७.१० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम ६९ करोड रुपैयाँ नाघेको छ।
यस दिन वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक १.१८ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


















