Prakash Adhikari August 1, 2025

 

काठमाडौं, १६ साउन । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आय–व्यय विवरण सार्वजनिक गरेको छ।

मूलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको सार्वजनिक गरेको हो।

बैठकमा पेश गरेपछि सार्वजनिक गरिएको विवरण अनुसार प्रतियोगिता आयोजनामा २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ कुल खर्च भएको छ।

आय–व्ययपछि कुल ७ करोड ५३ लाख ९१ हजार २ सय ५९ रुपैयाँ नाफा देखिएको छ। कूल नाफाको ५० प्रतिशत रकम फ्रेञ्चाइज टोलीलाई दिने लिग आयोजना गर्दाको प्रतिबद्धता अनुरुप क्यानले र त्यसमा लाग्ने करसहित ८ फ्रेञ्चाइज टोलीहरूलाई ४ करोड ३७ लाख ४० हजार ४सय ७० रुपैयाँ वितरण गरेको छ ।(तर प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइज टोलीलाई टिकट र कमर्सियल राईटबाट उठेको रकमबाट १५ प्रतिशत कर काटेर उठेको रकमको ५० प्रतिशत प्रदान गरिएको बताउनुभएको छ।) यसको ब्रेक डाउन भने सार्वजनिक गरिएको विवरणमा देखिदैन ।

क्यानले प्रदेशस्तरका खेल आयोजना र खेलाडी उत्पादनमा प्रत्येक प्रदेश संघलाई १० लाख प्रदान गरिने प्रतिबद्धता अनुरुप ७ प्रदेशलाई रु १० लाखको दरले कुल ७० लाख प्रदान गरेको छ।

प्रवक्ता लामाका अनुसार फ्रेञ्चाइज र प्रदेश संघलाई बाँडफाँडपछि क्यानको कोषमा २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रुपैयाँ नाफा बचतको रुपमा रहेको छ।

एनपीएलको आम्दानी र खर्चको विषय क्रिकेटप्रेमीहरुको बीचमा चासोको विषय बनेको थियो। क्यानभित्र पनि आयव्ययको बारेमा प्रश्न उठेको थियो। दोस्रो संस्करणको एनपीएल आयोजनाको तयारी चलिरहदा क्यानको आज बसेको बैठकले पहिलो संस्करणको एनपीएलको हिसाब सार्वजनिक गरेको हो।

आयब्यय सार्वजनिक गर्न बिलम्ब हुँदा युवा तथा खेलकुद मन्त्रालयले पनि यसमा छानबिन पनि गरिरहेको बताइएको छ।

 

Share Now