काठमाडौं, २३ साउन । नगर र गाँउहरुलाई स्मार्ट बनाउने सपना बाँडेर चुनाव जितेका जनप्रतिनिधिहरु स्मार्ट बनाउने उपाय नपाएर बिलखमन्दमा परेको बेला खानेपानीको क्षेत्रमा काम गर्ने इञ्जिनियरहरुले भने खानेपानी प्रणालीलाई स्मार्ट बनाउने कामको शुरुआत गर्ने भएका छन् ।
आफ्नो खानेपानी प्रणाली स्मार्ट बनाउने सौभाग्य पाउने पहिलो नगरपालिका बनेको छ, म्याग्दीको सदरमुकाम समेटेको बेनी नगरपालिका ।
बेनी नगरपालिकाको खानेपानी प्रणालीलाई मित्र राष्ट्र« कोरियाको कोरियन स्मार्ट वाटर ग्रिड कम्पनीको प्राविधिक सहयोग मिल्नेछ भने यस परियोजनाका लागि नगर विकास कोषले आर्थिक सहयोग गर्नेछ । सो सहयोग एशियाली बिकास बैंकले कोषलाई दिएको सहयोगमार्फत प्रवाहित गरिनेछ ।
कोरियाको स्मार्ट वाटर ग्रीडका प्रतिनिधिहरु म्याग्दीको बेनी नगरपालिकामा पुगेर त्यहाँको खानेपानी प्रणालीको प्रारम्भिक अध्ययन गरेर फर्किइसकेका छन् ।
एशियाली विकास बैंकको सहयोगमा नगर विकास कोषले देशभर ७० वटा साना शहर विकास आयोजना सञ्चालन गरेको छ । स्मार्ट खानेपानी आपूर्ति प्रणाली पनि त्यसै अन्तरगत पारिएको छ ।
साना शहरहरुको व्यवस्थित विकास अन्तरगत सञ्चालित यी आयोजना नेपाल सरकारले ६५ प्रतिशत, नगर विकास कोषले २५ प्रतिशत र स्थानीय उपभोक्ताहरुले ५ प्रतिशत लगानी साझेदारी गर्नुपर्ने ढाँचामा सञ्चालन भैरहेका छन् ।
खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था,सोसाईटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स (सोफेन)का अध्यक्ष ई. रामदीप साहका अनुसार नेपालमा हाल सञ्चालित खानेपानी आयोजनाहरु अधिक चुहावट र मर्मत संभारको अभाव जस्ता समस्याले गाँजिएका छन् । यी समस्या समाधानका लागि कोरियाको स्मार्ट वाटर ग्रिड प्रणाली निकै सहयोगी हुनेछ ।
सोफेनले कोरियाको स्मार्ट वाटर ग्रिड सोसाईटीसंगको संयुक्त आयोजनामा बुधबारदेखि राजधानीमा सञ्चालित खानेपानी, सरसफाई र स्वच्छता(वास)कार्यक्रमको दिगोपनाको लागि स्मार्ट खानेपानी प्रणाली व्यवस्थापन कार्यशाला सञ्चालन गरिरहेको छ ।
खानेपानी,सरसफाई र स्वच्छताको क्षेत्रमा कार्यरत सरकारी निकायका प्रमुख र प्रतिनिधिहरु, गैरसरकारी संस्था र स्थानीय निकायका प्रतिनिधिहरु, साना शहरी विकासका कार्यरत निकायका प्रतिनिधिहरु, एशियाली विकास बैंक र विभिन्न खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरु सहभागी भएको सो दुई दिवसीय कार्यशालामा कोरियाका खानेपानीको क्षेत्रका कार्यरत कोरियन स्मार्ट वाटर ग्रीडका तर्फबाट आएका प्राविधिकहरुले स्मार्ट खानेपानी प्रणालीको निर्माण र सञ्चालन प्रक्रियाका बारेमा प्रस्तुति दिएका छन् ।
खानेपानी प्रणालीको स्रोत अर्थात मुहान, मुहानको ट्यांकी, पानी प्रवाहको मूल पाईप प्रणाली,पानी संकलनको मुख्य ट्यांकी वा पोखरी,प्रशोधन प्रणाली, खानेपानीको वितरण प्रणाली र उपभोगसम्म सूचना र प्रविधिको प्रयोग गरी समग्र जानकारी लिने, उपयुक्त र अत्याधुनिक प्रविधिका सामानको प्रयोगले खानेपानीको दिगो र भरपर्दो सेवा उपलब्ध गराउने र बिग्रे भत्केमा तत्काल मर्मत संभार गरी भरपर्दाे र दिगो सेवा दिने उपयुक्त प्रविधि सहितको सुव्यवस्थापनलाई नै स्मार्ट खानेपानी प्रणाली मानिएको छ ।
कार्यशालाको उद्घाटन शत्रमा सोफेनका अध्यक्ष ई.रामदीप साह र सोसाईी अफ कोरियन स्मार्ट ग्रीडका अध्यक्ष प्रो. ग्वेवाड. चोईले स्वागत मन्तब्य दिनुभएको थियो ।
उद्घाटन शत्रमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साह, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक ई. तेजराज भट्ट, सोसाईटी अफ कोरियन स्मार्ट वाटर ग्रीडका अध्यक्ष ग्वेवाड. चोई,नगर विकास कोषका कार्यकारी निर्देशक मणिराम सिंह महत,सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी यादव, एशियाली विकास बैंकका शिव पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी निर्देशक मिनप्रसाद अर्याल, नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. हरेराम श्रेष्ठ र सोफेनका अध्यक्ष ई.रामदीप साहले स्माट खानेपानीको बारेमा सामूहिक छलफल(प्यानल डिस्कसन)मा सहभागी हुनुभएको थियो ।
सो कार्यक्रममा सहजीकरण एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष ई. डा. विन्दुनाथ लोहनीले गर्नुभएको थियो ।
कार्यक्रमको व्यवसायिक शत्रमा स्मार्ट बाटर ग्रीड र समग्र प्रणालीको सञ्चालनका विविध पक्षमा प्रस्तुति र सामूहिक छलफल भैरहेकोे छ ।





















