खलङ्गा, २ भदौः पहिराले दार्चुला–गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।
निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ । गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।
रिडी–तम्घास सडक अवरुद्ध
वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभएको छ । रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन । अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।


















