Prakash Adhikari August 16, 2018

काठमाडौं, ३१साउन(बीबीसी) । दक्षिण एशियामा लोकप्रिय लुडो खेलको एप, युरोपेलीहरूले मन पराएको जन्मदिनको भिडिओ बनाउने पिकोभिको र युरोप तथा अमेरिकामा समेत निक्कै प्रयोग हुने फोटोलाई पासपोर्ट वा अटो साइजमा रूपान्तरण गर्ने एप…।

यी सबै एउटा समानता छ – तिनको निर्माताहरू नेपाली युवा हुन्।

सूचना र प्रविधिमा पनि नेपाल विकसित मुलुकका तुलनामा निक्कै पछाडि छ।

तर कतिपय नेपाली युवाले भने दैनिक जीवनलाई नै सजिलो बनाउने र रोचक स्मार्टफोन एप बनाएर विकसित मुलुकका उपभोक्तालाई समेत आकर्षित गरिरहेका छन्।

लक्ष्य

त्यत्ति मात्र होइन, केही नेपाली सूचना प्रविधि उद्यमीहरूले त विकसित मुलुकका उपभोक्ताको रुचि र आवश्यकता विचार गरेर एपहरू विकास गर्न थालेका छन्।

Apps
जन्मदिनको भिडिओ बनाउने एप पिकोभिको पश्चिमी देशका प्रयोगकर्ताहरूमाझ लोकप्रिय भएको छ
युरोप तथा अमेरिकाका उपभोक्ताको आवश्यकतालाई पहिचान गरेर विकास गर्दा नेपालीले बनाएका एपहरू पनि लोकप्रिय भइरहेको पिकोभिकोका विकासकर्ता अमित अग्रवाल बताउँछन्।

उनी भन्छन्, “विकसित मुलुकमा दुइटा खालको एप चल्छ – कि त राम्रो गेमिङ एप हुनुपर्‍यो कि त उहाँहरूको समस्याको समाधान गर्ने एप हुनुपर्‍यो।”

विशेष गरी उपभोक्ताको दैनिक कामहरूलाई सजिलो बनाउने र विभिन्न खेलका एपहरूले युरोपेली तथा अमरिकी उपभोक्तालाई आकर्षित गरेको यस्ता एप बनाउनेहरू बताउँछन्।

उपलब्धिसूचना तथा प्रविधिसम्बन्धी सेवाहरू उत्पादन र बिक्रीमा यो वा त्यो देश भन्ने कुराले खासै असर नगर्ने भएपनि नेपालीले विकास गरेका एपलाई विकसित मुलुकका उपभोक्ताले मन पराउनुलाई भने उपलब्धिकै रूपमा लिनुपर्ने उनीहरूको तर्क छ।

नेपाली विकासकर्ताले बनाएका केही एपहरूले विश्वस्तरीय प्रतिस्पर्धामा सहभागी भई पुरस्कार पनि जितेका छन्।

माइक्रोसफ्टले यसै वर्ष आयोजना गरेको ‘माइक्रोसफ्ट इमाजिन कप-२०१८’ मा पनि नेपाली युवाको समूहले बनाएको एउटा एपले ‘आर्टिफिसियल इन्टलिजेन्स’तर्फको उपाधि जितेको छ।

सूचना प्रविधि
‘माइक्रोसफ्ट इमाजिन कप-२०१८’ मा ‘आर्टिफिसियल इन्टलिजेन्स’ तर्फ ई-एग्रोभेट नाम दिइएको एपले उपाधि जित्यो

सूचना तथा प्रविधि अध्ययनरत नेपाली विद्यार्थीहरू ईडा रिजाल, मिलन थापा र शिशिर श्रेष्ठको समूहले बनाएको ई-एग्रोभेट नामक स्मार्टफोन एपले उक्त उपाधी जितेको हो।

सफलता
विभिन्न मुलुकबाट अन्तिम चरणमा पुगेका ४९ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेको उक्त समूहकी ईडा रिजाल भन्छिन्, “प्रतियोगीतामा विश्वभरिकै ठूलाठूला विश्वविद्यालयका विद्यार्थीहरूलाई पछाडि पारेर हामीले उपाधि जित्न सफल भयौँ। यसले प्रविधि क्षेत्रमा नेपालीहरूले पनि जुनसुकै स्थानमा पनि प्रयोग हुनसक्ने सामग्री बनाउन सक्छन् भन्ने देखाएको छ।”

नेपाली युवाहरूले विकास गरेका कतिपय स्मार्टफोन एपहरू पैसा तिरेरै विकसित मुलुकका उपभोक्ताले प्रयोग गरिरहेकाले यसबाट समेत राम्रो आम्दानी हुनसक्ने देखिन्छ।

केही वर्षअघिसम्म आउटसोर्सिङ अर्थात् विभिन्न विदेशी कम्पनीबाट तिनका कामहरू ठेक्कामा लिई सेवा दिनेहरू अहिले आफै एप विकासमा लागेको उनीहरू बताउँछन्।

तर कानुनी झन्झट र सरकारी बेवास्ताले एप विकासकर्तामध्ये अझै पनि धेरैले यसैलाई व्यवसायका रूपमा अपनाउन नसकेको बताइन्छ।

लाभ
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैँजू भने सरकारले सूचना र प्रविधिसम्बन्धी सेवालाई तुलनात्मक लाभ र निर्यातमूलक सेवाका रूपमा राखेको बताउँछन्।

उनले भने, “अहिलेचाँहि थुप्रै आईटी विज्ञहरू आइसकेका छन् र यही नेपालमा नै बसेर काम गरिरहेका पनि छन्। यसमा अगाडि बढाउनु पर्छ भन्ने कुरामा सरकार गम्भीर नै छ।”

छिमेकी मुलुक भारत र चीनले सूचनाप्रविधि क्षेत्रका वस्तु र सेवा बिक्रीबाट ठूलो आम्दानी गर्ने गरेकाले नेपालले पनि एप विकास जस्ता कुराहरूमा ध्यान दिनुपर्ने यस क्षेत्रका विज्ञहरू बताउँछन्।

Share Now

Leave a comment.