Prakash Adhikari November 7, 2025

 

हंगकंग(चीन), २१ कार्तिक । चीनको हङकङमा आजदेखि हंगकंग सिक्सेस क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा नेपाली टोली पहिलो खेलमा शुक्रबार अफगानिस्तानसँग भिड्दै छ । खेल हंगकंगको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा बिहान पौने ९ बजेदेखि हुनेछ।

यस पटकको हङकङ सिक्सेसमा नेपालले वरिष्ठ खेलाडी नेपाल शरद भेषावकरको कप्तानीमा टिम पठाएको छ ।

प्रतियोगितापछि उनले सन्यास लिने इच्छा देखाएकोले क्यानले उनलाई सम्मानस्वरुप कप्तानको जिम्मेवारी दिएर यो अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाएको हो।

प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ, नेपाल पोल ‘ए’ मा दक्षिण अफ्रिका र अफगानिस्तानसँग छ। वरियताका हिसाबले दुवै टेष्ट राष्ट्र भएकोले नेपाल कठिन समूहमा परेको देखिन्छ । तर क्रिकेट भाग्य र धैर्यको खेल हो यसै भन्न सकिन्न ।

पोल ‘बी’मा अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र यूएई छन् भने पोल ‘सी’मा भारत, पाकिस्तान र कुवेत तथा पोल ‘डी’मा श्रीलंका, बंगलादेश र हङकङ सामेल छन् ।

यस प्रतियोगिताको हरेक खेल ६-६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् । एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले २ ओभर बलिङ गर्न पाउँछन्।

सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् २०२४ मा आयोजना भएको थियो । सो प्रतियोगितमा श्रीलंकाले उपाधि जितेको थियो ।

गत संस्करणमा पहिलोपटक सहभागिता जनाएको नेपाल क्‍वाटरफाइनलसम्म पुगेर श्रीलंकासँग पराजित भएको थियो ।

शरद भेषावकरको कप्तानीमा रहेको नेपाली टोलीमा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान रहेका छन् ।

Share Now