काठमाडौं, १ मंसिर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई लगानीकर्ता भड्कने स्थिति आउन नदिन आग्रह गर्नुभएको छ।
राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो कुरा बताउनुभएको हो ।
उहाँले सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारित गरेको स्मरण गराउँदै सोही माग उठाउने असली जेनजीको आन्दोलनमा घुसपैठ गर्नेहरुले देशमा विध्वंस मच्चाएको बताउनु भयो । उहाँले सार्वजनिक र निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गरी हानिनोक्सानी गर्नेमाथि सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने बताउनुभयो।
सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने उहाँको भनाइ थियो ।
“जेनजीको यो आन्दोलन एउटा असल नियतबाट भएको थियो । सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारितै गरेको अवस्था थियो। यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसावबाट गलत घुसपैठ भयो । चोरी, आगजनी, लुटपाट, तोडफोडहरु भयो । वास्तवमा यसको यो गलत तत्वहरुको जुन घुसपैठ भएको छ । गलत गर्ने, घुसपेठ गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । तब मात्र आम निजी क्षेत्रको मनोबल उच्च हुनेछ”,’उहाँले भन्नुभयो, “आन्दोलनको सही उद्देश्य र जुन एउटा आन्दोलन जुन हिसावले भएको थियो त्यसमा गलत तत्वको जुन प्रवेश गरेर जुन व्यक्तिगत तहमा उत्रेर उद्योग व्यवसायहरु, व्यक्तिगत सम्पत्ति, घर लगायत क्षति भयो । यो गलत छ । सरकारले सुरक्षा दिन नसक्ने हो भने वास्तवमा आउने दिनमा आउने दिनमा यस्ता किसिमका घुसपेठहरु हुनेछन् । व्यक्ति, व्यवसायीको कन्फिडेन्स लुज हुनेछ । वास्तवमा यो आन्दोलनको बेलामा गलत घुसपेठको कारणबाट भएको तोडफोड आगजनी र नोक्सानी भयो र व्यवसायीहरुलाई जुन एउटा सहुलियत दिनको लागि अर्थमन्त्रालयले छोटो समयमा काम गरेको छ, यो प्रभावकारी छ ।”
अध्यक्ष ढकालले अर्थमन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरुबाट अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा प्रशंसा समेत गर्नुभयो ।
ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थ्रुपेको भन्दै लगानीको वातावरण तयार गर्न माग गर्नुभयो । अहिले बैंकमा प्रशस्त रकम भएको अवस्थामा कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे रहेको र उनीहरुको लागत बढेको उहाँको भनाइ छ ।
धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरुलाई आईपीओ जारी गर्न नदिएकोप्रति उहाँले असन्तुष्टी जनाउनुभयो । धितोपत्र बोर्डमा देखिएको समस्यालाई तत्काल हटाउन समेत उहाँले अर्थमन्त्रीलाई आग्रह गर्नुभयो।


















