काठमाडौं, १ मंसिर । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०८२ साल कार्तिक ३० गते आफ्नो ८८ औं वर्ष पुरा गरी ८९ औं वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गर्नुभएको थियो ।
नेपालभर २ सय ३१ शाखा, २ सय ३७ एटिएम साथै ६१ वटा एक्टेन्सन काउन्टरको सञ्जालमार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिंङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । करिव १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत् बैंकिंङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैंकको वार्षिकोत्सव कार्यक्रममा २५ बर्ष अटुट सेवा गर्ने तीन जना, २० बर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरुलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरि सुरक्षास्थितिको प्रतिकूल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गौरादह शाखा र नयाँ वानेश्वर शाखाका सुरक्षकर्मीहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रुपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्राडा.शर्माले बैंकमा कर्मचारी वर्गलाई आगामी दिनमा अझ सशक्त रुपमा अघि बढ्न आग्रह गर्नुभयो ।उहाँले सबैले आ–आफ्ना अधिकार क्षेत्रभित्र रहेर उच्च मनोवल तथा इमान्दारीकासाथ कार्यक्षेत्रमा लाग्न प्रेरित गर्नुभयो । उहाँले बैंक व्यवस्थापनलाई सञ्चालक समितिको सदैव साथ रहने विश्वास समेत दिलाउनुभयो ।


















