भीमदत्तनगर(कञ्चनपुर), ७ भदौ । भीमदत्तनगरपालीका २ खोल्टीकी १३ बर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शकारीमाथि गोली चलेको छ ।
गोलीबाट प्रदर्शनकारी तर्फ ८ जना घाइते भएका छन भने प्रदर्शनकारीको प्रहारबाट २ जना सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरुले घाइतेको टाउको र खुट्टामा गोली लागेको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडी दर्जनौँ राउण्ड गोली चलाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले प्रदर्शनकारी उग्र बनेपछि अश्रुग्याँस मात्रै हानिएको दाबी गरेका छन्। भीमदत्तनगर बजार, भाँसि, सुडा, लालपुर, सिसैया, दैजी र चम्फापुर लगायत क्षेत्रमा प्रदर्शनकारीहरूले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
भीमदत्तनगर र बेदकोट नगरपालीका क्षेत्रका विद्यालय र बजार बन्द गराएका छन्। स्वतःस्फर्त रुपमा ठूलो संख्यामा विद्यालयका विद्यार्थी समेत सडकमा उत्रिएका छन्। जिल्ला सदरमुकाम भीमदत्तनगरबाट सञ्चालन हुने यातायात सेवा समेत पूर्ण रुपमा ठप्प रहेको छ।
अपृय घटना हुन नदिन ठाउँ ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बेदकोट नगरपालीका, भीमदत्तनगरपालीका र जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनकारीहरू चर्को नारा बाजी गरिरहेका छन्।
पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै चार दिनदेखि प्रदर्शन हुँदै आएको छ। प्रदर्शन आज कञ्चनपुरका अन्य क्षेत्रमा समेत शुरु भएको छ।
गत साउन १० गते साथिको घर बाट फर्किने क्रममा हराएकी निर्मलाको शव हत्या गरि मिल्काएको अवस्थामा उखुबारीमा फेला परेको थियो।


















